नेपाली विद्यार्थीका लागि अझै लामो समयसम्म अष्ट्रेलिया गतिलो डेस्टिनेसन रही रहने छ  : भवानी अाेली

-- बीज टकऽ नेपाली टाईम्स अष्ट्रेलिया अक्टाेवर २०१८ अंक / प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५

नेपालको तेह्रथुम जिल्लामा जन्मी आफ्नो बाल्यकाल र युवा अवस्था झापामा बिताएका भवानी ओलीको यति बेलाको अष्ट्रेलियाको परिचय चिरपरिचित समाजसेवी र सफल व्यवसायी हो । १९९६ मा विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका भवानी ओलीको पनि अन्य नेपाली विद्यार्थीहरू को जस्तै विविध भोगाइ र सिकाइका फेहरिस्ता छन् । कुनै बेला नेपालमा फिजिक्समा मास्टर्स डिग्री लिएका ओली त्रिभुवन युनिभर्सिटीमा लेक्चरर थिए । समय न हो, समय संगै सिक्दै, सिकाउँदै, हिँड्दै हिडाउँदै जाने हो गन्तब्यको त के ठेगान । फिजिक्सका विद्यार्थी अष्ट्रेलियामा आएर यहाँको मकवारि युनिभर्सिटीबाट फाइनान्स एन एकाउन्टिंगमा मास्टर को बिल्कुलै नयाँ बिषयमा मास्टर डिग्री पो हासिल गरे ओलीले । उनको अध्यान त्यहि रोकिएन, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस) बाट माइग्रेसन लको अध्ययन गरे । अनि सुरु भयो उनको व्यवसायिक यात्रा, सन् २००२ बाट ‘ओली एण्ड एसोसियट्स’ को नाममा । २००२ बाट आजसम्मको १६ बर्षे व्यबसायिक जीवनमा उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । श्रीमती, २ छोरी र १ छोराका साथ अष्ट्रेलियामा बस्दै आएका भवानी ओलीको परिचय माथि भने जस्तै अष्ट्रेलियाको नेपाली समुदायमा व्यवसायी भन्दा पनि समुदायको दुःख सुखको साथीको रुपमा छ । तर यस पटक भने हामीले ‘ओली एण्ड एसोसियट्सका निर्देशक भवानी ओलीको रुपमा द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टल्क अक्टोबरका लागि उनको व्यबसायिक यात्रा कै वरपर मात्रै रहेर गरिएको छोटो कुराकानी संक्षेप ।

तपार्इँको व्यसायको बारेमा केहि बताई दिनुस न ?

अष्ट्रेलियामा पढ्न जान चाहने नेपाली विद्यार्थी तथा माइग्रेट हुन चाहने नेपालीहरू लाई नेपाली भाषामै सेवा दिने काम गर्छ ‘ओली एण्ड एसोसियटले’ । साथै नेपाल मै पढ्ने वा विदेश गई पढ्ने, नेपाल मै काम गर्ने वा विदेश गई काम गर्न चाहने नेपालीहरू लाई उनीहरूको योग्यता, दक्षता र चाहनालाई हेरेर करियर काउन्सिलिङ्ग पनि गर्छ यो संस्थाले ।

 

किन यो व्यवसाय रोज्नु भो ?

जति बेला मैले यो व्यवसाय रोजे त्यस वखत संस्थागत रुपमा नेपालमा र अष्ट्रेलियामा दुवै तिर अफिस राखेर सर्भिस दिने कोहि नभएको समय थियो । उक्त समयमा हर कुराबाट अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा अध्ययनको लागि र माइग्रेट हुन चाहाने दक्ष र अर्धदक्ष सबैका लागि अत्यन्त अनुकुल ठाउँ भएको महसुस गरि यो विजनेस शुरु गरेको हुँ । जसले गर्दा ती सबैलाई समान रुपको सर्भिस अष्ट्रेलियाबाट पनि र नेपालबाट पनि दिन सकियोस ।

 

यो व्यवसायमा रहँदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दै हुनुहुन्छ र सामना गर्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थीका लागि अझै लामो समयसम्म अष्ट्रेलिया गतिलो डेस्टिनेसन रही रहने छ । म आँफू १६ वर्षदेखि विद्यार्थीहरू संग प्रतक्ष्य संगतमा भएकाले अझै लामो समयसम्म नेपाली विद्यार्थीहरू लाई पथ प्रदर्शन गर्न पाउने कुरा मेरो संस्थाको लागि आँफैमा ठूलो अबसर हो भन्ने मैले सोचेको छु । कतै नविकेका, जे पायो त्यहि गर्न नहिच्किचाउने, क्यारियर गाईड भनेको केहि नवुझ्नेहरूको ठुलो संख्या यो इण्डष्ट्रिमा ठूलो ताम–झामको साथ भित्रिएको र विद्यार्थीलाई गलत एडभाईस दिने गरेको कुरोलाई मैले एकदमै सिरियसका साथ लिएको छु । त्यस्ता मान्छे वा संस्थालाई दीक्षित गराई सहि मार्गमा ल्याउने काम निकै जटिल र कठिन छ । नल्याउँदा पनि नेपाली विद्यार्थीहरू ठगिने वा गलत दिशातिर उन्मुख हुने डर छ, जो हुन दिनु हुँदैन । यो ईण्डष्ट्रिको लिडरको हैसियतले यसैलाई मैले ठुलो चुनौतिको रुपमा वुझेको छु ।

 

अबको पाँच बर्षमा तपार्इँको व्यवसाय कहाँ पुग्ला ? हामीले तपार्इँलाई अझ भनुँ तपार्इँ आबद्द ओली एण्ड एसोसियट्सलाई अबको पा“च बर्षमा कहाँ देखाैंला ?

अवको पाँच वर्षमा ओलि एण्ड एसोसियट्स नेपाली कन्सल्टेन्सी जगतमा सहि काम गरेर, इथिकल काम गरेर र एकदम शुद्ध व्यवसायिक ( professionally) काम गरेर पनि गगन चुम्न सकिने रहेछ भन्ने कुरो प्रमाणित गर्ने लेभलमा पुग्नेछ । गलत काम गर्नेहरू ले माथि हेर्दा टोपि खस्ने र सहि काम गर्नेहरूले दायाँ वायाँ हेर्दै देखिने ठाउँमा हुनेछु म र ओलि एण्ड एसोसियट्स ।

 

नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरू लाई तपार्इँ कस्ता सुझाब दिन चाहनुहुन्छ ?

इन्ट्रीगिटि (Integrity) सहित, प्रोफेसनल र कसैलाई नठगी व्यवसाय गर्दा पनि सफल हुन सकिन्छ । गलत काम गरेर कमाएको पैसा जसले रातको निन्द्रा हराम गर्छ, जसले जहिले पनि कसैले के भन्ला कि, कसैले कठालो समात्ला कि भनि जीवन भर डर पैदा गर्छ, त्यो पैसा धन हैन त्यो विष हो । त्यसरी कमाएको पैसा स्थिर पनि हुँदैन, कमाउने मान्छेको ईज्जत पनि हुँदैन, परिवार पनि स्वच्छ र खुसि हुंदैन वरु टुट्दै जान्छ । त्यसैले आफु भित्र अन्तरनिहित क्षमतालाई वुझि त्यसै अनुरुपको व्यवसायमा निरन्तर रुपले लाग्नु होस तपाईं सफल हुनु हुनेछ । स्वर्ग जाने वाटो कठिन हुन्छ, समय लाग्छ तर परिणाम अनन्तसम्मको आनन्दित हुन्छ । अाँफू र आफ्नो सिंगै खानदानको उद्दार गर्ने हुन्छ । सहि वाटोमा हिंड्दा कठिनाई आएमा मलाई सम्झनु होला । मेरो १६ वर्षको एक्स्पर्टिज र भोगाई निःशुल्क समर्पित गर्नेछु । म पनि कठिन, लामो र घुमाउरो यात्रा तय गरेरै यहाँसम्म आएको मान्छे हुँ ।