नेपालले गुमायो विश्वकप खेल्ने अवसर

-- नेपाली टाइम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १, २०७४

सिंगापुरमा आयोजना भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट क्रिकेटको जुलाई २५ को छनोट खेलमा अफगानिस्तानसंग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोटको सम्भावना समाप्त भएको छ । नेपाली युवा क्रिकेटरहरू अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि वर्ष २०१८ मा वर्ष न्युजिल्यान्डमा हुने यु–१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको हो ।

मलेसिया र आयोजक सिंगापुरसमेत सम्मिलित प्रतियोगिताको शीर्ष टोली न्युजिल्यान्ड भ्रमणको लायक हुनेमा नेपाल दोस्रो स्थानमा सीमित भयो । राउन्ड रोबिन लिग पद्धतिअनुसार दुई चरणमा गराइएको प्रतिस्पर्धामा नेपालले अफगानिस्तानविरुद्धका दुवै लेगमा फराकिलो हार सामना गर्नु परेको थियो । जसका कारण आयोजक सिंगापुर र मलेसियालाई दुबै लेगमा हराए पनि नेपाललाई न्युजिल्यान्डको यात्रा तय गर्न पर्याप्त भएन ।

ब्याटिङको कमजोरी सिंगापुरको मैदानमा लगातार उदांग हुँदा यु–१९ विश्वकपको १२औं संस्करणका लागि आठौं पटक छानिने नेपालको लक्ष्यमा ठूलै धक्का लागेको छ । यसअघि श्रीलंकामा २००० मा प्रतियोगिताको तेस्रो संस्करण हुँदा नेपाल पहिलो पटक १९ वर्षमुनिको विश्वकपलाई छानिएको थियो । पहिलो सहभागितामै समूह ‘सी’ बाट सुपर लिगलाई छानिएको नेपाल त्यसपछि २००२, २००४, २००६, २००८, २०१२ र २०१६ का संस्करणमा सहभागी भएको थियो । २०१० र २०१४ को संस्करणमा छनोट हुन असफल नेपाल यु–१९ विश्वकपमा अनुपस्थित हुन लागेको यो पाँचौं पटक हो ।

२००६ मा श्रीलंकामा प्लेट च्याम्पियन भएको नेपालको लगातार दोस्रो पटक छानिने सम्भावना जुलाई २५ का दिन अफगानिस्तानसंग ९६ रनको हारले औपचारिक रूपमा समाप्त भएको थियो । जुलाई २४ मा मलेसियालाई जित्दासम्म पनि फराकिलो नेट रन रेटका कारण नेपाल छनोट हुने सम्भावना एकदमै न्यून थियो । नेपाल छनोट हुन नाटकीय जितले मात्र सम्भव हुन्थ्यो । तर नेपाल प्रतियोगितामा दोस्रो पटक अफगानिस्तानसंग ठूलो अन्तरको हारपछि निराश हुँदै घर फर्कियो ।

अन्तिम खेलमा इब्राहिम जर्दानको शतक पूरा गरेपछि इन्डियन एसोसिएसन मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनको योगफल बनाएको थियो । १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा ९९ रन जोड्दा सबै विकेट गुमायो ।

अघिल्लो संस्करणमा पनि छनोट प्रतियोगिता मानिएको एसिसी यु–१९ प्रियिमर लिगमा नेपाललाई अफगानिस्तानले नै रोकेको थियो । यद्धपि, आइसिसीले पछि ग्लोबल क्वालिफायर खेलायो । उक्त प्रतियोगिताको फाइनलमा नेपालले आयरल्यान्डलाई हराउँदै बंगलादेशमा सम्पन्न विश्वकपको टिकट काटेको थियो । प्रशिक्षक विनोद दासले एक टोलीका रूपमा नेपाल विश्वकप छनोटका लागि योग्य भए पनि ब्याटिङ समस्याका कारण निराश हुनुपरेको प्रतिक्रिया दिएका छन् ।

‘समग्र प्रदर्शनका आधारमा नेपाल छनोटका लागि सक्षम टोली थियो, तर अफगानिस्तानले राम्रो क्रिकेट खेल्यो,’ प्रशिक्षक दासको भनाइ छ– ‘प्रतियोगिताभर हाम्रो ब्याटिङ चलेन । बाँकी दुई टोलीलाई सहजै हराए पनि हाम्रा ब्याट्सम्यानले लय भेट्टाउन संघर्ष गर्नुपर्‍यो । हामीले भन्दा अफगानिस्तानले राम्रो क्रिकेट खेल्यो ।’

एक इन्डबाट लगातार विकेट गए पनि अर्को इन्डबाट इब्राहिम जर्दानले परिपक्व प्रदर्शन गरेपछि अफगानिस्तान सम्मानजनक योगफल बनाउन सफल भएको थियो । तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्कंदा जर्दानले १ सय १४ बलमा ७ चौका र ५ छक्कासहित १ सय १ रन बनाए । प्रतियोगितमा २ सय १८ रन जोडेका जर्दान प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । १ सय ९५ रन बनाएका सिंगापुरका रोहन रंगराजन दोस्रो स्थानमा छन् । इक्रम अली खिलले २४, नाभिद ओबेदले २२, शाम्स उर रहमानले १५ तथा शैद बाहिर शाह महबुबले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका साहब आलमले ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने र पवन सर्राफको नाममा १/१ विकेट रह्यो । २४ विकेटका साथ कप्तान सन्दीप प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलर बने । दोस्रो स्थानमा रहेका अफगानिस्तानका मुजिब जर्दानले २० विकेट लिए । १२ विकेट लिएका साहब चौथो स्थानमा छन् । मसलमा चोट लागेपछि सन्दीपले मंगलबार पूरै ओभर बलिङ गर्न सकेनन् । तथापि प्रशिक्षक दासले सन्दीपको प्रशंसा गर्न छुटाएनन् । ‘सन्दीपले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे,’ प्रशिक्षक दासले भने, ‘दुर्भाग्य अन्तिम खेलमा सामान्य चोटका कारण पूरै ओभर बलिङ गर्न सकेनन् ।’

वास्तवमा केही वर्षअघिसम्म नेपालले क्रिकेटमा अफगानिस्तानलाई सजिलै हराउन सक्ने स्थिति थियो । त्यसयता नेपाली क्रिकेट कमजोर भयो । त्यसको ठीक उल्टो अफगानी क्रिकेटले ठूलो छलाङ मार्‍यो र आफ्नो खेलस्तरलाई अब्बल दर्जाको बनायो । अहिले स्थिति कस्तो छ भने नेपालले अफगानिस्तानको सामना गर्दा उसलाई हराउन नसकिने कमजोर मानसिकता देखिन थालेको छ । भर्खरै सम्पन्न आईसीसी यू–१९ विश्वकप छनौट यसैको एउटा उदाहरण थियो ।

सिंगापुरमा भएको छनौटको समाप्तिमा नेपालको यात्रा धेरै अर्थमा असफल रह्यो । असफलताको मापन रह्यो, आईसीसी यू–१९ विश्वकपमा छनौट हुन नसक्नु । अफगानिस्तान भने चार टिम सम्मिलित छनौट चरणको राउन्ड रोबिन लिगमा सबै खेल जितेर उक्त विश्वकपका लागि छनौट हुन सफल भएको छ । त्यसका लागि अफगानिस्तानले शतप्रतिशत नतिजा निकाल्यो ।

प्रतियोगितामा नेपालले दुई खेल गुमाएको थियो र दुवै खेल अफगानिस्तानविरुद्ध खेलिएका थिए । दुवै खेलमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । अफगानिस्तान १२ अंकसहित शीर्षमा रह्यो भने नेपाल ८ अंकमा सीमित भयो । त्यसपछि क्रमश: सिंगापुर र मलेसिया रहे । यी दुवै टिमले एक–एक खेल जिते । यी दुवै टिमविरुद्ध नेपालले राम्रो खेले पनि त्यसको अर्थ रहेन् । यी दुवै टिमविरुद्ध नेपालको ब्याटिङ खासै प्रभावकारी देखिएन, जितको आधार बलिङ मात्र रह्यो ।