बलिउड चलचित्रमा युवराजको गायन

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७२

Singer Yuvraj Chaulagain with Santosh Raj_1
काठमाडौं— नेपाली चलचित्रका लोकप्रिय पाश्र्व गायक युवराज चौलागाईंले पहिलो पटक बलिउडको चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । यसै साता काठमाडौंमै रेकर्ड गरिएको हिन्दी चलचित्र ‘गल्ति’ मा युवराजले बलिउडका संगीतकार सन्तोष राजको संगीत निर्देशनमा ‘तेरी आँखो ने मेरी आँखो से…’ शीर्षकको गीत गाएका हुन् । यो गीतमा युवराजलाई बलिउडकै गायिका जमुनाले गायनमा साथ दिएकी छिन् । पियुष आर्य यो गीतका रचनाकार हुन् । काठमाडौंका ब्ल्याकपेपर स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
मोहन जी महतो तथा सन्तोष विश्वकर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन बि.प्रसाद साहूले गर्ने तय भएको छ । यो चलचित्रको छायांकन नेपालकै जोमसोम क्षेत्रमा गरिने बताइन्छ । एमआरआर ईन्टरटेन्मेन्ट तथा ओम आर्टद्वारा प्रस्तुत गरिएको यो चलचित्रलाई जी कम्पनिले वितरण गर्नेछ ।
यसै वर्ष चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनौं’ गीतबाट सर्वोत्कृष्ट गायकको विधामा आधा दर्जनभन्दा बढि एवार्ड पाएका गायक चौलागाईंले गाएको चलचित्र ‘क्लासिक’ को ‘हारेँ हारेँ…’ गीत पछिल्लो समय लोकप्रिय छ । यसअघि गायक चौलागाईंले गाएको चलचित्र ‘छ एकान छ’ को शीर्षक गीत पनि लोकप्रिय थियो । गायक चौलागाईं चलचित्रका साथै सुगम संगीतमा आधारित गीतबाट पनि दर्शकमाझ लोकप्रिय छन् ।