राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ द्वारा वरिष्ठ पत्रकार अधिकारी सम्मानित 

-- The NTA / प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७३
Dhurba hari adhikaryप्रथम राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र संस्थानको ११६औँ वार्षिक उत्सवका अवसरमा गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ द्वारा पहिलोपटक वरिष्ठ पत्रकार धुर्बहरि अधिकारीलाई सम्मान गरिने भएको छ । नेपाली पत्रकारिताको इतिहासमा यो नयाँ सुरुवात हो । नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुराउनु हुने राष्ट्रियस्तरका वरिष्ठ पत्रकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई सम्मान गर्न गोरखापत्र संस्थानले स्थापना गरेको सो पुरस्कार यस वर्ष उहाँलाई प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ५५ हजार ५५५ रुपियाँ र सम्मानपत्र रहेको छ । वैशाख २४ गते पत्रकार अधिकारीलाई सो सम्मान गर्ने कार्यक्रम रहेको छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक तथा छनोट समितिका संयोजक सुशील कोइरालाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले वरिष्ठ पत्रकार अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको जनाईएको छ । समितिको सदस्यमा गोरखापत्रका प्रधानसम्पादक पुष्कर माथेमा, प्रबन्ध सम्पादक श्रीओमप्रसाद श्रेष्ठ ‘रोदन’ र नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट रहनुभएको थियो ।
सरकारले गोरखापत्रको प्रकाशन भएको पहिलो दिन वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेपछि गत वर्ष चैत २२ गते गोरखापत्र संस्थान सञ्चालक समितिले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । गत वर्ष फागुन १७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको हो ।
वि.सं. २००९ जेठ २२ गते ओखलढुङ्गामा जन्मनुभएका वरिष्ठ पत्रकार अधिकारीले सन् १९७८ मा बीबीसी लन्डनको नेपाली सेवाबाट पत्रकारिता सुरु गर्नुभएको थियो । उहाँ गोरखापत्रमा २०३६ देखि २०४७ सालसम्म कार्यरत हुनुहुन्थ्यो । हाल पनि उहाँ पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ हाल सेन्टर फर मिडिया फ्रिडमको अध्यक्ष र नेपाल प्रेस इन्स्टिच्युटका सदस्य हुनुहुन्छ । राणा प्रधानमन्त्री देवशम्शेरले आजभन्दा ११६ वर्षअघि गोरखापत्रको शुरुवात गरेका हुन । केवल गोरखापत्र दैनिकले सो दिनलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउँथ्यो तर यसपाला भने सरकारले पहिलोपटक मुलुकको जेठो समाचारपत्र प्रकाशनको दिन अर्थात वैशाख २४ लाई नेपाली पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको छ । यो वास्तवमै नेपाली पत्रकारिता क्षेत्रका लागि ठूलो उपलब्धि हो । ढिलै भए पनि सही काम सुरु भएको छ । यही वैशाख २४ गते मनाइने पहिलो राष्ट्रिय पत्रकारिता दिवस नेपाली पत्रकारिताको समग्र पक्षको विकासका लागि एउटा कोशेढुङ्गा हुनेछ । हिजोसम्म गोरखापत्र दैनिकको निजी दिवसकारूपमा खुम्चिएको वैशाख २४ को महिमा र महत्व अब भने राष्ट्रव्यापी हुनेछ ।
विक्रम सम्वत् १९५८ वैशाख २४ गते पहिलो समाचारपत्रका रूपमा गोरखापत्रको साप्ताहिक प्रकाशन सुरु भएको थियो । त्यसपछिको गोरखापत्रको यात्रा आरोह अवरोहबीच अघि बढेको देखिन्छ । प्रजातन्त्रको जगमा नेपाली पत्रकारिता क्षेत्रको सख्यात्मक विकास भए पनि यसको गुणात्मक र आचरणगत विकासमा भने अझै बाधा अड्चन कायमै देखिन्छ । यस्ता तमाम समस्या र चुनौतीको पहिचान र निदानका लागि पहिलो नेपाली पत्रकारिता दिवस सार्थक बनाउने क्षमता हामीमा विकास हुन आवश्यक छ । यो वर्षदेखि औपचारिकरूपमा हामीले मनाउन लागेको राष्ट्रिय पत्रकारिता दिवस यिनै सन्दर्भलाई सम्बोधन गर्न सक्ने हैसियतमा प्रेरणादायी बन्न सकोस यहि अवसरमा पुरस्कृत हुनुहुने वरिष्ठ सञ्चारकर्मी, हाम्रा अग्रज एबम द नेपाली टाईम्स अस्ट्रेलियाका सम्पादकिय सल्लाहाकार धुर्बहरि अधिकारीलाई हार्दिक बधाई ।