नेपाल घुम्न आग्रह गर्दै सिड्नीमा कार र्‍याली

-- The NTA / प्रकाशित मिति : सोमवार, पुस २५, २०७३
नेपालको पर्यटन प्रबद्र्धन गर्ने र नेपालका बारेमा आफु बसेको शहरमा थप जानकारी दिने उद्देश्यले सिड्नीका युबाहरु ले एक फरक तरिका सहित सिड्नीमा एक कार र्‍याली आयोजना गरे। करिब ३ दर्जन कारहरु सम्मिलित उक्त र्‍यालीले गत शनिबार ७ जनवरीको दिन सिड्नीका मुख्य शहरहरुको परिक्रमा गरेको थियो । आफ्नो  कारको पछाडि नेपाल र नेपाली पर्यटनको
प्रर्बद्धन हुने पर्चाहरु टासिएको थियो भने उक्त र्‍यालीलाई सडकमा हिडिरहेकाहरु ले समेत उत्साह र चासोका साथ हेरेका थिए। कोही कोहीले मोबाइलले आफ्नो क्यामरामा उक्त र्‍यालीलाई कैद गर्न समेत भ्याएका थिए ।
नेपाली झण्डा र नेपालको प्रचारप्रसारयुक्त सामाग्री बोकेका कारहरुले २ घण्टासम्म १ सय ५ किलोमिटर सिड्नीको शहर परिक्रमा गरेको थियो जसमा बिशेष गरेर युवाहरुको सहभागिता रहेको आयोजकहरुले जानकारी दिए । आफ्नो मुख्य उद्देश्य नै नेपाली पर्यटन प्रबद्र्धन गर्ने र यहाँका बिेदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने रहेकाले आफुहरुको उद्देश्य सफल बनेको उनीहरुले दाबी गरे । 
जय नेपाल फाउण्डेसन र नेप्लिज युथ फोरम अष्ट्रेलियाको सक्रियता र यहाँका युवाहरुको सहभागितामा सम्पन्न उक्त र्‍याली रकडेलबाट ब्राइटनबिच हुदैै सिड्नीको टाउन हल, सेन्ट्रल, लगायतका स्थानहरुलाई परिक्रमा  गरि रकडेल पुगेर समापन भएको गरेको आयोजक संस्था जय नेपाल फाउण्डेसनका बिष्णु सापकोटाले जानकारी दिए ।
पारदर्शी रुपमा र निर्मित र यहाँको यतायत सम्बन्धि संस्थाबाट समेत अनुमोनित आफ्नो कारको पछाडि राख्न मिल्ने गरि बनाइएको उक्त स्टिकरमा, नेपालको पर्यटन सम्बन्धि जानकारीहरु सहित बुद्ध, सगरमाथा, कुमारी लगायतको चित्रहरु कोरिएको छ । १ सय ३० डलर पर्ने उक्त स्टिकरलाई गाडी धनीहरुले आफ्नै खर्चमा लगाएको अर्को संस्था युथ नेप्लिज फोरमका महासचिव अरुण गौतमले जानकारी दिए । उक्त स्टिकरमा नेपाललाई आफ्नो आऊँदो छुट्टी मनाउने स्थानको रुपमा छनौट गर्न आग्रह गरिएको छ । 
आयोजकका अनुसार अहिलेसम्म करिब ३ दर्जन कारमा उक्त प्रचारात्मक स्टिकर लगाइसकिएको छ भने अन्य बिभिन्न स्थानहरुबाट समेत माग गरिएको आयोजकले जानकारी दिएको छ । सापकोटाले दोस्रो चरणको रुपमा सिड्नीमा गुड्ने १० वटा सार्वजनिक बसमा यस्तै किसिमको प्रचारात्मक स्टिकर लगाउने तयारी गरिएको छ । उक्त कार्यका लागि प्रत्येक बसले महिनाको १ हजार ८ सय डलरसम्म शुल्क लिने भएकाले सहयोगका लागि सबैलाई आग्रह् समेत गरिएको छ ।