कानुनविद्को एल्बम सार्वजनिक

-- NTA REP. / प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७२

काठमाडौं— संविधान तथा कानुनविद् डा. भिमार्जुन आचार्यले आफ्नो तेस्रो गीति एल्बम ‘एउटा जीवन’ शनिवार काठमाडौंमा सार्वजनिक गरिएको छ । सांगीतिक क्षेत्रमा अर्जुन मिलनको नामले स्थापित भएका डा. आचार्यको एल्बमलाई गीतकार तथा संगीतकारहरुको समुहले विमोचन गरेका हुन् ।

एल्बमको विमोचनपछि गीतकार कालीप्रसाद रिजालले भिमार्जुनलाई कानुनी क्षेत्रको व्यक्तित्वका रुपमा मात्र चिनेतको तथा गीत माग्न आउँदा आश्चर्य लागेको बताए । उनले भिमार्जुनले गीत माग्दा प्रारम्भमा नपत्याएको र गीत दिन दोधारमा परेको तथा उनले पहिले नै गाईसकेको एउटा गीत मोबाइलमा सुनाएपछि साधनारत गायक भएको लागेर गीत दिएको बताए । ‘गम्भिर गीत माग्नु अर्को सुखद् अनुभुति भयो । जो आउँथे दाईलाई थाहै छ नि हिजो आजकस्तो गीत चल्छ भनेर, चल्ने खालको गीत दिनु भन्थे । भिमार्जुनले चाहिँ गम्भिर गीत माग्नु भयो । केही दिनपछि रेकर्ड भएर आएपछि अझै प्रभावित भएँ’, रिजालले भने— ‘म पनि गम्भिर गीत गाउन सक्नेलाई मान्छु । गीतलाई मनोरञ्जनका साधन ठान्दिनँ, गीत पनि साहित्यको एउटा विधा हो । कान्छा र कान्छीको गीत गाउनुको अर्थ छैन ।’गीतकार, संगीतकार तथा गायकसमेत रहेका भिमार्जुनले पनि गीतकार किरण खरेलले पनि प्रारम्भमा आफुलाई गायकका रुपमा नपत्याएको खुलासागरे । ‘म लेखन, अध्यापन, कानुनी सेवा, पुस्तक लेखन सबै गर्छु, भीमार्जुन भन्छु—‘ तर सया वटा लेखले गर्ने काम एउटै गीतले गर्छ । यी सबै मेरो प्यासन हो तर म बहस गर्दा गीतलाई जोड्दिन, संगीत कर्म गर्दा बहसलाई विर्सन्छु । मलाई लोभ र पापबाट मुक्त गर्न गीत संगीतले सहयोग गरेको छ ।’कार्यक्रममा एल्बमसँगै सार्वजनिक म्युजिक भिडियोका अभिनेता हरिहर शर्माले भिमार्जुनमा बहुआयामिक क्षमता भेटेको खुलाए भने संगीतकार टीका भण्डारीले एलबमका गीत संगीतको समिक्षा गरे ।

विमोचित एल्बममा सात वटा गीत छन् जसमा क्षेत्रप्रताप अधिकारी, किरण खरेल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, कालीप्रसाद रिजाल र अर्जुन मिलनको तथा संगीत नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी, बिबी अनुरागी र अर्जुन मिलनको
संगीत रहेको छ । कार्यक्रममा ‘ढिडो भए हुन्छ मलाई’ र ‘जित्नेलाई मिठो जीवन’ शीर्षकका २ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सञ्चारकर्मी प्रेम बानियाँद्धारा निर्देशित भिडियोमा हरिहर शर्मा र शकुन्तला शर्मा तथा कृष्ण मल्ल र गौरी मल्लले अभिनय गरेका छन्।

डा. आचार्यले यसअघि मौनताको शहर र सजिलो हुँदैन जीवन नामक एल्बम बजारमा अाइसकेकाे छ ।