‘हजार सपना’ मार्फत १९७४ एडीको पुनरागमन

-- / प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३

IMG_1727

काठमाडौं— सांगीतिक समुह ‘१९७४ एडी’ ले करिव छ वर्षपछि आफ्नो नयाँ एल्बम स्रोतामाझ ल्याएको छ । ‘हजार सपना’ शीर्षकको यो एल्बमलाई ब्याण्डले शुक्रवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत विमोचन गरेको हो । एल्बम सार्वजनिक गर्ने क्रममा ब्याण्डले केही नयाँ संगीतकर्मीहरु थपेको जानकारीसहित उनीहरुको परिचय समेत गरायो । थपिएका संगीतकर्मीमा गायक तथा संगीतकार रोहित जोन क्षेत्री स्रोतामाझ स्थापित भैसकेका छन् । ।
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बोकेको यो समुहले एल्बमका गीतमा पनि संगीतको नौलो स्वाद पस्केको छ । एल्बममा आठ वटा गीत समावेश छन् । विमोचन समारोहलाई सम्बोधन गर्दै समुहका पुराना सदस्य निराकर थाक्थुम्बाले नयाँ किसिमका संगीतसहित स्रोतामाझ पस्कनु ब्याण्डका लागि चुनौती भए पनि ब्याण्डका नयाँ तथा पुराना सदस्यको मेहनतले यो एउटा कर्णप्रिय गीतहरुको एल्बम बनेको बताए । समुहका अर्का पुराना सदस्य मनोजकुमार केसीले महिनौंको मेहनतपछि यो एल्बम तयार पारिएकाले स्रोताले यसका गीतबाट प्रसस्त मनोरञ्जन पाउने दावी गरे ।
भदौको पहिलो साता ‘सुनौलो सपना’ का गीतहरुको प्रमोसन कन्सर्टका लागि अमेरिका जाने तयारीमा रहेको यो ब्याण्डले एल्बमका सबै गीतहरुलाई आज शुक्रवारदेखि नै अनलाईनमा समेत सार्वजनिक गरेको छ । समुहको वेबसाइट www.1974ad.com.np मार्फत ती गीतहरु निशुल्क सुन्न पाइन्छ ।
समुहमा अहिले निराकर याक्थुम्बा (बास गिटार), सञ्जय श्रेष्ठ (ड्र्म्स/पर्कुसन), मनोज कुमार केसी (गिटार/ब्याक भोकल), प्रज्वल मुखिया (भोकल/किबोर्ड), रोहित जोन क्षेत्री (भोकल/गिटार), प्याट्रिक बानियाँ (ट्रम्बोन) तथा ज्याको वाको (ट्रम्पेट) सक्रिय छन् ।