म्यानेजरको जागिर छोडेर व्यवसायतिर

-- नारायण खडका / प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३

अष्ट्रेलियाभरि रहेका १८ हजारबढी घर जग्गा खरिदबिक्रीमा सहयोग गर्ने (मोर्गेज ब्यवसायी) हरूमा उत्कृष्टमध्येमा उनी छानिए । अष्ट्रेलियाकै ठुलोमध्येको बैंक अष्ट्रेलिया नेशनल बैंक (न्याब) मा म्यानेजरको जागिर छाडेर यो ब्यवसायमा आएका उनले ब्यवसाय शुरु गरेको ४ बर्षपछि उनी अष्ट्रेलियाको १०० उत्कृष्ट मोर्गेज ब्यवसायीका रुपमा दरिए । मोर्गेज प्रोफेसनल अष्ट्रेलिया नामक पत्रिकाले प्रत्येक बर्ष निकाल्ने उत्कृष्ट ब्यवसायीको सुचीमा उनको नाम समेत समावेश गरिएको हो ।

पाल्पाको मध्यम परिवारमा जन्मिएर सरकारी बिद्यालय अध्ययन गरेका कपिल नेपाल करिब २ सय नेपाली मोर्गेज ब्यवसायीमा सफल मध्येमा मानिन्छन् । स्मार्टलाईन नामक सफल ब्यवसायको शाखाको रुपमा ब्यवसाय स्थापना गरेका उनले अहिलेसम्म ४ सयबढी ग्राहकहरूलाई नियमित सेवा प्रदान गरिरहेका छन् । पारामाटामा रहेको आफ्नो कार्यलयबाट सेवा दिइरहेका नेपाल आफु उत्कृष्ट सय ब्यवसायीमा चुनिनुलाई आफ्नो मेहनत र ग्राहकहरूको विश्वास भएको दाबी गर्छन् ।

सन् १९९९ मा बिद्यार्थीको रुपमा अष्ट्रेलिया आएका नेपालको करियर भने पढाइसँग मेल खाएन् । नेपालबाट बिज्ञान बिषय पढेर आएका उनले अष्ट्रेलियामा आएर आइटीको उच्च शिक्षा पूरा गरे तर जागिर भने बैंकमा खाए । मोर्गेज बिशेषज्ञको जागिर खाएपछि भने उनलाई यसै क्षेत्रमा केही गर्ने उत्साह र जाँगर पलायो । उनले मुख्य रुपमा घर खरिदका लागि लोन मिलाइदिने लगायतका बिभिन्न मोर्गेज ब्रोकिङको काम गर्छन् । ‘आफुले जे गरिन्छ त्यसमा मन लगाएर काम गर्न सकियो भने सफलता पाउन सकिन्छ । नेपाल भन्छन् – मेरो यो सफलताले नेपाली ब्यवसायीलाई केही मात्रामा भएपनि हौसला दियो भनेपनि यो मेरोलागि खुसीको कुरा हुनेछ ।

हुनत यसपहिले पनि उनले स्मार्टलाईनको तर्फबाट उत्कृष्ट ब्यवसायीको रुपमा बिभिन्न सम्मान र पुरस्कारहरू समेत पाइसकेका छन् । अर्काेतिर उनी समाजसेवामा समेत उत्तिकै सक्रिय भएर लागिपरेका छन् । यहाँ हुने प्राय: सबै कार्यक्रमहरूमा उनको आर्थिक र सामाजिक सक्रियता उत्तिकै हुने गरेको छ । आफुले अलिअलि पैसा कमाएर त्यसको केही भाग समाजका लागि लगाउन सकियो भने त्यसले आत्मसन्तुष्टि दिने धारणा उनको छ ।

उनको आफ्नो अनुभवमा यो ब्यवसाय दोहोरो समझदारीमा र विश्वासको आधारमा चल्ने भएकाले ग्राहकको सन्तुष्टि नै मुख्य उद्देश्य हुनुपर्ने बताउँछन् । आफ्ना ग्राहकहरूसँग कुनैपनि शुल्क नलिई गरिने ब्यवसाय भएकाले जति सम्बन्ध बनाउन सकियो त्यति राम्रो हुने उनको भनाई छ । ‘यो ब्यवसाय ‘वर्ड अफ माउथ’ बाट बढी प्रचार हुने भएकाले समेत आफुहरू सचेत हुन आवश्यक हुन्छ । नेपाल भन्छन् – त्यसैले ग्राहकको सन्तुष्टि र आवश्यक्तालाई मध्यनजर गरेर सहज र सरल सेवा दिनुपर्छ भन्ने मेरो ब्यक्तिगत अनुभव छ ।’

सामाजिक सञ्जालमा व्यवसायको त्यति धेरै प्रचार गर्न नरुचाउने बताउने उनी जे पायो त्यही लेखियो भने ग्राहकहरूलाई नकारात्मक सन्देश जाने दाबी उनको छ । पचारप्रसार जरुरी हुन्छ तर सामाजिक सञ्जालमा जे पायो त्यही लेख्यो भने ग्राहकहरू कन्फयुज हुन्छन भन्ने हो । उनी भन्छन् ।

यो व्यवसायको भविष्य उनी उज्जवल देख्छन् । झन त्यसमा पनि पछिल्लो समयमा आइरहेका नेपाली युवा ब्यवसायीहरू देखेर त उनी झन आशावादी छन् । ब्यवसाय यो होस वा जुनसुकै होस मन लगाएर गर्ने र ग्राहकको चाहना र आवश्यक्तामा ध्यान दिने हो भने अवश्य सफल बन्न सकिन्छ । उनी दाबी गर्छन् । अहिले नेपालीहरूले घरजग्गा खरिद गर्ने क्रम बढिरहेका कारण यो ब्यवसाय फस्टाउने क्रममा रहेको उनको अनुभव छ । त्यसैले पनि पछिल्लो केही बर्षमा यो संख्या बढेर २ सयको हाराहारीमा पुगेको उनी ठान्छन् ।

नेपाललाई व्यवसायी वाहेक साहित्यकार पनि हुन भनेर धेरैले नचिनेको पनि हुनसक्छ । हो, उनी साहित्यमा राम्रो रुचि राख्ने मात्र नभएर साहित्य सृजना समेत गर्ने गर्दछन् । यसैबर्षको अन्त्य वा अर्काे बर्षको शुरुवाततिर उनको एकल एल्बम बजारमा आउँदैछ र त्यसको तयारीमा उनी राम्रैसँग जुटेका छन् । अर्काे बर्षको शुरुवाती महिनासम्म आफुले लेखेको गीतको एल्बमको तयारीमा दु्रतताको साथ लागेको बताउँदै उनी आफ्नो यो एल्बममा प्रसिद्ध गायक रविन शर्मादेखि अष्ट्रेलियाका गायक बिकास उप्रेतीसम्मले स्वर दिएको जानकारी दिन्छन् । त्रिचन्द कलेजमा पढ्दादेखि नै साहित्यमा लागिपरेका उनको यो सांगितिक कोशेली विविध नेपाली गीतहरूले भरिएको हुनेछ ।

सफल व्यवसायी र उदाउँदै गरेका साहित्यकार भएपनि उनको रुचि भने समाजसेवामा नै छ । उनले बुझेका छन कि यही समाजबाट केही लिइन्छ भने समाजलाई पनि आफुले केही दिन सक्नुपर्छ । त्यसैले पनि यहाँ हुने स्थानीय कार्यक्रममा उनी सकेसम्म सहभागिता जनाउने कोशिष गर्छन् । ३ जनाको सानो संख्याका कर्मचारी राखेर ब्यवसायमा जमिरहेका नेपाल भविष्यमा आफ्नो ब्यवसायलाई पृथकिकरण गरेर अन्य क्षेत्रमा हात हाल्ने सोचमा छन । किनकी उनलाई लाग्छ यदि यसो गर्न सकियो भने ब्यवसायीक रुपमा सफल त भइन्छ नै समाजमा पनि अझ महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ ।