परोपकारी भालिबल सम्पन्न 

-- The NTA / प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
paropakri-voleball-1पश्चिम नेपालको अति विकट ग्रामिण ईलाकामा शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउँदै आईरहेको शान (Supporting Hands Australia Network) ले यस वर्ष पनि तिनै दुरदराजमा सेवा पुर्याउने उद्देस्य राखेर आयोजना गरेको परोपकारी भालिबल प्रतियोगिता सम्पन्न भएको छ । एक दिवसिय उक्त भालिबल प्रतियोगिता हिजो २५ अक्टोबर आईतवारका दिन म्यारिकभिलस्थित पिसिवाईसी क्लबको हलमा सम्पन्न भएको हो । सात टिमले भाग लिएको उक्त रोमान्चक खेलमा बाग्लुंग युथले प्रतियोगिताको उपाधि जित्न सफल भयो । बाग्लुंग युथले पोखरा क्लवलाई पराजित गर्दै सो खेलको उपाधि जितेको हो । यस अगाडी नया (Nepalese Australian Youth Association) लाई सेमीफाईनलमा पराजित गर्दै पोखरा क्लव र मोना (Myagdi Overseas Nepalese Association) लाई पराजित गर्दै बागलुंग युथ फाईनलमा प्रवेश गरेका थिए । खेलमा सहभागी जलजला परिवार, थकाली समाज तथा सेन्ट जोर्ज नेप्लिज समुह भने उत्कृष्ट खेलहरु पर्दर्शन गर्दै नक-आउट चरणमा बाहिरिएका थिए ।

अर्को तर्फ शानले विगतका वर्षहरुमा गरेको सामाजिक कार्यहरुबाट प्रभावित भई विजेता समुह बागलुंग युथ र उप विजेता पोखरा क्लव दुवैले आफुले पुरुस्कार स्वरुप प्राप्त गरेको, पुरस्कारको राशि संस्थालाई नै फिर्ता गरेका छन्। शानका अध्यक्ष हरि क्षेत्रीलाई रकम हस्तान्तरण गर्दै उक्त रकम समेत परोपकारी कार्यमा नै लगाउन समेत अनुरोध गरे ।

paropakri-voleball-2   paropakri-voleball-3

संस्थाका अध्यक्ष क्षेत्रीले खेलाडीहरुको सो कदमको मुक्तकण्ठले प्रशंसा गर्दै शान सम्पूर्ण खेलाडीहरूप्रति ऋणी रहेको बताएका छन् । स्मरणरहोस् शानले यसपूर्व म्याग्दी जिल्ला अस्पतालमा शैय्या परिवर्तन, बागलुंगको जैदीमा रहेको पृथ्वी प्रावीको भवन निर्माण, सुदुर पर्वतको विनु माविको भवन निर्माण, वहिरा विद्यार्थीका लागि पश्चिमान्चलका विभिन्न जिल्लाहरुमा स्वरोजगारमूलक चित्रकला तालिम प्रदान, प्यूठानको लुप्लुंग माविको भवन निर्माण लगायत दर्जनौं कार्यहरुमा सहयोग पुर्याईसकेको छ ।