नेपाल फेस्टिवल स्वयंसेवकहरु को योगदानको महोत्सव हो: केशव कंडेल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १५, २०७९

सामाजिक संस्थामा निरन्तर पदीय जिम्मेवारी सम्हाल्नु, पदीय जिम्मेवारीबाट टाढा रहँदा पनि समुदायका निम्ति क्रियाशील रहनु उहाँका परिचय हुन्। उहाँ, अर्थात् केशव कंडेल।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व अध्यक्ष कंडेल मेलबर्नमा स्थापित व्यवसायी समेत हुनुहुन्छ।

नेपाल फेस्टिवल मेलबर्नको सुरुवातीदेखि नै सक्रिय केशव कंडेल २०१६ र २०१८ मा आयोजित नेपाल फेस्टिवल मेलबर्नको संयोजक रहनुभएको थियो। त्यतिबेला एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा एससीसी मेलबर्नको राज्य संयोजकको पदीय जिम्मेवारी निभाउँदै नेपाल फेस्टिवल मेलबर्न आयोजना गर्नुभएका उहाँ त्यसअघि २०१४ मा एससीसी मेलबर्नको सचिव पदमा रहँदै नेपाल फेस्टिवल मेलबर्न आयोजनामा अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो। नेपाल फेस्टिवल मेलबर्न २०२२ को नजिकिंदै गर्दा हामीले उहाँसंग नेपाल फेस्टिवल विशेष कुराकानी गरेका छौं ।

नेपाल फेस्टिवल मेलबर्न २०२२ को माहोल कस्तो लागिरहेको छ र?
नेपाल फेस्टिवल मेलबर्नको कुरा गर्दा २०१४ मा म एससीसी भिक्टोरियाको सचिव थिएँ, त्यतिबेला म अग्रपंक्तिमा रहेर काम गरेको थिएँ। त्यसपछि २०१६ र २०१८ म आयोजना हुँदा म संयोजक रहेर काम गरेको थिएँ। र, अहिले २०२२ मा सल्लाहकारको रुपमा छु, भनौं। नेपाल फेस्टिवललाई सफल बनाउनका लागि नेपाली समुदाय जसरी सक्रिय हुन्छ नि, प्रशंसनीय छ। यो पटक नेपाली समुदायको व्यापक सक्रियता पाएको छु। आयोजक टिमका तर्फबाट पनि साथीहरु ले सबैसंग हातेमालो गर्दै विभिन्न समिति/उपसमितिहरु निर्माण गरिरहनुभएको छ। र, ती समिति मार्फत सबैले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ। व्यवसायिक संस्थाहरु ले त्यसैगरी हातेमालो गर्नुभएको पाएको छु। यो सबै हेर्दा मेलबर्नको नेपाली समुदायको साँच्चै ठूलो पर्व आइरहेको छ भन्ने भान भइरहेको छ।

नेपाल फेस्टिवलको मूख्य विशेषता के हो र?
आफूले कर्मभूमी बनाएको ठाउँमा मातृभूमीको झण्डा फहराएको देख्न पाउनुभन्दा ठूलो के हुन्छ होला र१ फेडेरेसन स्क्वाएरलाई मेलबर्नको मुटु मानिन्छ, त्यस्तो ठाउँमा नेपालको झण्डा फहराउँछ, त्यो दिन। यहाँ हुर्किरहेका हाम्रो नेपाली पुस्तालाई हामीले नेपालको बारेमा पढाइरहेका हुन्छौं, चित्रमा देखाइरहेका हुन्छौं तर त्यो दिन उनीहरुले त्यहाँ प्रत्यक्ष रुपमा नेपालको झण्डा फहराएको देख्छन्, नेपालको मौलिक भेषभुषा, नेपाली खाना, नेपालको बाजा, कला संस्कृतिलाई प्रत्यक्ष बुझ्ने अवसर पाउँछन्। अझ राम्रो कुरा त, उनीहरु त्यसमा प्रत्यक्ष संलग्न भइरहेका हुन्छन् र संगै अन्य समुदायका व्यक्ति तथा स्थानीयहरु ले नेपालको बारेमा चासो राखेको, नेपाली कला/संस्कृतिको सम्मान गरिरहेको देख्छन्। यसले उनीहरु लाई नेपालसंग भावनात्मक रुपले जोड्छ। त्यसैगरी, यहाँको बहुसांस्कृतिक समुदायले पनि नेपालका बारेमा जान्ने, बुझ्ने मौका पाउँछ। र, यो सबैकुरा नेपाली पहिचान अनि नेपालको कला(संस्कृति, भाषा र खानाको सम्बर्द्धन तथा प्रबर्द्धनसंग जोडिन्छ।

नेपाल फेस्टिवल मेलबर्न आयोजना गर्दाका आफ्ना केही रोचक किस्साबारे बताइदिनुहोस् न ?
सुन्दा अचम्म पनि लाग्छ, नेपाल फेस्टिवल मेलबर्नको सांस्कृतिक परेडमा म अझैसम्म सहभागी भएको छैन। यद्दपी सांस्कृतिक परेडको सुरुवात म आयोजक टिममा रहेर काम गर्दा, २०१४ को नेपाल फेस्टिवल मेलबर्नमा गरेका थियौं। तर सधै के हुने भने, सबै सांस्कृतिक परेडमा जाने भएपछि स्टेजतर्फ ख्याल राख्न त कोही हुनुपर्यो, म स्टेजतर्फ रहें। आशा गरौँ, यसपटक सहभागी हुने अवसर जुट्नेछ। सांस्कृतिक परेडको रुट अब ठूलो पनि भएको छ।

नेपाल फेस्टिवल मेलबर्नको अविस्मरणीय क्षण ?
व्यवस्थापनमा रहनुपर्ने हुनाले मैले कहिल्यै पनि कलाकारहरु ले दिने प्रस्तुति प्रत्यक्ष हेर्न पाउँदिनथें, सधै रेकर्डेड नै हेर्ने हो। तर धरहरा सम्बन्धि प्रस्तुति चाहिं मैले प्रत्यक्ष रुपमा हेर्न पाएको थिएँ र त्यो प्रस्तुति हेर्दैगर्दा म यति भावुक भएको थिएँ नि, मेरो आँखाबाट बररर आँशु झरिरहेको थियो। साथीहरु लाई मलाई टिस्यु दिएको दियै गर्नुपरेको थियो। र, अघि हजुरले सोध्नु भएको नेपाल फेस्टिवलको विशेषता यही हो। हामी भूगोलले टाढा रहेता पनि नेपाल फेस्टिवलले हामीलाई हाम्रो माटोसंग जोड्छ।

नेपाल फेस्टिवल सफल बनाउनका लागि आवश्यक तत्व के हुन् र ?
नेपाल फेस्टिवलको सबैभन्दा बलियो खम्बा भनेका स्वयंसेवक हुन्। नेपाल फेस्टिवललाई मैले स्वयंसेवकको योगदानको पर्वको रुपमा लिन्छु। नेपाल फेस्टिवलका लागि स्वयंसेवकहरुले काम गर्दै गर्दा हामीलाई एकता, सद्भाव र समुदायप्रतिको दायित्वको बोध गराउँछ। त्यति ठूलो कार्यक्रमको सफलताको पछाडी स्वयंसेवीहरु को हात हुन्छ। र, सहभागीहरु माझ हाम्रो समुदाय सम्बन्धि, जनचेतना सम्बन्धि, हाम्रो देश सम्बन्धि बुझाउनका लागि कथा सहितको सांस्कृतिक प्रस्तुति दिंदा प्रभावकारी हुन्छ भन्ने लाग्छ। किनकि सांस्कृतिक प्रस्तुतिमा सबैजसोको आकर्षण हुन्छ र स्टेजबाट ती प्रस्तुति मार्फत संदेश प्रवाह गर्दा प्रभावकारी हुन्छ। संगै, नेपाली लोक संस्कृति झल्किने प्रस्तुतिलाई प्राथमिकतामा राख्नुपर्छ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
प्रत्येक दुई वर्षमा हुँदै आएको नेपाल फेस्टिवल कोभिडका कारण २०२० मा हुन सकेन। त्यसैले चार वर्षको अन्तराल पछि यो भव्य महोत्सव हुँदैछ। हरेक पटकको नेपाल फेस्टिवल मेलबर्नमा सहभागी संख्या बढ्दै आएको छ। चार वर्षको अन्तराल पछि आयोजना हुँदै गरेको, नेपाली समुदाय अझ बृहत बनेको र कोभिड पछिको सबैबन्दा भव्य कार्यक्रम भएकोले यस वर्ष सभागिता व्यापक हुनेछ भन्नेमा म विश्वस्त छु। यो महोत्सव संस्थाको मात्र नभएर हामी सबैको हो। सेप्टेम्बर १० मा फेडेरेसन स्क्वाएर जाऔं, सबै सहभागी बनौँ, नेपाल फेस्टिवल मेलबर्नको उद्देश्यलाई सफल पारौं।