प्रकृति पुजक गायक उज्वल के. सी.

-- प्रकाश निङ्गलेकू नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ३१, २०७५

उज्वल के.सी. एक राम्रा संगीत साधक हुन् । स्कुले जीवनमा केहि मात्रामा संगीत तर्फ आकर्षण भएपनि कलेजको अध्ययन संग–संगै संगीतप्रतिको लगाब अझ बढदै गयो । कलेजको अध्ययन पूरा गर्ने बित्तिकै उज्वल उच्च अध्ययनको सिलसिलामा २००७ मा अष्ट्रेलिया आएका हुन् । नौलो ठाउँ, नौलै परिवेस र नौलै रहन सहनमा भिज्न उनलाई केहि समय त पकै पनि लाग्यो । अध्ययनलाई निरन्तरता दिदै अघि बढ्दै गए । संग–संगै संगीतलाई पनि बिस्तारै अघि बढाए । आफूमा भएको गायन प्रतिभा प्रस्फुटनको माध्यम खोज्ने क्रममा उनी पुनः नेपाल घुम्न गएको समयमा केहि गीतहरू पनि रेकर्ड गराएका थिए जसको पूर्णता भने २०१३ शालमा ‘न्यानो शहर’ नामक गीति एल्बमबाट भयो । यस एल्बममा माया प्रेमका गीतहरू नभएका भने होइनन । तथापि, प्रकृतिको व्याख्या साथै वर्णन भने प्रसस्तै मात्रामा पाइन्छ जुन उनको एल्बमको नाम बाटै थाहा पाउन सकिन्छ । उनको एल्बम नेपालमा मात्र नभई अष्ट्रेलियाका स्रोताहरूले पनि सुन्न पाएका थिए । उज्वलको एकल गीति एल्बम सोहि वर्ष ‘हिट्स फ. एम. म्युजिक अवार्ड २०७०’ मा चार विधामा मनोनयनमा परेको थियो तरपनि कुनै विधाबाट अवार्ड हातपार्न भने सकेन । उज्वल भन्छन “गीत पुरस्कार पाउन भन्दापनि आत्मा सनतुष्टिका निम्ति गाइने हो । ’उज्वलका जीवनमा उतार चडाब भने नआएका होइनन् तरपनि निरन्तरताले बिश्राम लिएको छैन । फलस्वरूप, नयाँ एल्बमको निम्ति केही गीतहरू रेकर्ड गरि सकेका छन् भने छिटै निकट भविष्यमा होमस्टुडियो बनाउने तयारीमा छन् । उज्वललाई अग्रिम बधाई संग–संगै उनैसंग प्रकाश निङ्गलेकूले द नेपाली टाइम्स अष्ट्रेलियाका लागि गर्नु भएको कुराकानीका केहि अंश प्रस्तुतछ ।

तपाईँको पहिलो एल्बम “न्यानो शहर” को शोच कहा“बाट पाउनु भो ?

अहिले पछिल्लो समयमा आएर हेर्दा वातावरणिय प्रदुषण निकै बडेको पाइएको छ । केहीको ध्यान त्यतातिर गएता पनि रोकथाम भने हुन सकेको छैन । सोहि बिषयबस्तुले मेरो मन छोएको कारण गीतको उत्पति पनि हुन पुग्यो । अर्को कुरा यो गीतमा मेरो काल्पनिक शहरको चित्रण पनि पाइन्छ । भावनात्मक रुपमा पनि निकै नजिक छ ।

 

माया प्रेमका गीतहरू चै समेट्नु भएको छैन कि कसो ?

त्यस्तो केहिपनि होइन, केहि माया प्रेमका गीतहरू पनि छन् तर एल्बमको नाम छान्ने क्रममा चाहि न्यानो शहरनै छानिन पुगियो ।

 

केहि वर्षदेखि तपाईँ पर्थमा बस्दै रहनु भएको छ, अन्य सहर भन्दा त्यहाँ नेपाली सांगीतिक माहोल कस्तो छ ?

सिड्नीको तुलनामा त निकै नै गाह्रो छ । थोरै मात्रामा म्युजिसियनहरू हुनुहुन्छ । गीत रेकर्ड गर्नको लागि पनि स्टुडियोहरू थोरै मात्रामा छन् । तरपनि, बिस्तारै नेपाली प्रोग्रामहरू ठूलै मात्रामा हुँदैछ ।

 

तपाई कलाकार मात्र नभई आयोजकको भूमिका पनि निर्वाह गर्दै आउनु भएको छ, के फरक हुँदो रहेछ ?

कलाकार नै आयोजकको भूमिका मा रहँदा के थाहा हँुदो रहेछ भने, कलाकारहरू को प्रमुख आवस्यक ता के के हुन् भन्ने पूर्व जानकारी हुन्छ र त्यसै अनुसार तयारीहरू पनि गर्न सकिन्छ ।

 

उसो भए, कलाकार र आयोजक मध्ये एक छान्नु पर्दा कुन बन्न सजिलो ?

कलाकार नै सजिलो हुन्छ । आयोजकका जिमेवारीहरू धेरै हुन्छन र सबैको नजर आयोजकमा नै पर्छ कस्तो प्रोग्राम होला, के के होला, कसरि गर्ला जस्ता कुराहरू हुन्छन् ।

 

पर्थमा नेपाली समाजका गतिबिधिहरू कस्तो रुपमा चल्दै छ ?

पहिलाको तुलना गर्ने हो भने पढन आउने विद्याथीहरूको संख्या निकै बढेको छ साथ साथै नेपाली कार्यक्रमहरू पनि त्यहि अनुपातमा बढिरहेको छ ।

 

तपाईँको आउँदो भावी योजनहरू के के रहेका छन् ?

एउटा एल्बम निकाल्न पनि नेपाल जानु पर्ने भएको कारण निकट भविष्यमा यहि पर्थबाट पनि निकाल्न सकियोस साथै म्युजिक भिडियो र फोटोग्राफी सम्बन्धि पनि कामहरू गर्दैछु जसको लागि पछि सबै नेपालीहरू लाई पनि सजिलो हुन्छ होला भन्ने लागेको छ, त्यहि कामको लागि तयारीमा छु ।

 

अन्तयमा केहि भन्नु पर्दा ?

तपाईहरू सम्पूर्णमा धेरै धन्यबाद । माया गरेर सम्झिनु भएको र स्रोता समक्ष जोडिन पाएकोमा पनि धेरै–धेरै धन्यबाद छ ।