राष्ट्रिय सभा सदस्यको कार्यकाल निर्धारण हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल निर्धारण गर्न आगामी जुन १८ (सोमबार) गोलाप्रथा हुने भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल २, ४ र ६ वर्ष निर्धारण हुनेछ । गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २, २० जनाको ४ र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ । यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन् ।
क्लस्टरमा आधारित भएर गोलाप्रथा हुने भएको हो । प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कार्यकाल हुनेछ । त्यस्तै, सबै प्रदेशबाट निर्वाचित दलित समूहका सात जना सदस्यमध्ये दुई जनाको २, दुई जनाको ४, दुई जनाको ६ र बाँकी एक जनाको शून्य वर्ष कार्यकाल हुने व्यवस्था छ ।
नियमावलीले सदस्यको कार्यकाल विभाजनमा सबै प्रदेशबाट निर्वाचित अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका सात जनामध्ये दुई जनाको २, दुई जनाको चार ४, दुई जनाको ६ र बाँकी एक जनाको शून्य वर्ष कार्यकाल हुनेछ । यस्तै, प्रत्येक प्रदेशबाट निर्वाचित महिला, दलित र अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहमा समावेश भएका सदस्यबाहेक तीन सदस्यमध्ये एक जनको २, एक जनाको ४ र एक जनाको ५ वर्ष कार्यकाल निर्धारण हुनेछ ।
यसअघि, राष्ट्रिय सभाको कार्यसञ्चालन नियमावली नभएकाले गोलाप्रथा हुन सकेको थिएन । राष्ट्रिय सभाले आइतबार नियमावली पारित गरेको छ । अब पाँच दिनको समय राखेर गोलाप्रथाको सूचना संघीय संसद् सचिवालयले प्रकाशित गर्नेछ ।