रुशालाई मिस इन्डिजिनियसको उपाधि

-- / प्रकाशित मिति : आइतवार, चैत्र १४, २०७२

Winner

काठमाडौं— यो वर्षको ‘एईसीसी ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को उपाधि रुशा मानन्धरले जितेकी छन् । काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, चाँदीको क्राउन तथा अन्य उपहार पाइन् । आफ्ना ४९ जना प्रतिस्पर्धीलाई जित्दै रुशाले यो सफलता हासिल गरेकी हुन् । रुशाले मिस पर्सनालिटीको उपाधिसमेत जितिन् ।
प्रतियोगितामा ‘आनन्द ज्वेलर्स फस्ट रनर्सअप’ को उपाधि मीरा थापा मगरले जितिन् । उनले उपाधिसंगै १० हजार रुपैयाँ पाइन् । मीराले मिस स्माइलको उपाधि पनि प्राप्त गरिन् ।
करिव डेढ महिनाको प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका सुन्दरीहरुमध्ये सारा तामाङले ‘सेकेन्ड रनरअप’ को उपाधि जितिन् । साराले उपाधिसंगै नगद ५ हजार रुपैयाँ पाइन् ।
प्यासिफिक इभेन्ट्सले शनिवार काठमडौंमा आयोजित यो प्रतियोगितालाई आयोजक संस्थाका अध्यक्ष तथा अभिनेता फुपु तेन्जिङ शेर्पाले आदिवासी युवतीहरूको आवाजका रूपमा चर्चा गरे । आदिवासी युवतीहरूको व्यक्तित्व विकास, सांस्कृतिक संरक्षण प्रवद्र्धन तथा प्रतिभा प्रस्तुतिका लागि यो कार्यक्रम आयोजना गरिएको शेर्पाले बताए ।
प्रतियोगितामा ‘फेसियल हाउस मिस बेस्ट हेयर’ को उपाधि सराना मानन्धरले, ‘मिस इलिगेन्ट’ को उपाधि छिरिङ शेर्पाले तथा ‘मिस बेस्ट स्किन’को उपाधि पारोहाङ थुलुङले प्राप्त गरे । ‘मिस डिसिप्लेन’ को उपाधि ममता मानन्धरले, मिस फ्रेन्डसिपको उपाधि एलिना माझीले, ‘पर्फेक्ट पिक्चर’ को उपाधि रुबिना श्रेष्ठले, ‘पब्लिक च्वाइस’को उपाधि केशाङ दाबा शेर्पाले हासिल गरे । ‘यूएफओ क्लोथिङ मिस ट्यालेन्ट’को उपाधि कमला लामाले र ‘मिर चार्मिङ’ को उपाधि सुभानी मोक्तानले जिते ।
प्रतियोगिताको निर्णायकमा प्रभु बैंकका सीईओ अशोक शेरचन, बुटिक एसोसिएसनका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, गायक लाक्पा शेर्पा, आदिवासी जनजाति प्रतिष्ठानका प्रवक्ता राम मादेन, भनेन्द्रकुमार लिम्बू तथा मञ्जु श्रेष्ठ थिए ।