नेपाल महाेत्सवमा उर्लेकाे जनसागर

-- सुजित सिग्देल / प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३

रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो

जिउँदो रगत सरि यो बल्दो यो सान हाम्रो …………….

नेपालदेखि हजारौ माइल पर परिदृश्यमा चन्द्र सूर्य अंकित झन्डा फहरिएका छन् अनि अगाडिको लाउड स्पिकरले सगर्व दोहोराई रहेछ रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो जिउँदो रगत सरि यो बल्दो यो सान हाम्रो ………….. । सिड्नीका गगनचुम्बी महलहरूको आगनीमा ब्यापारिक र पर्यटकीय दृष्टिले बिशेष महत्व राख्ने डार्लि∙ हार्बर लमतन्न छ अनि नजिकै फराकिलो बिशाल पार्क, जहाँ आफ्ना मौलिक भेष—भुषामा सजिएका पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधित्व गर्दै उर्लेको जनसागर अनि नेपालमय बनेको सिड्नी । चन्द्र सूर्य अंकित त्रिकोणात्मक झन्डा, हाम्रा विविधतामा एकताले बिदेशी मुलकाहरूलाई समेत आकर्षित गरेको छ । सबै रमेका छन् गीत, संगीत खान—पिन, विविध जानकारी र भेटघाटमा । गत २६ नोभम्बर सिड्नीको डार्लिङ्ग हार्बरमा नेपाल फेस्टिभलमा देखिएको दृश्य हो यो । त्यसैले फेरि पनि देश भनेको भूगोलका रेखाहरू मात्र होइन रहेछ, यो त भावनात्मक सम्बन्ध रहेछ, त्यही भावनात्मक सम्बन्ध यस पटक फेरि राष्ट्रियताको

डोरीले जोड्दै सिड्नीमा फक्र्यो ।

पहिलो पटक सन् २००६ मा सुरु भई प्रत्येक २/२ बर्षमा सम्पन्न हुँदै आइरहेको यस पटकको नेपाल फेस्टिभल सिड्नीमा छैठौ संस्करण हो । छैठौ संस्करणसम्म आइपुग्दा अष्ट्रेलियाका अन्य शहरहरूमा पनि बिगतमा नेपाल फेस्टिभल सम्पन्न भइ सकेका छन् भने केहि हप्ता अगाडि मात्र ब्रिसबेनमा र आउने डिसेम्बर १७ का दिन मेलबर्नमा नेपाल फेस्टिभल मेलबर्न तय भएको छ । अघिल्ला पटकहरू जस्तै यस पटक पनि पूरै सिड्नी नेपालमय बनेर नेपाल फेस्टिभल सिड्नी सकिएको छ । अनुमानित चालिस हजारले अबलोकन गरेको जनाइएको उक्त फेस्टिभल सम्पन्न स्थल डार्लि∙ हार्बर र तोम्बोलन पार्क मात्र होइन सिड्नी सिटी आउने लगभग सबै जस्ता प्रमुख ट्रेन स्टेसनहरू ढाका टोपी, सारी र चोलीमय देखिएको थियो ।

अर्को तर्फ बिगतका भन्दा भिन्न यस पटक नेपाल र अष्ट्रेलिया सरकार र राजनीतिक पार्टी दुवै तर्फबाट उच्च तहका प्रतिनिधिहरूको उपस्थितिले पनि यो महोत्सबको महत्व झन् बढ्न गयो । नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतित्थ्यतामा सम्पन यस महोत्सबमा, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथिको रुपमा उपस्थित थिए ।

बिशेष अथिति कै रुपमा अष्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्री सोफी कोटिसस, सांसद डेभिड कोलम्यान लगायतका अष्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरू, स्थानीय काउन्सिलका काउन्सिलरहरू उपस्थित थिए । त्यसै गरि कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरू, क्षेत्रीय संयोजकहरू, केन्द्रिय सल्लाहकार, एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का, भिक्टोरियाका महाबाणिज्य दूत चन्द्र योञ्जन, यहाँ रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरूको बिशेष उपस्थिति थियो । पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हार्बरमा बिहानै १०.३० बजे प्रभात फेरिबाट सुरु भई टुम्बालो∙ पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको उक्त महोत्सबको उद्घाटन परराष्ट्रमन्त्री महतले अन्य अतिथिहरूको उपस्थितिमा पानशमा बत्ति बालेर गरेका थिए ।

नेपाल हाउस

यस पटकको नेपाल फेस्टिभलमा १२ खानपिनका र २३ जानकारीमूलक र सेवामूलक गरि जम्मा ३५ स्टलहरूले टुम्बालो∙ पार्कलाई घेरेर रहेका थिए । यिनै स्टलहरू मध्ये ठूलो अलिक भिन्न र प्रवेशद्वार मै सबैको स्वागत गर्दै उभिएको थियो नेपाल हाउस । नामैले आफैमा अर्थ लाग्ने यस नेपाल हाउस सम्पूर्ण रुपमा मेची महाकालीको नेपाल अनि हिमाल पहाड र तराईको नेपालको प्रतिबिम्ब थियो । यसको निर्माण, सजावट र रेखदेखको जिम्मा एनआरएनए ओमन फोरम नारी निकुन्ज अष्ट्रेलियाका चेलीहरूले लिएका थिए । नेपाली पर्यटनसँग सरोकार राख्ने विविध सामग्री, दृश्यहरू, पुरातात्वीक महत्वका सामग्रीहरू, बन्य जन्तु, नेपाली लोक शैलीका र चलन चल्तीका विविध सामग्रीहरू, भेषभुषा, रितिरिवाज झल्कने विविधसंग्रह हुँदै, धार्मिक दृष्टिले महत्वपूर्ण गौतम बुद्धदेखि पशुपतिनाथसम्मका प्रतीकात्मक चिनो नेपाल हाउसमा थियो । कृतिम हिउँ पार्नेदेखि विविध जानकारीमूलक स्लाइड शोहरूले बिदेशी मुलका आगन्तुक र हाम्रै दोश्रो पुस्ताका बाबुनानीहरूको ध्यान खिच्न सफल भएको थियो ।

खानपिन र जानकारी

नेपाल फेस्टिभलको अर्को आकर्षण भनेको खान पिन र विविध जानकारी नै हो । टुम्बालो∙ पार्कमा सेता चिट्टिक्क परेका स्टलहरू मध्ये धेरैको आकर्षण केन्द्र बिन्दु थिए खाना र विविध जानकारी मूलक स्टलहरू । शिक्षा, बैंकिङ्ग, पर्यटन लगायतका जानकरीमूलक ब्यापारिक स्टलहरूले विविध जानकारी सहित आफ्नो फ्ल्यार मात्र बाँडेका थिएनन् घाम चर्कदै गर्दा छाता र चिसो पिउने पानीसमेत बाँडेको दृश्य निक्कै रमाइलो देखिन्थ्यो । नेपाली समुदायबाट यति धेरै ब्यापारिक संघ संस्थाहरू आउनु आँफैमा निक्कै खुसीको कुरो हो । एकातिर समुदायलाई आबश्यक पर्ने सबै आबश्यकताहरू समुदायबाटै परिपूर्ति हुनु र अर्को तिर ब्यापारिक र लेनदेनका साझेदारीहरू एक आपस मै संयोजित हुनु आफैमा राम्रो कुरा हो । अर्को तिर यति धेरै ब्यापारिक सम्भावनाहरू ले यहाँका बहु साँस्कृतिक र अन्य ब्यापारिक समुदायलाई पनि घचघचाएको छ । अर्को तिर खानपिन भनेको भोक मेट्ने मात्र नभई आफैमा देश चिनाउने सशक्त माध्यम पनि हो यस पटकको नेपाल फेस्टिभलका खानाका स्टल आगाडि एकिकृत नेपाली र बिदेशीको भीडले त्यस्तै सन्देश दिदै थियो ।

हाम्रो उपस्थिति आँफैमा सन्देशमूलक

अष्ट्रेलियाको बहुसंस्कृतिक समुदायमा यस फेस्टिभलले देखाएको हाम्रो जबरजस्त उपस्थिति आफैमा हाम्रो शक्ति हो । अंग्रेजीमा “पिपुल पावर” भने झैँ, हाम्रो सहभागिता आफै यहाँको स्थानीय हुँदै राज्य र केन्द्र सरकारसम्मका लागि सन्देश पनि हो । हो आप्रबासीहरू माझ मिलनसार मिहेनतीको परिचय बनाएका नेपालीहरू को लागि पक्कै पनि हाम्रो बढ्दो जनसंख्याले हामीलाई हेर्ने सरकारी दृष्टिकोण अथवा सरकारी तबरबाट यहाँका बहुसांस्कृतिक समुदायले पाउने विविध फाइदाहरूमा हामीलाई पनि एक हिस्सेदार बन्न यसले पक्कै बल पुग्नेछ । त्यसैले त अष्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँमन्त्री सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अष्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरूले उक्त अवसरमा यो फेस्टिभल र हाम्रो उपस्थिति, नेपाली कला संस्कृति झल्कने विविध प्रस्तुतिहरू र खानपिनको मुग्ध कण्ठले प्रसंसा गर्दै यसले अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्वपूर्ण आयाम थपेको र यो नै अष्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताए ।

त्यसैगरि प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री महतले नेपालीहरू जहाँ रहे पनि इमान्दार र परिश्रमीको परिचय बनाएको र अष्ट्रेलिया भ्रमणका क्रममा आफ्ना समकक्षी एवं राजनीतिक पार्टीका नेताहरूले यहाँका नेपालीहरूको मुक्त कण्ठले प्रसंसा गरेको बताउनु भयो । नेपाल फेस्टिभलमा सहभागीहरूलाई सम्बोधन गर्दै डा.महतले नेपालले राजनीतिक रुपमा धेरै उतार चढाव पार गरि अहिले स्थितिमा आएको र अबको एउटै एजेन्डा भनेको बिकास निर्माणमा देश अगाडि बढाउनु हो जसका लागि विदेशमा बसेका नेपालीहरू को ठूलो योगदान रहने बताउनु भयो । एक पटकको नेपाली सधैको नेपालीभन्ने गैर आबासीय नेपालीहरूले उठाएको आबाजलाई आँफुले अन्तरिम संबिधानदेखि संबिधान मस्यौदा हँुदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफू आबद्द पार्टी र सरकार संधै सकारात्मक रहेको बताउँदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताउनु भयो । त्यसै गरि बिदेशिएका सबै नेपालीहरू आफ्नो देशसँग जसरिपनि कुनै न कुनै माध्यमबाट जोडी रहनु पर्ने बताउँदै यहाँ सिकेको शीप, ज्ञान र अर्थलाई आफूलाई पायक पर्ने वा सुबिधा हुने किसिमले जुन सुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गर्नु भयो ।

करिब २ दशकको अष्ट्रेलिया बसाईलाई संधै नजिकबाट नियालिरहनु भएका एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अष्ट्रेलियाको बहु सांस्कृतिक समुदायमा नेपालले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आजको हाम्रो यो उपस्थितिले नेपाली समुदाय पनि अष्ट्रेलियाको एउटा महत्वपूर्ण समुदाय रहेको सन्देश सबैमा जाने बिश्वास व्यक्त गर्नु भयो । मन्तब्यका क्रममा घलेले आफ्नो मातृभूमि प्रति पनि अझै बढी कर्तब्य निष्ठा हुनु सबैलाई आग्रह गर्दै भूम्कम्प पीडितहरूको समस्या आजसम्म पनि खासै सुधारोन्मुख नरहेको एनआरएनएले अरु जिम्मेवारीका साथ पूनर्निर्माणमा जुट्नु पर्ने बताउनु भयो । एनआरएनएले प्रतिबद्दता गरेको १००० घर निर्माणका लागि निर्माणको क्षेत्रमा अनुभव भएका गैर आबासीय नेपालीहरू लाई सहयोगको लागी अनुरोध समेत गर्नु भयो ।

अन्त्यमा, २००६ देखि सुरु गरेको यात्रा एनआरएनए अष्ट्रेलियाले नेपाली दूताबास, महाबाणिज्यदूतको कार्यलय र सामुदायिक संघ संस्थाको सहकार्यमा २०१६ सम्म आइ पुग्दा अझ व्यापक, अझ सबैको अपनत्व बनाउँदै सिड्नीमा सम्पन्न भएको छ भने यसको व्यापकता मेलबर्न र ब्रिसबेन बाहेक शहरहरूमापनि बढ्दै गएको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देललाई पितृशोक परेका कारण पनि सम्पूर्ण नेपाल फेस्टिभल सिड्नीलाई सम्पन्न गर्न नेतृत्व लिएका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिनेश पोख्रेलले यति ठूलो र नेपालीहरूले गौरब गर्न मिल्ने महोत्सब सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ५०० भन्दा धेरै सहयोगी शुभ चिन्तक ब्यापारिक साथीहरू एनआरएनएका पदाधिकारीहरू, नेपाली समुदायका सदस्यहरू र स्वयं सेवकहरूको हात रहेको बताउँछन् । त्यसै गरि करिब एक लाख ५० हजार लागत सहित सम्पन्न यस फेस्टिभलको चाँजो पाँजो एक बर्ष अगाडिदेखि नै भेन्यु बुक गर्ने र नेपालबाट कलाकारहरूको छनोटबाट सुरु भए पनि गत ६ महिनाबाट चाहीँ निरन्तर खटाईले मात्र यो सम्भब भएको हो । नेपाली सानाठूला जमघट नि:सन्देह कुनै न कुनै परोपकारिता सँग जोडिएको हुन्छ यस पटकको नेपाल फेस्टिभलमा पनि राफल बिक्रि गरि सोसियल वेलफेर फन्डका लागि थप अर्थ संकलन गर्न स्वयंसेवकहरू दिनभरी खटिएका थिए, राफल बाट बचत रकममा फेस्टिभलको बचत रकम थपथाप गरि २५ डलर एनआरएनए सोसियल वेलफेर फन्डमा जम्मा गर्ने र बाँकि बचत रकम पनि एनआरएनए कै कुनै न कुनै परोपकारी कार्यमा खर्चने दिनेश पोख्रेलले बताए । फेरि पनि कर्मभूमिमा सगौरब देशको झण्डा फहरिएको, नेपालको परराष्ट्रमन्त्री स्वयं उपस्थित भएको, अष्ट्रेलियाका मिडिया राजनीतिक पार्टी र सरकारले बिशेष महत्व दिएको यस फेस्टिभलले हाम्रो समुदायलाई अनि अष्ट्रेलियामा हाम्रो उपस्थितिलाई पक्कै पनि दीर्घकालीन प्रभाब पार्ने छ ।

सिड्नीमा विहानैदेखि देखिएको नेपाल

नेपाली पोशाक लगाएका हजारौं युवायुवती । नेपाललाई प्रत्यक्ष अनुभव गराउनका लागि निर्माण गरिएको नेपाल हाउस । सिड्नीको मुख्य पर्यटकीय शहर डार्लिङ्ग हार्बरमा फहराइरहेका चन्द्रसूर्य अंकित नेपाली झण्डा । अष्ट्रेलियाको सिड्नी शहर शनिबार विहानैदेखि नेपालमय बन्यो । जहाँ के बृद्धबृद्धा, के युवायुवती, के बालबालिका । सबैको उत्तिकै सक्रिय सहभागिता थियो । नेपालीमात्र नभएर एनआरएनले आयोजना गरेको नेपाल महोत्सवमा विदेशीहरूले पनि उत्तिकै उत्सुकताका साथ सहभागिता जनाएको देख्न पाइन्थ्यो । महोत्सवको मुख्य प्रवेशद्धारमै निर्माण गरिएको नेपाल हाउसले त कार्यक्रममा आउने जोकोहीलाई सानो नेपालको झल्को दिलाइरहेको थियो । गौतम बृद्ध, सगरमाथा अंकित मूलद्धार । उक्त हाउसमा राखिएको गोर्खालीहरूको इतिहास समेटिएको दस्तावेजदेखि नेपाली परम्परागत गरगहना, लुगाकपडा, पर्यटकीय क्षेत्रहरूको बारेमा देखाइएको बृत्तचित्रले त आगन्तुक जो कोहीलाई नेपालको बारेमा चासो जगाइदिएको थियो ।

महोत्सवको अर्काे आकर्षणको रुपमा प्रचार गरिएको आतीशवाजी समेत प्रचार गरिएभन्दा रोचक बनेपछि त उक्त आतीशवाजीको लाइभ गर्नेको संख्या उल्लेख्य नै थियो । संयोजक पोखरेले यसबर्षको महोत्सवको तुलनामा अर्काे पटक गर्ने महोत्सव कसरी र कुन नयाँ सोचले सफल गरिने हो भन्नेमा चिन्तित थिए । किनकी उनी आँफूले समग्र संयोजक गरेको महोत्सवबाट सन्तुष्ट मात्र थिएनन् कि लामो समयको मेहनत सोचभन्दा सफल बनेकोमा हर्षित थिए ।

पहिलोपटक यसबर्ष नेपाल हिमालको देश हो भनेर परिचय दिने उद्देश्यले दिनभरि कृत्तिम हिंउ समेत पारिएको थियो । ‘हामीले नेपाली पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेर जुन कार्यक्रम गरेका थियौं त्यो सोचेभन्दा धेरै सफल बनेको छ ।’ कार्यक्रमका संयोजक दिनेश पोखरेलले भने । कार्यक्रममा ४० हजार बढी अवलोकनकर्ताले नेपाल महोत्सवको प्रत्यक्ष अवलोकन गरेको पोखरेलले दाबी गरे । कार्यक्रममा सहभागीहरूले समेत यसबर्षको नेपाल महोत्सव विगतका बर्षहरूको भन्दा पृथक र महत्वपूर्ण भएको अनुभव सुनाए । महोत्सवमा विहानैदेखि सहभागि बनेका रुपराज मैनालीले महाभूकम्पपछि सुस्ताएको नेपालको पर्यटन प्रबद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपालको पर्यटन प्रबद्र्धन गर्नकै लागि भनेर बिभिन्न भेषभुषामा सज्जित युवायुवतीले फेशन परेड समेत गरेका थिए । एकाविहानै भएको प्रभातफेरिमा समेत नेपालको परम्परा र विविध संस्कृति झल्कने किसिमका पोशाक, बाजाका साथै पयटकीय क्षेत्रहरूको जानकारी समेटिएको ब्यानरसहित सिड्नीको मुख्य शहर परिक्रमा गरिएको थियो ।

नेपाल महोत्सव प्रत्येक दुईबर्षमा आयोजना गरिन्छ । यसबर्षको महोत्सव अन्य बर्षहरूको जस्तै रहेपनि तयारी र महोत्सवमा गरिएको ब्यवस्थापन अन्य बर्षहरूको भन्दा उत्कृष्ट थियो । जसमा कुनै द्धुविधा छैन् । यद्यपि आयोजकको तर्फबाट प्रस्तुत गरिएका केही कार्यक्रम प्रस्तोताले देखाएको अपरिपक्वताले भने कताकता असहज अवस्था समेत सृजना भएको थियो । तरपनि नेपाल महोत्सवमा जुन उद्देश्य र लक्ष्य राखेर कार्यक्रम गर्न खोजिएको थियो त्यो पुरा भयो भन्नेमा कुनै शंका गर्न सकिन्न । नेपाललाई अझ चिनाउने र कलासंस्कृतीलाई प्रबद्र्धन गर्ने जुन प्रयास गरिएको थियो त्यो भने अवश्यै पूरा भएको मान्न सकिन्छ ।