रहिनन् जय ललिता

-- / प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३

jay-lalita

काठमाडौं— भारतको तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको हिजो सोमबार राती उपचारका क्रममा निधन भएको छ । अघिल्लो राती हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी मुख्यमन्त्री जय ललिताको हिजो राती ११ः३० बजे मृत्य भएको चेन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ ।
६८ वर्षीया जय ललितालाई गत तीन महिनादेखि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार मंसिर राति हृदयघात भएर अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा सारिएकी मुख्यमन्त्री जयललिताको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा हजारौं मानिसहरु भेला भएका थिए । मध्यरातमा उनको मृत्युको घोषणा भएसँगै दक्षिणी राज्य तमिलनाडुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उनका कट्टर समर्थकहरुले त्यहाँ अशान्ति मच्चाउन सक्ने खतरा रहेको भन्दै थप प्रहरीहरु परिचालन गरिएको छ ।
जयललिताका सबैभन्दा नजिक मानिने पनीरसेल्वमलाई तमिलनाडुको नयाँ मुख्यमन्त्रीमा राती नै नियुक्त गरिएको छ । जनतामाझ निकै चर्चित रहेकी जय ललिताले दक्षिण भारतीय फिल्महरुमा अभिनय समेत गरेकी थिइन् । उनका परिचितहरुले उनी वकिल बन्न चाहेको तर भाग्यले उनलाई पहिला अभिनयतिर र पछि राजनीतिमा धकेलेको बताउँन् तर यी दुवै क्षेत्रमा उनको यात्रा सहज थिएन ।
१ सय ४० वटा फिल्ममा अभिनय गरेकी उनले ८ पटक विधानसभाको चुनावमा लडेकी थिइन् । त्यस्तै एकपटक राज्यसभामा मनोनित भएकी उनी तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिन् । जय ललितालाई धेरैले श्रद्धा गर्ने भए पनि उनका आलोचकहरुले भने उनमा घमण्डीपना भएको बताउँथे । सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन्।