करिब एक लाख अष्ट्रेलियनहरुको भीडमा भेटिएको नेपाल ( फाेटाे फिचर )

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

करिब ४७ वर्ष अगाडिदेखि प्रत्येक वर्ष अगष्ट महिनाको दोश्रो आइतबार आयोजना गरिने “सिटि टू सर्फ” दौड कार्यक्रममा यसपटकदेखि संस्थागत रुपमै नेपालीहरु ले सहभागिता जनाए । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको आयोजनामा “एक्सप्लोर नेपाल” को ब्यानरमा करिब १०० भन्दा धेरै नेपालीहरुले यो दौडमा आफ्नो सहभागीता जनाए ।
सन् हेराल्ड र वेस्टप्याक बैंकद्वारा प्रायोजित यो दौडमा करिब ८० हजार मानिसहरुले प्रत्यक्ष भाग लिए भने सिड्नी सिटिदेखि बोण्डाइ बिचसम्मको करिब १४ किलोमीटर दूरीसम्म देखिने दर्शकहरुलार्ई जोड्दा यसको सहभागिता एकलाख भन्दा धेरै भएको अनुमान गरिएको छ । यस्तो अत्याधिक जनसहभागिता, सामाजिक संजाल र समग्र मिडिया कभरेज हुने बिशाल कार्यक्रममा हामीले अष्ट्रेलियामा हाम्रो उपस्थिति र आफ्नो मातृभूमिको पर्यटन प्रबर्धन गर्नु यो जस्तो प्रभावकारी अवसर अरु केहि हुन सक्दैन भन्ने महशुस गत वर्ष देखिनै गरिएको हो । यसपटक बिशेषतः एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिका उप–संयोजक अर्जुन केसीको बिशेष पहल तथा संयोजक नन्दु गुरुङको सक्रियतामा राज्य समितिको सम्पूर्ण टिम, एनआरएनए अग्रज, अभियान्ता, एन एस डब्लु कन्सुलेट जनरल दिपक खड्का तथा समस्त सुभेच्छुकहरुको अपार सहभागितामा पहिलो पटक “सिटि टु सर्फ” मा नेपालको पर्यटन प्रर्बधन गरिएको हो ।
कार्यक्रमको प्रमुख अथितिका तर्फबाट बोल्दै एन एस डब्लु कन्सुलेट जनरल दिपक खड्काले यस्तो बिशाल कार्यक्रममा नेपाल पर्यटन प्रबर्धन गर्न लागेकोमा आँफू गौरवान्वित भएको विचार ब्यक्त गर्दै एनआरएनए अष्ट्रेलिया प्रति हार्दिक आभार ब्यक्त गरे । सिटि टु सर्फ मा आफ्नो अमूल्य समय दिइ कार्यक्रम सफल बनाउन दौडमा सहभागी सबैलाई उचित समय मिलार्ई महाबाणिज्यदूतको कार्यालयले प्रसंशा पत्र प्रदान गर्ने जानकारी दिए । थुप्रै कार्यक्रमहरु एक पछि अर्को हुँदै गरेको अवस्थामा हामीले “सिटि टु सर्फ” मा चाहे जति प्रयास गर्न सकिएन तर आउँदा दिनहरुमा नेपाल पर्यटन प्रबर्धन गर्नको लागि नेपाल फेस्टिवल र सिटि टु सर्फ दुवैलाई उस्तै ढंगबाट अगाडि बढाउने विचार ब्यक्त गर्दै एन आर एन ए उपाध्यक्ष नन्दु गुरुङले यस्ता खालका कार्यक्रमहरुमा एनआरएनए अभियान्ताहरुको इमान्दारीपूर्वक सहयोग, सद्बाव र सहभागिता हुनुपर्ने बताए ।

“संस्थागत रुपमा यो हाम्रो पहिलो प्रयास हो र हामीले थुप्रै गर्न सक्छौं त्यसको लागि एउटा उचित पूर्व तयारी र सशक्त टिम चाहिन्छ”, भन्दै सिटि टु सर्फ मार्फत नेपाल पर्यटन प्रबर्धनका परिकल्पनाकार अर्जुन केसी आउँदा दिनहरुमा यसलार्ई अरु व्यापक बनाउन सकिने विश्वास ब्यक्त गरे ।