गैरआवासिय नेपाली संघ क्षेत्रिय सम्मेलनका लागि समिति गठन, न्यूयोर्कमा सामुदायिक भवन बन्दै

-- The NTA / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७३

usa photo

गैरआवासिय नेपाली संघ अमेरिकाको क्लोराडोमा सम्पन्न बैठकले आगामी अगष्टमा हुन गैरहेको क्षेत्रिय सम्मेलनका लागि अमेरिका क्षेत्रका संयोजक सोनाम लामाको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति गठन भएको छ । समितिमा क्षेत्रिय सहसंयोजक एसी शेर्पा, अमेरिकाका अध्यक्ष केशव पौडेल, पुर्व महासचिव रतन झा, पुर्व अध्यक्ष आईसिसि सदस्य खगेन्द्र जिसी, आईसिसि सदस्य नवराज गुरुड, एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटा, अमेरिकाका उपाध्यक्ष कृष्ण पोख्रेल, महासचिव तिलक श्रेष्ठलगायत रहेको नौ सदस्यीय समितिले सम्मेलनका लागि आवश्यक तयारी शुरु गरेको क्षेत्रिय संयोजक सोनाम लामाले बताए । गठित समितिले सम्मेलनमा सहभागी हुनेहरुको लागि निमन्त्रणा पठाउनेदेखि लिएर सम्मेलनका लागि चाहिने सबै खाले बन्दोबस्त गर्नेछ भने थप तयारीका लागि अरु विभिन्न समितिहरु गठन हुने सहसंयोजक एसी शेर्पाले बताए ।
त्यसैरी १५ देखि २५ लाख अमेरिकी डलरको लगानीमा अमेरिकाको न्यूयोर्कमा पहिलो चरणमा गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले नेपाली समुदायको ठूलो बसोवास रहेको न्यूयोर्कमा समुदायिक केन्द्र खोल्ने औपचारिक निर्णय गरेको संयोजक लामाले बताए । उनका अनुसार त्यो सामुदायिक केन्द्र विस्तारै अरु राज्यहरुमा पनि विस्तारित गरिने लक्ष्य लिईएको छ ।
सो क्षेत्रिय सम्मेलनमा ७३ राष्ट्रबाट एनसिसि, आईसिसि, क्षेत्रिय समिति, अन्तर्राष्टिय समन्वय समितिलगायतको सहभागीता हुने भएकोले त्यसलाई सफल बनाउन क्षेत्रिय समितिले काम थालेको सहसंयोजक शेर्पाले बताए । क्लोराडोमा सम्पन्न बैठकमा अमेरिकामा सदस्यता विस्तार गर्ने निर्णय पनि गरेको छ । विश्वभर रहेको एनसिसिमध्ये अमेरिकामा सबै भन्दा धेरै साँढे १० हजार भन्दा बढी सदस्य रहेको र आगामी दिनमा त्यसलाई दोव्वर भन्दा बढी बनाउन सकिने भएकोले सदस्यता वितरणका लागि छुटै कार्यक्रम नै गरिने सहसंयोजक शेर्पाले बताए भएको हो । अमेरिकाका विभिन्न राज्यहरुबाट सदस्यताका लागि माग भएपछि बढाउन लागिएको हो । हरेक दुई बर्षमा गरिने क्षेत्रिय सम्मेलन ६ वटा क्षेत्रमा गर्दा १२ बर्षमा एक पटक सम्बन्धित क्षेत्रको पालो आउने हुनाले हरेक एनसीसीले त्यसलाई काम गर्ने अवसरका रुपमा लिन्छन ।
सो क्षेत्रिय सम्मेलनमा विश्वका ६ वटै क्षेत्रका क्षेत्रिय संयोजक, सहसंयोजक, आईसिसि सदस्यहरु, अन्तर्राष्टिय समन्वय परिषदका पदाधिकारीहरु, सल्लाहकारहरु, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने छ ।
नेपाली समुदायको उल्लेख्य उपस्थिति भएको न्युयोर्कमा पहिलोपल्ट खोल्न लागिएको सामुदायिक केन्द्र विस्तार गर्ने क्रममा अन्य मुख्य शहरहरुमा पनि लैजाने योजना रहेको एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेलले बताए ।
नेपाली समुदायको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै सामुदायिक गतिविधिका साथै विभिन्न प्रकारका सभा सेमिनार गर्न मिल्ने खालको सेवा दिन यस्तो केन्द्र स्थापना गर्न लागिएको हो ।
स्थायी रूपमा अमेरिका बस्नेले तोकिएका फारम भरेर १० डलर तिरेपछि सदस्य हुन पाइन्छ । एनआरएन अमेरिका अध्यक्ष पौडेलका अनुसार एनआरएनप्रति बढ्दो चासोको कारण सदस्यता वितरणलाई एक अभियानकै रुप दिन लागिएको हो ।
अमेरिकामा कानुनी र गैरकानुनी रूपमा करिब ३ लाख नेपाली रहेको अनुमान छ । यो जनसंख्या बढ्दो क्रममा छ । सदस्यता विस्तारलाई बढवा दिने यसलाई छानविनका लागि सुझाव दिन कार्यसमितिभित्र आन्तरिक समिति पनि बनाईएको छ । एनआरएन अमेरिकाले एक बर्ष भित्र नेपालमा गएको महाभूकम्प प्रभावितका लागि सहयोग लगायत विभिन्न १० कामहरु गरेको विवरण पनि एनआरएनले सर्वाजनिक गरेको छ । गत बर्षको महाभूकम्पका वेला एनआरएनले २ लाख ६६ हजार अमेरिकी डलर सहयोग संकलन गरेको र २ लाख भन्दा वढी राहत र पुर्ननिमार्णमा खर्च भएको विवरण पनि सार्वजनिक गरेको छ ।
सो बैठकलगत्तै एनआरएन अध्यक्ष शेष घलेसँग पनि क्षेत्रिय संयोजक लामा र सहसंयोजक शेर्पालगायत एनआरएन अमेरिका पदाधिकारीहरुसंगको टेलिफोन कुराकानीमा आगामी क्षेत्रिय सम्मेलनको रणनीतिको बारेमा कुरा हुँदा एनआरएनको केन्द्रिय कार्यालय बनाउने काम पनि अन्तिम चरणमा पुगेको विषयमा पनि छलफल भएको बताइएको छ ।
एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष बासुदेव खनालले डेनभरमा नेपाली समुदायिक केन्द्र (कम्युनिटी सेन्टर) स्थापनाका लागि सहयोग गर्ने आग्रह गरेका थिए । खनालले नेपाली भाषा कक्षा र अन्य समुदायलाई हितहुने क्षेत्रमा आफुहरुले कामगर्ने चाहेको आग्रह गरे । एनआरएन अमेरिकाका डा केशव पौडेलको अध्यक्षता तथा कोलोराडोमा च्याप्टर अध्यक्ष बासुदेव खनालको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।