थामिएनन् आँसुः पत्रकार सूर्यकुमार क्षेत्रीलाई श्रद्धाञ्जलि

-- / प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७३

काठमाडौँः पत्रकार सूर्यकुमार क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रतिभा गुमाएको छ । पत्रकार क्षेत्रीको बिहिबार राती ९ः१५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । क्षेत्री ब्रेन ट्युमर पीडित थिए ।

नेपालीकला डटकमका सम्पादक क्षेत्रीले लामो समय उज्यालो नेटवर्क र नेपालवाणी नेटवर्कमा काम गरेका थिए । क्षेत्रीले पत्रकारिता यात्राको सुरुवात भने पाल्पाबाट गरेका थिए ।
पत्रकारिता बाहेक गीत संगीत क्षेत्रमा समेत क्षेत्रीको उल्लेखनीय योगदान रहेको छ । पत्रकार एवं गीतकारको परिचय बनाएका क्षेत्रीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार केही समय नेपाल प्रज्ञा प्रतिष्ठानमा राखेर अन्तिम संस्कारका लागि गृहजिल्ला स्याङजा लगिएको छ ।

३३ वर्षीय क्षेत्री दुई वर्षदेखि ब्रेन ट्युमरको समस्याले पीडित थिए । विसं २०७१ मङ्सिरमा ब्रेन ट्युमर देखिएपछि उनको भारतमा सफल शल्यक्रिया गरिएको थियो ।

क्षेत्री पत्रकारिता, गीतसंगीत सँगै कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनमा समेत संलग्न थिए । क्षेत्री प्रेस युनियनका सचिव थिए ।

क्षेत्रीको निधनप्रति कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगी क्षेत्रीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

सभामुख ओनसरी घर्ती मगरले समेत प्रज्ञा भवन पुगेर क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री शेरधन राई, उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रज्ञा प्रतिष्ठान पुगेर श्रद्धाञ्जली दिए ।

क्षेत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, एनपी साउद, चन्द्र भण्डारीलगायत प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

त्यस्तै, नेपाल पत्रकार महासङ्घले पत्रकार सूर्यकुमार क्षेत्रीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरले शुक्रबार विज्ञप्ति जारी गरी क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, निर्भिक र युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।

‘महासंघ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।