नेपाल महोत्सबको तयारीमा जुट्दै पर्थका नेपालीहरु
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले बिगत केहि बर्ष देखि नेपाली, कला, संस्कृती, भाषा र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले गर्दै आइरहेको नेपाल चिनाउने महोत्सब अर्थात नेपाल महोत्सब अष्ट्रेलियाका लगभग सबै शहरहरुमा हुदै आइरहेको छ । यसै क्रममा नेपाल महोत्सबको शुरुवात पश्चिम अष्ट्रेलिया बाट हुन लागेको र यसको तयारीमा आयोजकहरु जुटिरहेका छन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आयोजना र त्यहाँका सबै संघ संस्थाको सहकार्यमा दोश्रो पटक हुन लागेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, झाँकीहरुका साथै नेपालको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न स्टलहरु समेत रहने नेपाल महोत्सव संयोजक दीपक शर्माले द नेपाली टाईम्स अष्ट्रेलियालाइ जानकारी दिए । एनआरएन पश्चिम अष्ट्रेलिया राज्य समितिले यही मार्चको ३१ तारिखमा पर्थको एलिजाबेथ क्युमा आयोजना गरेको उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै नेपाली समुदायका प्रतिनिधिहरुहरु, एनआरएनएका प्रतिनिधिहरु, दुतावासका अधिकारीहरु र पश्चिम अष्ट्रेलियास्थित उच्च राजनैतिक नेतृत्वहरुको उपस्थिती रहने शर्माले बताए । पश्चिम अष्ट्रेलियाले चार बर्ष पछी पर्थमा दोश्रो पटक नेपाल महोत्सब आयोजना गर्न लागेको हो। यसै सिलशिलामा गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले पर्थका स्थानीय संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मुल आयोजक समुह निर्माण गरि महोत्सवको सम्पूर्ण प्रारम्भिक तयारी सुरु गरीसकेकोछ । ‘हामीले प्रत्येक दुईबर्षमा आयोजना गर्ने प्रयास गरेको भएपनि पर्थमा यो चारवर्षपछि हुन लागेको हो,’ एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक समेत रहेका शर्माले भने । महोत्सवले पर्थमा नेपाली समुदायको कलासंस्कृति र परम्पराको पहिचानमा अभिबृद्धि हुने मात्र नभई नेपाली समुदायको पहिचानलाई समेत बलियो बनाउने उनको दाबी छ ।
महोत्सवमा नेपाल झल्कने बिभिन्न झाँकीहरुको प्रस्तुती रहनेछ भने पर्थको मुख्य शहरमा नेपाल परेडको समेत आयोजना गरिनेछ । कार्यक्रमलाई सांगीतिक बनाउन लागि कुटुम्बको अलग प्रस्तुति रहने आयोजले बताएको छ । यसका साथै नेपाली खाना, ब्यवसाय लगायतका बिभिन्न स्टलहरु समेत महोत्सवको मुख्य आकर्षण हुने उनले बताए । एनआरएन अष्ट्रेलियाले आफ्ना विभिन्न राज्यहरुमा रहेका समिति मार्फत प्रत्येक दुईबर्षमा यहाँका विभिन्न राज्यहरुमा नेपाल महोत्सवको आयोजना गर्ने गरेको छ ।