साताको साहित्य पुरस्कार ‘प्रोल्लास सिन्धुलिय’लाई

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक २९, २०७४
अस्ट्रेलियाबाट संचालित  ‘साताकोसाहित्यडटकम’ ले  यस बर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलियको कविता ‘एउटा प्रश्न पत्र’ लाई प्रदान गरिने कुरा एक प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१६ देखि जुलाई २०१७ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसका अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि नवीन प्यासीको कविता ‘झुसिलकीरा’ र कवि सुशील सुब्बाको कविता ‘आमा, अधुरो यात्रासँगै’ छानिएका थिए ।
तत्पश्चात् निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘एउटा प्रश्न पत्र’ लाई चयन गरेका हुन् । लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन् । ‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेभसाइटमा अगष्ट देखि जुलाई सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनौट गर्दछ । यस अघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली र बोनम प्रतापका रचनाहरूलाई प्रदान गरिएको थियो । प्रोल्लास सिन्धुलिय ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने छैटौँ लेखक हुन् ।