सिड्नीमा गाईजात्रा तथा रक्षाबन्धन सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
प्रबासमा बसेर पनि आफ्नो भाषा, संस्कृति, रहन सहन अनि कला, र साहित्यलाई संरक्षण एवम् प्रवर्धन गर्ने उदेश्यका साथ गोरखा समाज अस्ट्रेलियाद्वारा आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।  जनैपुर्णिमा कै  दिनमा गत अगस्ट २६ मा सिड्नीको टेम्पी पार्कमा आयोजित उक्त कार्यक्रममा मौलिक गाईजात्रा तथा बिभिन्न संस्कृति तथा  समुदायको विशेषता झल्कने झाँकी प्रदर्शन गरीएको थियो । 
जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा  ऋषित तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो । बिहान ८ बजे रक्षाबन्धनबाट शुरू भएको उत्त कार्यक्रम १२ बजे गाईजात्रा परेडमा परिवर्तन भएको थियो । ठूलो सङ्ख्यामा नेपाली समुदायको सहभागिता रहेको उक्त परेड पश्चात गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्ष्यता तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यमा छोटो औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रममा आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले सबै सहभागीहरु लाई स्वागत गर्दै नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेश भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोश्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरु महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा उपस्थित अतिथि एबम सहभागी सबैले नेपाली कला संस्कृतिको जगेर्ना तथा संरक्षणमा टेवा पुग्ने बताउँदै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरताको लागि समुदायका सबैले हातेमालो गर्नु पर्ने बताए। 
 
कला,धर्म, संस्कृति नेपालीको शान-  डाँफे, बुद्द, सगरमाथा हाम्रो पहिचान भन्ने मूल नारामा आधारित यस कार्यक्रममा प्रवासमा रहेर पनि नेपालको कला तथा संस्कृतिलाई माया गर्ने सिड्नीवासी ठुलो संख्याका नेपालीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सिड्नी स्थित विभिन्न संघ सस्थाहरुको सहभागितामा सांस्कृतिक साङ्गितिक प्रस्तुतीका साथै गाईजात्राको मौलिक टाकटुके नाच र गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षकका रुपमा मेरी बास्सैका निर्देशक द्वय राजू मास्टर तथा बल्छी धुर्बेको विषेश प्रस्तुती रहेको थियो। 
कार्यक्रमको समाप्ति संगै गोरखा समाज अस्ट्रेलिया कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्नुहुने मुख्य प्रायोजक़ मल्टी डायनामिक लगायत अन्य प्रायोजक़ ब्याबसायहरू, कलाकारहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण सहयोगी र शुभचिन्तकहरू प्रति हार्दिक आभार ब्यक्त गरेको छ। 
(Photos by: Sanjip Amgain )