सोसल मिडिया विरुद्ध पेनेलप

-- / प्रकाशित मिति : आइतवार, फाल्गुन ३०, २०७२

अधिकांश सेलिब्रेटीहरु सोसल साइटमा आफ्नो प्रचार–प्रसारमा रमाइरहेको बेला हलिउड नायिका पेनेलप क्रुजले भने पृथक शैलीको धारणा सार्वजनिक गरेकी छिन् । पेनेलपले सोसल मिडियालाई भयावह तथा अस्वभाविक भएको बताउँदै फेसबुक तथा ट्विटरलाई गलत प्लेटफर्म भनेकी छिन् । ‘मलाई सोसल मिडियाहरू अप्राकृतिक लाग्छन्,’ पेनेलपले भनेकी छिन्—‘इन्टरनेटले हामीजस्ता व्यवसायिक व्यक्तिसहित सम्पूर्ण संसारलाई नै परिवर्तन गरिदिएको छ ।’ पेनेलपले आफूलाई मोबाइलबाट टेक्स्ट म्यासेज पठाउनुभन्दा हाते चिठी अथवा कार्ड लेख्न सहज लाग्ने बताएकी छिन् । त्यसो त पेनेलपले भविष्यमा त्यो समय पुनरागमन हुने आशा गरेकी छिन् जब मानिसहरू पुन: हातले लेख्न चिठीको प्रयोग गर्न थाल्नेछन् । पेनेलपले अहिलेसम्म फेसबुक, ट्विटरमा एकाउन्ट खोलेकी छैनन् जबकि उनका करोडौं प्रशंसक उनलाई सोसल मिडियामा देख्न चाहन्छन् । पेनेलपले इन्स्टाग्राममा मात्र आफूलाई सिमित राखेकी छिन् ।