सौराहामा मिस नेपालका प्रतिस्पर्धि

-- / प्रकाशित मिति : सोमवार, चैत्र ८, २०७२

Miss Nepal
चितवन— मिस नेपाल–२०१६ का प्रतिस्पर्धि १९ सुन्दरीहरु चार दिने सौराहा भ्रमणपछि आज सोमबार काठमाडौं फर्किँदै छन् । चितवनको सौराहास्थित प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको निमन्त्रणामा गत शुक्रवार सौराहा पुगेका उनीहरु आज सोमबार दिउँसो सौराहाबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।
वन्यजन्तु तथा प्रकृति संरक्षणबारे जानकारी लिने उद्देश्यले ‘फ्यान्टा द हिडन ट्रेजर मिस नेपाल— २०१६’ का सहभागी सुन्दरीहरु काठमाडौंदेखि सौराहासम्म पुगेका हुन् । शुक्रवारदेखि सोमबार बिहानसम्म उनीहरुले संरक्षणसम्बन्धी जानकारी लिने तथा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन निकुञ्जको स्थलगत भ्रमण गरे । सौराहा पुगेको पहिलो दिन गत शुक्रवार उनीहरू संरक्षण कोषद्वारा आयोजित गोष्टिमा सहभागि भएर संरक्षणबारे जानकारी दिए । भ्रमणको पहिलो दिन १९ जना मध्ये केही सुन्दरीहरु हात्ती सफारीमा रमाए बाँकि सुन्दरीहरुले भोलिपल्ट सफारी गरेका थिए । भ्रमणको दोस्रो दिन उनीहरुले जंगल सफारी गर्दै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयको समेत भ्रमण गरे । त्यसक्रममा उनीहरुले निकुञ्ज भित्र रहेको कसरास्थित घडियाल प्रजनन केन्द्रको समेत भ्रमण गरेका थिए । भ्रमणको तेस्रो दिन हात्ति प्रजनन केन्द्र तथा बाघमारा सामुदायिक वनको भ्रमण गरेको उनीहरु चौथो दिन चितवनको भरतपुरस्थित बोटलर्स नेपालको भ्रमण गर्दै काठमाडौं फर्किएका हुन् ।
‘चार दिनसम्म मिस नेपालका प्रतिस्पर्धीलाई कन्जरभेसनका बारेमा संरक्षणकर्मी र सम्बन्धित ठाउँमा घुमाएर जानकारी गराएको छ,’ आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीका अनुसार यस्ता कार्यले संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तस्बिर : कृष्ण भट्टराई