ट्रम्प र उनबीच वार्ता निश्चित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५

अमेरिका– विश्वकै ध्यान आकर्षित गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनबीचको शिखर वार्ता आगामी जुन १२ मै हुने निश्चित भएको छ । उनीहरुको यो ऐतिहासिक वार्ता सिंगापुरमा हुने निश्चित भएको छ । ह्वाइट हाउसले दुई नेताबीच वार्ता सिंगापुरको सेनटोसा द्वीपमा हुने पुष्टि गरेको हो । राष्ट्रपति ट्रम्पले हालै वार्ता योजनाअनुसार तयारी भइरहेको बताएका थिए ।
अमेरिकाले उत्तर कोरियाको परमाणु हतियार समाप्त पार्न चाहे पनि वार्तामा कुन मुद्दा चर्चा हुनेछ भन्ने विषयमा स्पष्ट भइसकेको छैन । ट्रम्पले पहिलो भेटमा वार्ता लामो समयसम्म चल्ने सम्भावना रहेको र त्यसपछि पनि धेरैपटक भेट्नुपर्ने हुन सक्ने बताइसकेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले ट्विटरमा वार्ता पाँचतारे कपेले होटलमा हुने जानकारी दिएकी छिन् । यद्यपि दुवै नेताका लागि बस्ने व्यवस्था भने अन्तै हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प सांग्रिला होटलमा बस्न सक्ने समाचारमा जनाइएको छ । उत्तर कोरियाली नेता किम सेन्ट रेगिस सिंगापुर होटलमा बस्न सक्ने बताइएको छ । ती दुवै होटल सिंगापुरको मुख्य द्वीपमा पर्छ ।
सेनटोसा सिंगापुरका ६३ द्वीपमध्येको एक हो । मुख्य आइल्यान्डबाट केही दूरीमा पर्ने सेनटोसा द्वीप ५ सय हेक्टरमा फैलिएको छ । यहाँ कयौं लक्जरी रिसोर्ट, निजी जलक्षेत्र र भव्य गल्फ क्लब छन् । यो द्वीपको विगत समुद्री डकैती, रक्तपात र युद्धजस्ता काला इतिहास रहेको छ । १९औं शताब्दीमा सिंगापुरलाई एक बेलायती व्यापारिक नाकाका रूपमा स्थापित गरिएको थियो । भारत र चीनको समुदी्र मार्गमा पर्ने भएकोले यो नाकाको विशेष महत्त्व थियो ।समुद्री डाँकूको लुटमार र हिंस्रक घटनाका कारण यो व्यापारिक केन्द्रको छवि राम्रो थिएन ।
ट्रम्प–किम शिखर वार्ता हुने १ सय १२ कोठा भएको कपेले रिसोर्ट ३० एकडमा फैलिएको छ । उक्त रिसोर्ट बेलायती आर्किटेक्टले डिजाइन गरेका हुन् । त्यहाँ बेलायती शासनकालका कयौं भवनहरू अझै हेर्न पाइन्छ । त्यहाँको प्रिमियम गार्डन किङ रूमको एक रातको मूल्य करिब ५ सय अमेरिकी डलर छ । ह्वाइट हाउसका अधिकारीले आयोजनास्थलको जाँच गरिसकेका छन् । सम्मेलनको तयारी पनि भइसकेको छ । जुन १५ सम्मका लागि पूरै रिसोर्ट बुक भइसकेको छ । त्यसैले कुनै पनि पर्यटक त्यहाँ जान सक्दैन ।