वकालातमा नेपाली

-- नारायण खडका / प्रकाशित मिति : शनिबार, साउन २२, २०७३

lawसिड्नीका खिलेन्द्रराज तिम्सिनाले केही समयअघि मात्र वकालातको अध्ययन पूरा गरे । विद्यार्थी भिषामा करिब १० बर्षअघि अष्ट्रेलिया आएका उनले अन्य बिषयमा अध्ययन र काम गर्दागदै पनि उनले वकालात अध्ययन गर्ने निर्णय गरे । यसअघि अन्य बिभिन्न बिषयहरू अध्ययन गरेका र कामहरू गरेका उनलाई वकालात गर्ने उत्साह र जाँगरले अहिले पछिल्लो नेपाली वकिल बन्न सघायो ।

तिम्सिना पछिल्लो समयमा वकालातको अधिकार पाउने नेपाली हुन् जुन संख्या भविष्यमा बढ्ने पक्का छ । उनीसँगै यहाँ वकालात पाउने करिब १ दर्जन नेपालीहरू छन् । यहाँ वकालातको अधिकार पाउने नेपालीहरूको संख्या करिब १ दर्जन रहेको भएपनि सबैको बारेमा यहाँको नेपाली समुदायलाई जानकारी नभएको हुनसक्छ । यहाँका सिनियर वकिलहरू सिड्नीमा रहेका डा.शमसेरसिंह थापा, ब्रिसबेनमा रहेकी बुनु गौतम, सिड्नीकै भरत पोखरेल, कुशल भट्टराई, मेलबर्नका टोनु घोताने, सिड्नीका सुमन भेटवाल, दीलिप राई लगायतका नेपालीहरूले वकालातको अधिकार लिइसकेका छन् । अवश्यै यस बाहेक पनि अन्य नेपालीहरू अष्ट्रेलियाको वकालात लिइसकेका र लिइरहेका छन् । तर सबैको जानकारी पाउन र संकलन गर्न नसकिएको हो ।

धेरै लामो इतिहास नभएपनि नेपालीहरूले अष्ट्रेलियाका सबै क्षेत्रहरूमा राम्रो उपस्थिती जनाइरहेका छन् । विद्यावारिधी गरेर पहिलो नेपाली बनेका समसेरसिंह थापालाई यहाँ राम्रो वकिल भनेर मात्र चिनिन्दैन कि उनी समाजसेवीका रुपमा समेत परिचित छन् । अर्काेतिर ब्रिसबेनमा रहेर वकालात गरिरहेकी गौतम महिला अधिकारका साथै नेपाली समुदायमा समाजसेवीका रुपमा समेत परिचित छन् । नेपाली वकालत क्षेत्रमा प्रवेश गरेपछि यहाँका नेपालीहरूले केही मात्रामा भएपनि सहज सेवा त पाएका छन नै त्योसँगै अन्य विविध क्षेत्रमा समेत आवश्यक भएमा सहयोगहरू पाइरहेका छन् ।

अष्ट्रेलियामा वकिल बन्नु सहज भने अवश्यै छैन् । जानकारहरूका अनुसार कम्तिमा ब्याचलर अफ ल गरिसकेपछि ग्रयाजुएट डिप्लोमा इन लिगल प्रयाक्टिस सम्पन्न गरेपछि उनीहरूले वकिलको मान्यता पाउँछन् । यद्यपि उनीहरूले गरेको वकालातको लाइसेन्स ‘स्ट्रिक्ट’ अथवा सीमित हुन्छ । उनीहरूले सीमित लाइसेन्स पाउनका लागि समेत आइएलटिएसमा सात ब्याण्ड ल्याउन आवश्यक छ । वकालातमा विद्यावारिधी गरेका डा. थापाका अनुसार पूरा अधिकार सहितको वकालातको अधिकार पाउन उनीहरूले वकालातको पूर्ण अधिकार पाएको वकिलसँग दुई बर्ष काम गर्नैपर्छ । त्यसैले पनि हुनसक्छ अहिले जती नेपाली वकिलहरू छन् सबैले अहिले पूर्ण अधिकार नपाइसकेको अवस्था छ । जुन पाउन उनीहरू काम गरिरहेका छन् ।

वकालातमा नेपाली युवाहरूको प्रवेशले एउटा सुखद सन्देश सञ्चार गरेको त छ नै यसले व्यवहारमा पनि सहजता सृजना गर्ने उनीहरू दाबी गर्छन् । उनीहरूले गरेको दाबी सही होस वा गलत तरपनि के अवश्य हो भने कानुनी समस्यामा परेका नेपालीहरूलाई भाषागत सहजता भने अवश्य छ । अर्काेतिर आर्थिक रुपमा समेत नेपालीहरूलाई सहजता हुनेमा कुनै शंका छैन् । यद्यपि यो कुरा ब्यक्तिगत निर्णयमा भरपर्छ । उनीहरूका अनुसार नेपाली वकिलहरूको उपस्थितीले ‘एक्सेस अफ जस्टिस’ हुन्छ जसले अष्ट्रेलियाको कानुनी प्रक्रियामा पहुँचमा सहजता ल्याउन मद्दत गर्छ ।

हामीले केही नेपाली वकिलहरूसँग कुराकानी गरेर नेपाली वकिलहरू र यसको बस्तुस्थितीका बारेमा छलफल गरेका छौं । नेपालीहरू पनि अष्ट्रेलियाको वकालती क्षेत्रमा प्रवेश गरेपछि यसले यहाँको समुदायमा दिनसक्ने योगदान लगायतका बारेमा छलफल गरेका हौं । यसका साथै नेपालीहरूले कहिलेकाही शंका ब्यक्त गर्ने गोपनियताको बिषयलाई समेत उनीहरू समक्ष राखेका थियौं । हामीले सबैलाई समेट्न नसकेको भएपनि केही नेपाली वकिलहरूको भनाईलाई प्रतिनिधी भनाईका रुपमा लिने कोशिष गरेका हौं ।

samser thapaडा. शमसेरसिंह थापा

अष्ट्रेलियामा नेपाली वकिल हुनु भनेको नै भाषागत सुविधा पाउनु हो । अर्काेतिर इमोसनल सम्बन्ध पनि हुने भएकाले कानुनी लडाईमा सहजता आउँछ । त्यसका साथै आर्थिक रुपमा समेत पीडितलाई अन्य भाषाका वकिलहरूले भन्दा अवश्यै सहज हुन्छ । आर्थिक बिषयकै कुरा गर्ने हो भने पनि हामीले त कतिलाई सित्तैमा काम समेत गरिदिएका छौं । नेपालीहरू वकालातका क्षेत्रमा जती धेरै प्रवेश गर्छन त्यो राम्रो त हो नै यसले सामाजिक रुपमा समेत सकारात्मकता ल्याउँछ । नेपालीहरूसँग भावुक सम्बन्ध समेत हुने भएकाले अदालती लगायतका काम पाउन सहज हुन्छ भन्ने नै हो ।

वकालत पेशामा गोप्यता हुदैन भन्नेमा म सहमत छैन किनकी वकालत पेशा भनेको अष्ट्रेलियामा सबैभन्दा धेरै रेगुलेटेड पेशा हो । मेरो कुरा नै गर्ने हो भनेपनि मैले करिब २० हजार डलर त इन्स्योरेन्स नै तिर्छु किनकी यस पेशाप्रति हामी प्रतिबद्ध नभइकन केही गर्न नै सम्भव छैन् । अर्काेतिर सामाजिक रुपमा संस्थागत सहयोग पुरयाउन भविष्यमा अवश्यै सम्भव हुनसक्छ तरपनि यसमा ‘कन्फिल्ट अफ इन्ट्रेस्ट’ आउन सक्ने सम्भावना हुन्छ । एउटै परिवारबाट कुनै समस्या आए दुबैलाई एकै समुहले हेर्नुपर्ने भएकाले यो सही नहुन सक्छ ।

Bharat Pokhrelभरत पोखरेल, सिड्नी

जुन देशमा पनि कानुन महत्वपूर्ण हुन्छ नै त्यसमा पनि यहाँ कानुनको पालना हरेक क्षणमा गर्नुपर्छ । केही भइहाल्यो भने कानुनी सहयोगका लागि आफ्नो भाषा, मर्म र संस्कृती बुझ्ने वकिल भयो भने त्यसले धेरै नै सहयोग गर्छ । यहाँका नेपालीहरूको हकमा समेत आफ्नो भाषा र संस्कृती बुझ्ने आफ्नै वकिल दाजुभाइ भयो भने विश्वाससँगै न्यायका लागि लड्न मद्दत पुग्छ । यदी हामीमध्ये कसैलाई केही भइहाल्यो भने हामी नेपाली वकिलहरूले जति सहज किसिमले नेपाली दाजुभाइ दिदीवहिनीहरूको समस्यालाई आफ्नो भाषा र संस्कृती अनुसार बुझ्न सक्छौं अन्य भाषाका वकिलहरू नबुझ्न सक्छन् वा उनीहरूलाई बुझाउन समस्या हुनसक्छ ।

अर्काे कुरा गोपनीयता र आफ्नो सुचनाको हकको बारेमा त नेपाली मात्र हैन कुनैपनि वकिलहरूलाई शंका नै नगरे हुन्छ । कानुनी प्रावधान र जिम्मेवारी नै हो उनीहरूले आफ्ना क्लाइन्टको सुचनालाई अत्यन्तै गोप्य राख्नु । नेपाली वकिलहरू बढ्दै जानु नेपाली समुदायका लागि अवश्य नै खुसीको कुरा हो । किनकी हामीबीचमा विश्वास हुन्छ भने एउटै देश, समाज र संस्कृतीबाट आएको हुनाले भावना, चोट पीरलाई समेत भित्रैदेखि महसुस गर्नसक्छौ ।

Bunu Gautamबुनु गौतम, ब्रिसबेन 

हेर्नुस, मुख्यत भाषागत भिन्नता छ अष्ट्रेलिया र नेपालीका बीचमा । कानुनी कुरामा भाषाले अत्यन्तै महत्वपूर्ण स्थान राख्ने भएकाले भाषाको सहयोग पाउनु पनि ठुलो कुरा हो । आफुले चाहेको र भन्न खोजेको समस्याहरू मन खोलेर ब्यक्त गर्न सकिन्छ । त्यससँगै वास्तवमा के भएको हो भनेर जानकारी पाउन र दिन समेत सजिलो हुन्छ । अर्काेकुरा, हामीबीचमा संस्कृती समेत फरक छ । नेपाली वकिलहरू त्यही संस्कृतीबाट आएकाले समेत भावना बुझ्न र त्यसलाई सोही किसिमले सहयोग पुऱ्याउन मद्दत पुग्छ ।

यो पेशा भनेको अझ बढी जिम्मेवारीपूर्ण पेशा भएकाले समेत यदी ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ हुने किसिमको केश आयो भने मैले लिने गरेको छैन् । तर हामी यती जिम्मेवार हुन्छौ कि हामीले अरुको गोपनियता र अरुको सुचनाहरूलाई अत्यन्तै महत्वका साथ हेर्नेगर्छाै र हेर्नैपर्छ । सामाजिक रुपले समेत हामीले गर्नसक्ने सहयोगहरू गरिरहेका हुन्छौ । किनकी हामीपनि यही समाजका ब्यक्तिहरू भएकाले मानिसहरूको अवस्था र र समस्यालाई बुझेर हामीले सक्दो सहयोग गरिरहेका हुन्छौ र गर्नु पनि पर्छ जस्तो लाग्छ ।

टोनु घोताने, मेलबर्न

Tonu ghotaneयहाँ नेपाली कम्युनिटी बढिरहेको कारणले समेत नेपाली वकिलहरूको संख्या बढेको हो । हामीले बुझ्नुपर्ने के हो भने हामी सबै नेपालीहरूको अंग्रजी राम्रो नभएकाले समेत नेपाली वकिलहरूको महत्व बढ्दै गएको छ । नेपाली वकिलहरूको उपस्थिती हुनु भनेको यो हाम्रो समाजमा हामी नेपालीहरूलाई ‘एक्सेस अफ जस्टिस’ अझै हुनु हो । कमसेकम कुनै वकिलकोमा जानुपर्दा भाषा अनुवाद गर्ने ब्यक्ति त लिएर जानुपर्दैन । आफ्नो सबै समस्या आफ्नै भाषामा भन्न र बुझाउन सकिन्छ ।

वकिल बन्नका लागि हामीहरूले धेरै मेहनत गर्नुपर्ने र त्यसै अनुसारको कानुनी दायरामा रहेर काम गर्नुपर्ने भएकाले समेत सुचना र गोपनियता राख्नैपर्ने हुन्छ । हामीहरू जिम्मेवार मात्र हैन कि एउटै समाज र संस्कृतिबाट आएकाले समेत समस्या बुझ्न सहज हुन्छ । अरु भाषाका ब्यक्तिहरूलाई जसरी धेरै बुझाइरहन आवश्यक नै पर्दैन । अर्काेतिर खर्चको हिसाबले समेत हामी नेपाली वकिलहरू अन्यको तुलनामा सहज हुन्छौ अवश्यै । त्यसमा पनि बेफाईदा त अवश्यै हुदैन नी ।

Suman Bhetwalसुमन भेटवाल, सिड्नी

मुख्यत: नेपाली वकिलहरूले दुबै देशको संस्कृति र यहाँको कानुन राम्रोसँग बुझेको कारण पीडितहरूलाई सहयोग पुऱ्याउन सक्छन् । अर्काेतिर आर्थिक रुपले समेत उनीहरूलाई अन्य देशका वकिलहरूको जस्तो शुरुदेखि नै फि तिनुपर्ने अवस्था आउदैन् । कती धेरै समस्याहरू त फोनबाट सरसल्लाह मागेको भरमा पनि हामीले सहयोग गरिरहेका हुन्छौ । त्यो फाईदा हैन र ? नेपालीहरू वकालतको क्षेत्रमा आउनु । किनकी हाम्रो आफ्नो समुदायमा हामी सबैकुरा व्यवसायका रुपमा मात्र हेर्देनौ र हेर्नुपनि हुदैन् । हामी पहिले नेपाली हौं र त्यही रुपले सोच्छौ ।

तपाईले भनेजस्तो गोप्यता राखिदैन भन्ने कुरामा कुनैपनि सत्यता छैन् । सबैले यहाँको नियम र कानुनको परिधिमा रहेर काम गर्नुपर्छ । वकिलका रुपमा हामीले आफ्ना ग्राहकहरूलाई सबैभन्दा उच्च सम्मान र महत्व दिन्छौ जसका कारणले समेत उहाँहरूको गोपनियता राख्नु कानुनी दायित्व समेत हो । अर्काेतिर हामीले सामाजिक रुपमा काम गर्ने भन्ने कुरा छ त्यो असम्भव छैन तर त्यसका लागि सबैको एकता आवश्यक छ र त्यो अवश्यै गर्न सकिन्छ ।

Khilendraखिलेन्द्रराज तिम्सिना, सिड्नी

मुख्यत: भाषागत सहजता नै हो भन्नुपर्छ । नेपाली समुदायमा रहेका नेपालीहरूलाई कुनैपनि बिषयमा कानुनी सहायताको आवश्यक्ता पर्दा आइपर्ने भाषाको समस्या हल नै हुन्छ । अर्काेतिर कल्चरल किसिमले समेत उहाँहरूलाई सर्पाेट हुन्छ । जसले जे भनेपनि जे गरेपनि हामी नेपालीले जति अरुले नेपालीहरूको समस्या बुझनै सक्दैन नी । त्यसैले पनि नेपाली वकिल हुनुको फाईदा हुन्छ । अर्काेतिर मोरल सर्पाेट पनि त हामीले गर्न सक्छौ अरुको तुलनामा । किनभने हामीले जति हाम्रो संस्कृती र नेपालीको मनलाई बुझेको र चिनेको हुन्छौ त्यसले उनीहरूको समस्या बुझ्न त्यति मद्दत गर्छ ।

तपाँइले भनेजस्तो गोपनियताको समस्या हुन्छ जस्तो मलाई लाग्दैन् । यो त अत्यन्तै जरुरी मात्र हैन कि दायित्व र जिम्मेवारी पनि हो नी । केहीमा शंका होला अलग कुरा हो तर यसमा शंका गर्नुपर्ने कुनै कारण म देख्दिन् । अर्काे कुरा सामाजिक रुपले सेवा गर्नलाई त यो पनि हाम्रो दायित्व अन्तरगतको कुरा हो । हामीले समय समयमा सामाजिक काम गर्नैपर्छ । जस्तै ‘प्रोबानो वर्क’ जुन सामाजिक कार्य हो एउटा रिक्वायरमेन्ट नै हो नी । त्यसैले पनि मैले मात्र हैन् सबैले यो काम गर्न आवश्यक हुन्छ । त्यसैले पनि नेपाली वकिलहरू जति आए समाजलाई त त्यति नै फाईदा हुने जस्तो मलाई लाग्छ ।