घले दम्पती अष्ट्रेलियाका १ सय ५औं धनी

-- नारायण खडका / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४, २०७३

अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यसबर्ष पनि अष्ट्रेलियाका धनीको सूचीमा नामांकित बनेका छन् । अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष यहाँका धनीहरुको सूची सार्वजनिक गर्दै आएको छ । उक्त पत्रिकाले आज शुक्रबार सार्वजनिक गरेको २ सय धनीको सूची अनुसार गतबर्ष ९९सयौं र १सयौं धनीको सुचीमा नामांकित बनेका घले दम्पती यसबर्ष भने १ सय ५औं नम्बरमा अटाएका छन् । सूचीमा केही तल परेपनि उनीहरुको सम्पती भने गतबर्षको भन्दा करिब ६० मिलियन डलरले बढेको तथ्यांक पत्रिकाले सार्वजनिक गरेको छ । गतबर्ष उनको सम्पती ५ सय २८ मिलियन रहेकोमा यो बर्ष बढेर ५ सय ८६ मिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ ।
करिब दुई दशकअघि अष्ट्रेलिया आएर सामान्य बिद्यार्थी सरह दु:ख गरेका घलेले आफ्नो मेहनतले यहाँसम्मको यात्रा तय गरेका हुन् । मेलबर्नमा रहेको मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी र घरजग्गाको ब्यवसाय समेत गर्दै आएका घले हालै काठमाडौमा सम्पन्न निर्वाचनबाट दोस्रो कार्यकालका लागि प्रवासी नेपालीहरुको संगठन एनआरएनएको अध्यक्ष समेत चुनिएका थिए । उनले अर्बाैको लगानीमो काठमाडौमा ५ तारे होटल समेत सञ्चालनको तयारी गरिरहेका छन् ।
पत्रकारसँगको कुराकानीमा घलेले आफु कति नम्बरमा परियो वा के भयो भन्ने भन्दा पनि मेहनत र लगनका साथ आफ्नो काममा लाग्ने हो भने जोसुकै सफल हुने बताएका थिए । उनले आफुले नेपालमा समेत लगानी बृद्धि गर्ने जानकारी गराएका थिए । पछिल्लो समयमा नेपालमा गएको महाभूकम्पमा आफै घटनास्थलमा खटिएर काम गरेकाले उनले प्रशंसा मात्र बटुलेका छैनन् कि एनआरएनले पीडितका लागि बनाइदिने भनेको एक हजार घर निर्माणमा समेत लागिपरेका छन् ।