नेपालको विजयी सुरुवात

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २, २०७४

काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुआत गरेको छ । सोमबार बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुआत गरेको हो ।
टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ गरेको थियो । २९ ओभरमा सबै विकेट गुमाएको सिङ्गापुरले ७३ रन मात्रै बनाउन सक्यो । ब्रिगु एयर ४२ र सेन अग्रवाल ११ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ८ ओभरमा दुई मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहब आलमले ३ र किशोर महतोले २ विकेट लिए ।
जवाफमा नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गर्‍यो । नेपालका लागि प्रनित थापामगरले २३, अनिल शाहले १९ र रोहित कुमारले ११ रन बनाए । सिङ्गापुरका लागि आर्यमान सुनिल, जीए आहानले २–२ तथा रोहित रंगराजन तथा अंस भरगाभाले १–१ विकेट लिए ।
यो जितसँगै नेपालले २ अंक पाएको छ । नेपालको अर्को खेल भोलि मंगलबारमलेसियासँग खेल्ने छ ।