अख्तियारको नजरमा कनकमणिको भ्रष्टाचारका दोषहरु

-- / प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७३

रासस,
भ्रष्टाचार अभियोगमा पक्राउ परेका पत्रकार तथा साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा देश विदेशमा करोडाैं सम्पत्ति भेटिएको दाबी अख्तियार दुरूपयोग अनुसन्धान अायोगले गरेको छ ।

अख्तियारका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, पत्नी शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ ।

कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारतको दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।

त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट लिएको ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको अख्तियारको भनाइ छ । विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत पाँच करोड आम्दानी गरेको देखिएको छ भने आम्दानी भन्दा बढी खर्च भएको सात करोडको आधार प्रष्ट नदेखिएको जनाइएको छ ।

दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको अख्तियारको दाबी छ । उनले ललितपुर लामाटार–७ मा अवस्थित जग्गा कीर्ते गरी बेचबिखन गर्दा मोही र गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट ट्रेडिङ कर्पोरेसनलाई तिर्नुपर्ने एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार ५८९ अझैसम्म नतिरेको पाइएको छ । यसले सरकारी संस्थालाई घाटा पुर्याएको अध्ययनबाट देखिएको छ ।

यसैबीच विशेष अदालतले दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्य प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले अनुसन्धानका लागि पक्राउ परेको मितिले १० दिन थुनामा राख्न आदेश दिएको हो ।

अकुत सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई शुक्रबार पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आर्इसीयू) मा उपचाररतदीक्षितलाई भने अदालतमा उपस्थित गराइएको थिएन ।