अब जिल्लामै उत्कृष्ट स्वास्थ सेवा

स्वास्थ्य मन्त्रालयले यही फेब्रुअरी १२ देखि मुलुकका १३ जिल्लाका अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु गर्ने निर्णय गरेको छ । यससंगै जिल्ला तथा अञ्चल अस्पतालबाटै बिरामीले विशेषज्ञ सेवासहित शल्यक्रियाको सेवा पाउने भएका हुन् ।
-- / प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३

काठमाडौं— स्वास्थ्य मन्त्रालयले यही फेब्रुअरी १२ देखि मुलुकका १३ जिल्लाका अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु गर्ने निर्णय गरेको छ । यससंगै जिल्ला तथा अञ्चल अस्पतालबाटै बिरामीले विशेषज्ञ सेवासहित शल्यक्रियाको सेवा पाउने भएका हुन् ।
प्रारम्भमा १३ वटा जिल्लाका अस्पताल र त्यसको केहि हप्तापछि बाँकी जिल्ला अस्पतालमा यो सेवा शुभारम्भ गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयको छ ।
फेब्रुअरी १२ देखि उक्त सेवा सुरु गर्नेमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा र बाग्लुङको बुर्तिवाङ जिल्ला तथा अञ्चल अस्पताल छन् ।
स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँग सम्झौता गरी उक्त सेवा सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिएका छन् । लामिछानेले अस्पतालमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकलाई खटाइने तथा सो वापत उनीहरुलाई थप पारिश्रमिक उपलब्ध गराउने सहमति भएको बताउँदै उक्त सेवाका लागि ती अस्पतालमा आवश्यक उपकरण र वित्तीय स्रोतको व्यवस्था पनि सरकारले गर्ने धारणा व्यक्त गरे ।
उक्त सेवालाई बढी प्रभावकारी बनाउन तथा स्रोत साधनको व्यवस्थापनका लागि एक सर्वपक्षीय संयन्त्रसमेत गठन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।