भत्काइयो धरहरा वरपरका संरचना

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५

काठमाडौं– काठमाडौं महानगरपालिकाले धरहरा वरपरका व्यापारिक संरचना भत्काएको छ। महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा गत शुक्रबार २४ घण्टे सूचना जारी गरेलगत्तै हिजो शनिबार उक्त संरचना भत्काएको हो ।
शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णयबमोजिम धरहरा परिसरमा रहेका रेस्टुरेन्टसहित २० वटा पसल तथा केही टहराजस्ता भौतिक संरचना भत्काइएको हो ।
महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले लामो समयको प्रयासपछि महानगरपालिकालाई सफलता मिलेको प्रतिक्रिया दिनु भयो । उहाँका अनुसार अब तोकिएकै समयमा धरहरा बन्ने छ । टहरा र पसल भत्काउँदा उपमेयर स्वयं उपस्थित हुनुभएको थियो। कामपा प्रहरी प्रमुख विष्णुराज जोशीले सबै टहरा र पसल हटाइसक्ने जानकारी दिनुभयो।
रेस्टुरेन्ट तथा पसलका सञ्चालकहरुले भने ठाउँ खाली गर्न समय कम भएको गुनासो गरे ।
काठमाडौं महानगरपालिकाले साइड वाकर्स कम्पनीलाई २०६१ साल वैशाख ३१ गते २० वर्षे सम्झौता गरी धरहरा र त्यस क्षेत्रको सम्पूर्ण भाग भाडामा दिएको थियो । २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ढलेको धरहरा र त्यसले चर्चेको क्षेत्रमा साइड वाकर्सले रेस्टुरेन्ट, रेडिमेड पसललगायत व्यवसाय भाडामा दिएर सञ्चालन गर्दै आएको थियो।
यसैबीच प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न टेन्डर आह्वान गरेको छ। प्राधिकरणले मुलुक र मुलुकबाहिरका ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आह्वान गरेको हो प्राधिकरणले २१ दिनको म्याद उल्लेख गर्दै टेन्डर आह्वान गरेको थियो । पुनर्निर्मित धरहराको उचाइ २ सय ४५ फिट हुनेछ भने भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन्।