राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका सार्वजनिक

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्वाचन आयोगले फेब्रसरी ७ (२४ माघ) बुधबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले २१ जनवरी (७ माघ) मा मतदाता नामावली प्रकाशन गर्ने, २३ जनवरीमा अन्तिम नामावली प्रकाशन गरी २४ जनवरीमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २९ जनवरी (१५ माघ) मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र ७ फेब्रअरी (२४ माघ) मा बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेको आयोगले जनाएको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ छ ।

राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । तीमध्ये प्रत्येक प्रदेशबाट महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुनेछन् ।

त्यस्तै ७ जना जिल्ला न्यायाधीशलाई २७ पुसदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्ने र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २९ गते स्थापना गर्ने पनि आयोगले निर्णय गरेको छ ।