यस्तो छ मोदीको दोस्रो दिनको कार्यक्रम

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंबाट आज शनिवार बिहान मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्ने कार्यक्रम छ । बिहान ६ बजेपछि मुक्तिनाथका लागि मोदी भारतबाटै ल्याइएको विशेष हेलिकोप्टरबाट मुक्तिनाथतर्फ जान लागेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन र पूजा गर्नुका साथै त्यहाँ नागरिक अभिनन्दन समेत ग्रहण गर्नेछन् । शुक्रबार जनकपुरधामबाट नेपाल यात्रा सुरु गरेका मोदीले यो भ्रमणलाई धार्मिक भ्रमणका रुपमा पनि चित्रित गर्न खोजेका छन् । उनले शुक्रबार जानकी मन्दिरमा १५ मिनेटभन्दा बढी समय पूजाआजा गरेका थिए ।

कार्यतालिका अनुसार बिहान साढे ८ बजे मोदीले मुक्तिनाथमा पूजा गर्नेछन् । मुक्तिनाथबाट भारतीय प्रधानमन्त्री मोदी साढे १० बजे काठमाडौं फर्किएर सिधै पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि पुग्ने कार्यक्रम छ ।

पशुपति नाथमा पूजा सकेर मोदी आफू बसेको होटल हायातमा साढे ११ बजे पुग्ने कार्यतालिका छ। होटल हायातमा भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।

होटल हायातबाट मोदी राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सहभागी हुन निस्कनेछन् । राष्ट्रियसभा गृहमा दिउँसो ३ बजे भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदी दिउँसो ४ बजे नयाँ बानेश्वर, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुने कार्यक्रम छ ।