क्रिकेट विकास बोर्ड गठन हुने

-- / प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३

Cricket

काठमाडौं— लामो समयदेखि क्रिकेट संघको विवाद समाधान गर्न नेपाल क्रिकेट संघ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसंग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आइतवार भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटवार्तामा प्रधानमन्त्रीले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्या परेकाले प्रतिबन्ध खोल्न आग्रह गरेका थिए ।

छलफलमा अहिल कायम रहेको क्यान विघटन गरी ६ सदस्यीय बोर्ड गठन गर्ने सहमति भएको भेटमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले जानकारी दिएका छन् ।

तत्काललाई बोर्डको सल्लाहकार सदस्यको नाम सोमबारसम्ममा टुंगो लाग्ने गरी काम अगाडि बढाइने बताइएको छ ।

तीन महिनाभित्र बोर्डले पूर्णता पाउने र पूर्ण सदस्यको चयन गरिने छ । बोर्ड गठन भएलगत्तै आइसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने र दिँदै आएको आर्थिक लगायत अन्य सहयोग पुन: दिइने कार्यकारी निर्देशक रिचार्डसनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।