सोल्टिनी लिएर आए सुसन साम्सोहाङ

-- / प्रकाशित मिति : आइतवार, साउन १६, २०७३

Soltini Bimochan (1)

काठमाडौं— लिम्बु भाषा गीतहरुका लोकप्रिय गायक सुसन साम्सोहाङ लिम्बुले गाएका नेपाली लोक–आधुनिक गीतहरुको एल्बम ‘सोल्टिनी’ लाई गायक राजेशपायल राईसहितको व्यक्तित्वले काठमाडौंमा विमोचन गरेका छन् । मण्डला थिएटरमा आयोजित एक सांगीतिक समारोहमा संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईसहितको समुहले यो एल्बम विमोचन गरेको हो ।
१४ वर्षअघि नै धरानमा संगीतकर्मी ओमप्रकाश राईसंग संगीतको औपचारिक प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा उदाएका गायक सुसन साम्सोहाङले ‘सोल्टिनी’ एल्बममा पाँच वटा गीत समावेश गरेका छन् । संगीतकर्मीहरु गुरुदेव कामत, कैलाश राई तथा चण्डीप्रसाद काफ्लेका यी चेला लिम्बु भाषाका गीतहरुका लोकप्रिय गायक समेत हुन् ।
Soltini Bimochan (4)
तीन वर्षअघि ‘सुसन’ शीर्षकको एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरेका सुसनले ‘सोल्टिनी’ एल्बमका गीतहरुमा हरी लम्साल, उत्तमराज लिम्बु, खेमराज गुरुङ, विक्रम थापा तथा आफ्नै संगीतका गीत गाएका छन् । नरेश भट्टराई, उत्तमजंग थापा, खेमराज गुरुङ, सन्तोष मादेन तथा रमेश अधिकारीले एल्बमका गीतहरु रचना गरेका हुन् ।
ताप्लेजुङका यी गायकको एल्बम विमोचन समारोहमा उपस्थित उनकै गाउँले व्यंग्यकार मनोज गजुरेल तथा नेता योगेश भट्टराईले एल्बमका गीतहरुको सफलताको शुभकामना दिए । समारोहमा गायक सत्यराज आचार्यले एल्बमका गीतहरुको समिक्षा गर्दै पूर्वेली भाकाका गीतहरुको एल्बमले स्रोताको मन जित्ने दावी गरे । प्रमुख अतिथिको रुपमा गायक राजेशयाल राईले पनि गायक सुसनको गायनको प्रसंसा गर्दै थप मेहनत गर्ने सुझाव दिए ।
समारोहमा एल्बमको शीर्षक गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो प्रिमियर गरियो । यूगल पोमुद्वारा निर्देशित उक्त भिडियोमा पार्वती राई तथा धर्मेन्द्र आचार्यले अभिनय गरेका छन् ।
एल्बममा ‘सोल्टिनी’, ‘गाँसौंला आज…’, ‘यो मीठो’, ‘बैंशको बेलामा’ तथा ‘हिमाल राम्रो’ शीर्षकका गीत समावेश छन् । ‘हिमाल राम्रो’ यूगल गीत हो, जसमा गायक सुसनलाई गायिका झुमा लिम्बुले साथ दिएकी छिन् ।
रुबुशा क्रिएसन वक्र्सले यो एल्बमको बजार व्यवस्थापन गर्नेछ ।

यस्तो ‘सोल्टिनी…’ गीतको म्युजिक भिडियो ।

https://youtu.be/WZLpuD-ibEA