२ सय ५५ रनले विजयी भयो नेपाल

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ २६, २०७४

काठमाडौं– मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज सोमबार भएको खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको छ ।
स्थानीय क्लव अमानको मैदानमा भएको खेलमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइल्याण्ड १० ओभरमा मात्र २६ रनमा समेटिएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८१ रन बनायो ।
नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । शतक बनाउनबाट ९ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे । प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए ।
नेपालको घातक बलिङका सामु थाइल्याण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।