स्मार्टफोनमा जीपीएस

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४

स्मार्टफोनको बढ्दो प्रयोगसंगै यतिबेला जीपीएस पनि चर्चामा छ । कुनै पनि नयाँ स्थानमा जानुपर्‍यो भने अहिले जीपीएस साथी बन्न थालेको छ । लोकेसन सर्भिसको सुविधा उपलब्ध गराउने एप्सका कारण पनि स्मार्टफोन प्रयोगकर्तालाई नयाँ ठाउँ पत्ता लगाउन सहज भैरहेको छ । त्यसैले पनि जीपीएस अहिले स्मार्टफोन प्रयोगकर्ताका लागि दैनिकी झैं बनेको छ । जीपीएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम, यसले कुनै पनि व्यक्तिको उपस्थितिका बारेमा बताउँछ । जीपीएस प्रविधिको विकास सबैभन्दा पहिले अमेरिकी सेनाले गरेको हो । यसलाई सन् १९९५ देखि सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी खुला गरियो । जीपीएसका लागि अन्तरिक्षमा २४ देखि ३२ वटा स्याटेलाइटको एक समूह तयार गरिएको छ, जसले पृथ्वीमा उपलब्ध जीपीएस रिसिभरसँग नेटवर्क स्थापित गर्छन् । ती स्याटेलाइटसँग सम्पर्क गर्न मोबाइल फोन वा जीपीएस डिभाइसमा रिसिभर राखिएको हुन्छ । रिसिभर र स्याटेलाइटको माध्यमबाट डाटा आदानप्रदान हुन्छ । पृथ्वीभन्दा करिब १२ हजार माइल माथि रहेका ती स्याटेलाइट करिब ७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेका हुन्छन् । ती स्याटेलाइटले एक दिनमा दुई पटक पृथ्वीको परिक्रमा गर्छन् ।