मेलम्चीको २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता लाग्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नदीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता समय लाग्ने भएको छ ।

हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

यही फागुन २६ गते भित्र पानी सुन्दरीजलमा आइपुग्नेछ ।

मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुन्दरीजलस्थित महाँकालमा रहेको सुरुङभित्रको ढोका बन्द गरेर सिसी क्यामराको सहायताले सुरुङ भित्रको पानीको अवस्था हेरिरहेको उहाँले जानकारी दिनुभयो ।

मेलम्ची खोलाको पानी मध्ये थोरै पानी परीक्षणका लागि पठाइएकाले सुरुङ भरिँदै पानी अगाडि बढाइएको हो ।

पानी पठाएसँगै पानीको चुहावटदेखि सबै कुरा चेकजाँच गर्नको लागि टनेलभित्र प्रेसर सेन्सर राखिएको समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको कार्यकारी निर्देशक खत्री बताउनुहुन्छ ।

सुरुङमा हालिएको पानी चुहावट भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्नेदेखि अन्य विभिन्न तयारी भइरहेकोे छ ।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

सुरुङ पानी परीक्षणका क्रममा धेरै पानी एकै पटक पठाउन नहुने प्राविधिकहरु बताउँछन् धेरै थोर पानी पठाउँदा पानी सुन्दरीजाल आइपुग्न समय लागेको अधिकारीहरु बताउँछन् ।

फागुन १० गते खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोलीको सहभागिता थियो ।

परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्नेछ ।

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।

आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ ।

पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरे पछि उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ ।

तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने बताइएको छ ।

पानी फाल्न नै करीब दुई हप्ता लाग्छ त्यसपछि त्यसको पुनः जाँचका लागि एक हप्ता र त्यसक्रममा देखिएका केही लिकेज टाल्न समय लाग्छ ।

पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै जमाएर सुरुङमा त्रुटी नभएको निश्चित गरिने अनि मात्र खानेपानी वितरण हुने बताइएको छ ।

परीक्षण सफल भएको खण्डमा दुई महिनामा काठमाडौंका धारामा मेलम्चीको पानी आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको दश दिनमा हेलुम्बु गाउँपालिका– १ अम्बाथानको अडिटको मुख्य गेट फुटेर परीक्षण असफल भएको थियो ।

विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच र मर्मत सम्पन्न गरी पानी पठान्तरण सुरु गरिएको आयोजनाले जनाएको छ ।

२२ वर्ष अघि मेलम्ची खानेपानी विकास समिति गठन भई मेलम्ची पानी काठमाडौं पथान्तरण सुरु भएको आयोजना पटक पटकको समय सीमा बढाई गत असारमा निर्माण सम्पन्न भएको हो ।