सबैकाे साझा उत्सब : नेपाल महाेत्सब

-- सुजित सिग्देल, अावरण नाेभेम्बर २०१९ नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक २७, २०७५

पृथ्बीको दक्षिण गोलाद्धको यो बिशाल देश अष्ट्रेलियामा हामी नेपालीहरु को उपस्थितिलाई अब कम आँकलन गर्नु मिल्दैन  । व्यापार, व्यवसाय, रोजगारी हुँदै यहाँको बहुसंस्कृतिक समुदायमा नेपाली र नेपाली समुदायको योगदान अन्य आप्रबासीहरु को भन्दा अब कम छैन  । बानीमा मिलनसार, मेहनती अनि परिश्रमी हामी नेपाली प्रति यहाँको स्थानीय हुँदै प्रान्तीय र केन्द्रिय सरकारसम्मको दृष्टिकोण हामी आँफैले रोपेको फूल हो जुन सुगन्ध सहित मगमगाइरहेछ ।  हामीप्रतिको यो दृष्टिलाई हामी सबैले अझ फराकिलो बनाउनु छ, समयानुकुल बनाउनु छ किनकि नबिर्सौं बहुसांस्कृतिक यो देशमा हामी सबै नेपालको प्रतिनिधित्व गर्ने अबैतानिक दूतहरु हौं ।

नेपाली मुलका विद्यार्थीहरु, करदाताहरू अनि स्थाई बसोबास गरिरहेकाहरू को उल्लेखेनीय संख्या त यहाँका सरकारी दस्ताबेज र तथ्याङ्कले देखाई सकेका छन् तैपनि हामीले हाम्रो सांस्कृतिक विविधता अनि त्यहि विविधतामा सदियौंदेखि अडेको हाम्रो एकता यहाँको बहुसांस्कृतिक समुदायमा देखाउनु छ यसैको सुरुवात अनि निरन्तरता हो आउँदै गरेको नेपाल फेस्टिभल ।

नेपालीहरूले प्रत्येक दुई वर्षमा मनाउने नेपाल फेस्टिभल यहाँका नेपालीहरूको लागि एउटा ठूलो चाड सरह नै बनेको छ । यहाँका बिदेशीहरू को माझ पनि विगतमा यी फेस्टिभलहरू मा हाम्रो उपस्थिति चासोको बिषय बन्न सफल भएको थियो । शुरुका वर्षहरू मा सिड्नीमा मात्र सिमिति यो फेस्टिभल आहिले अष्ट्रेलियाका लगभग सबै ठूला शहरहरू मा पुगेको छ, शुरुदेखि नै नेपाल फेस्टिभल जस्तो ऐतिहासिक र राष्ट्रिय पहिचान झल्कने यस कार्यक्रमको लोकप्रियता अहिले अष्ट्रेलिया बाहेक नेपालीहरू बसोबास गर्ने अन्य देशहरू सम्म पुगेको छ ।”One country-Many stories” अर्थात “देश एक कथा अनेक” भन्ने सन्देश सहितको यस पटकको नेपाल फेस्टिभल पर्थबाट सुरु भइ सकेको छ, भने १७ नोभेम्बरमा ब्रिसबेनमा, २४ नोभेम्बरमा सिड्नीमा र १५ डिसेम्बरमा मेलबर्नमा हुँदैछ । अन्य शहरहरूमा पनि त्यहाँको एनआरएनए राज्य समितिले अन्य संघ संस्था राजदूताबास र बाणिज्यदुतहरू को कार्यलय संग सहकार्य गर्दै मिति निर्धारण गरिने पनि एनआरएनए अष्ट्रेलियाका महासचिब नारायण कोइरालाले बताए । सबैले गर्ब गर्न मिल्ने खालको यस्तो बृहत्तर कार्यक्रम गर्ने एनआरएनए अष्ट्रेलिया, यसका राज्य समितिहरू नेपाली समुदायका सबै सदस्यहरू र स्वयंसेवकका कार्यहरू स्तुत्य छन् । अझ यसमा नेपाली दूतावास र सम्वन्धित स्टेटका वाणिज्यदूतका कार्यालयहरू, स्थानीय नेपाली समुदायका संघ संस्थाहरू को सहयोग र सहभागिताले त यस्ता फेस्टिभलहरूको महत्व झन बढेको छ ।

नेपाल फेस्टिभल हिजोदेखि आजसम्म

२००५ को फेब्रुअरीमा एनआरएन अष्ट्रेलिया विधिवत गठन भए पश्चात २००५ जुलाईमा यसले विधिवत रुपमा पूर्णता पाएको थियो । सोही वर्ष कै अक्टोवरमा नेपालमा भएको दोस्रो एनआरएनए ग्लोवल सम्मेलनमा अष्ट्रेलियाले छब्बिस जना सहित सहभागिता जनाएको थियो । त्यतिबेला जम्मा ११ देशमा राष्ट्रिय कमिटी थियो र ११ देशका राष्ट्रिय कमिटीहरूले आ–आफ्नो देशमा फर्केर के गर्ने भन्ने बारेमा बोल्ने क्रममा शुरुमै अष्ट्रेलियाको पालो आयो र अष्ट्रेलियाका एनआरएन साथीहरू ले एक स्वरमा अष्ट्रेलियामा फर्केर नेपाल फेस्टिभलको आयोजना गर्दैछौं भनेर बोलेका थिए । सबैको सहयोग र सद्भावले पहिलो नेपाल फेस्टिभल सफलताका साथ सम्पन्न भयो त्यो पनि सिड्नीको केन्द्रमा रहेको डार्लिङ्ग हार्बर नजिकै रहेको टुम्वालोग पार्कमा २९ अप्रिल २००६ का दिन पहिलो पटक डार्लिग हार्बर भरी नेपाली चन्द्र र सूर्य अंकित झण्डा फहराउँदै । त्यस पश्चात प्रत्येक २/२ वर्षमा सोहि ठाउँमा सिड्नीको नेपाल फेस्टिभल सम्पन्न भइरहेको छ ।

अष्टे«लियामा मात्रै नभई डायस्पोराका नेपालीकै बीचमा त्यो पहिलो नेपाल फेस्टिभल थियो । हुर्कदै गरेको नेपाली समुदाय संख्यात्मक उपस्थिति समेत कम र यहाँको स्थानीय एवं केन्द्र सरकार समक्ष पहुँच र पहिचान नवनिसकेको समयमा गरिएको पहिलो पटकको त्यो कार्यक्रम गर्दाका अप्ठ्याराहरू अझै पनि अग्रजहरू र तत्कालिन एनआरएनए अध्यक्ष मन के सी लगायत तत्कालिन आयोजक कमिटिका सबै साथीहरूका स्मरणमा ताजै छन् । सिड्नीको २००६ को पहिलो नेपाल फेस्टिभल पश्चात मेलबर्नमा २००८ र ब्रिसबेनमा २०१० बाट नेपाल फेस्टिभलले निरन्तरता पाइरहेको छ । त्यस बाहेक यस पटकदेखि पर्थ अनि गत सालबाट डार्विनले नेपाल फेस्टिभल मार्फत आ–आफ्ना शहरमा नेपाली झन्डा फहराइ रहेका छन् ।

नन्द गुरु·, संयोजक नेपाल फेस्टिभल सिड्नी   

नेपालीहरूको बसोबासको दृष्टिले होस या सहभागिताको दृष्टिले नेपाल फेस्टिभल सिड्नी निक्कै नै महत्वपूर्ण छ । त्यसो त हामीले सिड्नीमा सातौं पटक नेपाल फेस्टिभलको आयोजना गर्दै छौं यो बीचमा म आँफू पहिले कै नेपाल फेस्टिभलदेखि नै सक्रिय रहेका कारण पनि बिगतका कमी कमजोरीहरू सच्याउँदै यो पटक भब्य र सभ्य नेपाल फेस्टिभल हामीले सम्पन्न गर्नु छ । कार्यक्रमको संयोजक म भएपनि यो सम्पूर्ण टिम वर्क हो । धेरै साथीहरू यसका लागि दिन रात खट्नु भएको छ अझै २४ नोभेम्बरसम्म यो खटाईले निरन्तरा पाउनु छ । त्यसैले पनि म सबै स्वयसेवक साथीहरू हामीले निर्माण गरेका बिभिन्न समितिमा बसेर फेस्टिभल सफल पार्न लागि रहनु भएका सबैमा हृदयदेखि धन्यवाद दिन चाहन्छु । त्यो बाहेक नेपाल बाहिर बसेर सहयोग गर्ने सबै अग्रज अनि ब्यापारी समुदायका साथीहरू लाई पनि म हृदयदेखि धन्यवाद दिन चहान्छु ।

यस पटक नेपाल फेस्टिभल बिभिन्न मानेमा हामीले भिन्न अझ परिस्कृत गर्दै लगेका छौं । नेपाल हाउसको सजावटदेखि त्यहाँ भित्रका सरसामानहरूमा पनि यस पटक परिबर्तन गरिएको छ जस अनुसार नेपाल हाउसको संरचनामा यस पटक स्वयम्भूनाथको आकृति समेटिने छ भने कृषिप्रधान देश चिनिने र त्यहाँका किसानहरू ले प्रयोग गर्ने विविध सामग्री र उपकरणहरू प्रतीकात्मक रुपमा समाबेश गरिनेछ । त्यो बाहेक अन्य नेपाल र नेपाली झल्कने विविध हस्तकला र मूर्तिकलाका सामग्रीहरू जानकारीमूलक सामग्री एवं श्रब्य दृश्य सहित प्रस्तुत गर्ने छौ । पर्यटन संग बिज्ञ स्वयंसेवकले त्यहाँ आगन्तुकलाई नेपाल सम्बन्धि जानकारी दिईरहने छन् ।

यस पटकको नेपाल फेस्टिभलमा हामीले कलाकार, प्रस्तोतादेखि सबै गायन नृत्यहरू ले सबै उमेर समुह र हाम्रा विविध विविधताहरू बीचको एकतालाई समेट्ने किसिमबाट तयार गर्दैछाैं । यतै जन्मे हुर्केका नानी बाबुहरू लाई समेट्ने गरि उनीहरू परिचित यहाँको च्यानल सेभेनमा समेत आफ्नो नृत्य प्रस्तुत गरि सकेको अष्ट्रेलियन ग्रुप मार्केटिङ्ग गाईजको समेत बिशेष प्रस्तुति रहनेछ । त्यसै गरि यस पटक तीन गायक गायिकाहरू राजेश पायल राई, तृष्णा गुरुङ्ग र बिश्व नेपालीले लाइभ म्युजिकमा आफ्नो प्रस्तुतिहरू दिनेछ्न् । उनीहरू लाई सिड्नी स्थिति रड्स ब्याण्डले साथ दिनेछ ।

त्यो बाहेक यस पटक नेपाल फेस्टिभललाई नेपाल र नेपालीलाई माया गर्ने अन्य समुदायसम्म पुराउने उद्देश्यले नेपाल फेस्टिभलको जानकारी र प्रचार सामग्री यहाँको राष्ट्रिय मिडियाहरू र बिभिन्न काउन्सिलबाट निस्कने पत्र पत्रिकामा प्रकाशित गरिनेछ । त्यो बाहेक यहाँको राष्ट्रिय मिडियाहरू संग पनि नेपाल फेस्टिभलका बारेमा सामग्रीहरू प्रकाशित गर्न अनुरोध गरिे सकिएको छ । ए ३ साइजका पोस्टरहरू छापेर सिड्नीका लगभग सबै सर्बअरका नेपाली इन्डियन पसलहरू मा पुर्याई सकिएको छ । नेपाली रेस्टुरेन्टहरू ले आ–आफ्नो रेस्टुरेन्टमा रहेको ठूलो पर्दा (डिस्प्ले टि भी) मा नेपाल फेस्टिभल सम्बन्धि पोस्टरहरू प्रदर्शन गरिएको छ हालसम्म २५ भिन्न ठाउँमा यो प्रदर्शन गरिएको छ र यो नेपाल फेस्टिभल भर नै रही रहनेछ । फेस्टिभल स्थललाई अझ बाताबरण मैत्री बनाउँदै यस पटकदेखि हामीले कार्यक्रम स्थलमा प्रयोग हुने सबै सामग्री जस्तै कप प्लेटहरू degradable खालका प्रयोग गर्न सबैलाई अनुरोध गरेका छौं । त्यहाँ प्रयोग भएका क्यान र बोतलहरू पनि “collect and educate”का स्वयंसेवीहरू ले तत्कालै संकलन गरि त्यसलाई बिक्रि गरि उठेको रकम परोपकारी कार्यमा खर्च हुनेछ ।

यो नेपाल फेस्टिभल हामी सबैको हो यसमा हामी सबै नेपाली संघ संस्थाहरूको सहकार्य छ हामी सबै यसको एक हिस्सा हौं त्यसको अलवा यस पटक बिभिन्न अष्ट्रेलियन सरकारी गैर सरकारी संघ संस्था, अन्य देशका आप्रबासीहरूका सामुदायिक संघ संस्थाहरू लाई समेत सहभागी गराउनको लागि बिशेष पहल गरिएको छ । स्थानीय कलाकारहरूको बिशेष प्रस्तुतिमा साथीहरू ले एकदम मेहेनत पुराउनु भएको छ । कला संस्कृतिमा धनी हामीहरू को सम्पूर्ण नेपाललाई हामीले फेसन शो परेड झाँकी र संस्कृति प्रस्तुति मार्फत डार्लिङ्ग हार्बरमा प्रस्तुत गर्नेछाैं। साउण्ड सिस्टम पार्कका अन्य सुबिधाहरू मा यस पटक त्यहाँको व्यबस्थापनले निक्कै सुधार गरेको छ जसले हाम्रो कर्यक्रमको गुणस्तर पनि निश्चय नै बढ्ने छ । अन्त्यमा यो बिशाल महोत्सब तयारीका लागि खट्ने र सहयोग गर्ने सबैलाई एक पटक फेरि धन्यबाद दिदै आ–आफ्नो ठाउँबाट गर्न सकिने र गर्न मिल्ने सहयोगको लागि मन र हात फराकिलो बनाउन सबैमा बिनम्र अनुरोध गर्दछु ।

 

यी सबै शहरमा सम्पन्न हुँदै गरेका नेपाल फेस्टिभलका स्थलहरू जस्तो सिड्नीको डार्लिङ्ग हार्बर, मेलबर्नको फेडेरेसन स्क्वायर र ब्रिसबेनको किङ्ग जोर्ज स्क्वायर, त्यस्तै पर्थ र डार्विनमा भएका चर्चित स्थानहरू आँफैमा अष्ट्रेलियन र विदेशी पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र हुन् । त्यस बाहेक यहाँ हुने बिभिन्न जमघट र नेपाल जस्तै अन्य देशका आप्रबासीहरूले समेत गर्ने बिभिन्न कार्यक्रमहरूमा यहाँका स्थानीयदेखि केन्द्रसम्मका मिडियाहरूको पहुचं रहेको हुन्छ र उनीहरू ले चासोका साथ यी क्षेत्रहरू लाई नियाली रहेका हुन्छन् । त्यसैले पनि यहाँ सम्पन्न भएको नेपाल फेस्टिभलहरू र आउँदै गरेको नेपाल फेस्टिभलहरू ले यहाँको स्थानीय, केन्द्रिय र यहाँका सम्पूर्ण मिडियाका अगाडि नेपाल र नेपालीको गौरबशाली उपस्थिति सहित हाम्रो कला संस्कृतिको आप्रबसीको बाहुल्यता रहेको यस देशमा चिनाइरहेको छ । २००६ को नेपाल फेस्टिभल पछाडि सिड्नीमा प्रत्येक २/२ वर्षमा २००८, २०१०, २०१२ र २०१४, २०१६ गरी छ वटा नेपाल फेस्टिभलहरू सफलता साथ सम्पन्न भइसकेका छन् । सम्पूर्ण सिड्नीबासीहरू आउने २४ नोभेम्बर २०१८ मा सातौं पटक, त्यस्तै गरि मेलबर्नमा २००८, २००१०, २०१४, २०१६ र अबको पाँचौ नेपाल फेस्टिभल र ब्रिसबेनका लागि २०१०, २०१४, २०१६ हुँदै आउँदो चौथो नेपाल फेस्टिभलको प्रत्यक्षदर्शी हुने सौभाग्य प्राप्त गर्दैछौ ।

नेपाल फेस्टिभल २०१८ सिड्नीका आकर्षण

सिड्नीबाट सुरु भएको अष्ट्रेलियाको नेपाल फेस्टिभल सिड्नी बाहेकका शहरहरू मा समेत व्यापक सहभागिताका साथ सम्पन्न हुँदै गर्दा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समिति भन्दापनि स्थानीय स्टेट कमिटीहरूलाई सक्रिय बनाउँदै लगेको देखिन्छ । यसै कारण पनि उक्त स्टेटको फेस्टिभल सफल पार्न स्थानीय स्टेट कमिटीहरू नेपाल फेस्टिभल सफल पार्न क्रियाशिल छन् ।

नेपालीहरूको बसोबास, व्यपार व्यवसायमा पकड र सहभागिताको हिसाबले पनि सिड्नीको नेपाल फेस्टिभल अन्य स्टेटका नेपाल फेस्टिभल भन्दा निकै ठूलो मानिन्छ । त्यसैले पनि सिड्नीको नेपाल फेस्टिभल कस्तो होला भन्ने जिज्ञासा सबैमा हुनु स्वाभाविक हो ।

यस पटकको नेपाल फेस्टिभल सिड्नीमा फेस्टिभल स्थल डार्लिङ्ग हार्बरको टुम्वालोग पार्कमा फेस्टिभलको केहि दिन अगाडिदेखि नै २६ वटा नेपालका राष्ट्रिय झन्डाहरू फहराईने छ । फेस्टिभलमा ३६ वटा भिन्न स्टलहरू रहेका छन् जस मध्ये १२ खानाका स्टल अनि २४ व्यापारिक र जानकारीमूलक स्टलहरू रहनेछन् ।

कार्यक्रममा नेपाली हस्तकला, बस्तुकला, नेपाली खानाका परिकार, शिक्षा, होम लोन लगायतका स्टलहरू नेपाली र बिदेशी मुलका आगन्तुकहरू लाई बिभिन्न जानकारी पस्कि रहनेछन् भने यहिं जन्मेका बाबु नानीहरू र अन्य सबै उपस्थितका लागि उपयोगी हुनेछ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं नेपाल फेस्टिभल सिड्नीका संयोजक नन्द गुरुङका अनुसार गत सालहरू भन्दा यस पटकको नेपाल फेस्टिभल बिभिन्न किसिमबाट फरक अझ सबै उमेर समुहकाहरू लाई समेट्ने किसिमको हुनेछ । यस पटकको सांस्कृतिक प्रहासनमा हाम्रा कला संस्कृति र हाम्रा गीत संगीतको अलवा यहाँको च्यानल सेभेनमा समेत आफ्नो नृत्य प्रस्तुत गरि सकेको अष्ट्रेलियन ग्रुप मार्केटिङ्ग गाईजको समेत बिशेष प्रस्तुति रहनेछ । फेस्टिभलमा यहाँका स्थानीय कलाकारहरू ले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको प्रतिनिधित्व हुने गरि जातजाति, भाषाभाषी, भेषभुषा रहन सहन सबै झल्कने खालका झाँकी र परेडहरू अष्ट्रेलियामा बसोबास गर्ने र यहाँ रहेका खुलेका सबै खाले र उपस्थित हुनेसम्म सबै संस्थाहरू को सांस्कृतिक प्रस्तुतिहरू बिशेष प्राथिमकताका साथ प्रस्तुत हुनेछन् । यसै गरि यहाँका स्थानीय कलाकारहरू को विविध प्रस्तुति एवं राष्ट्रिय कलाकारहरूको प्रस्तुतिहरू रहनेछन् । जस अनुसार यहाँका स्थानीय कलाकार र प्रतिभाहरू ले आफ्नो विविध तयारीहरू शुरु गरि सकेका छन् । राष्ट्रियकलाकारहरू मा यस पटक ठुलो संख्यामा कलाकारहरू अष्ट्रेलिया आउँदै छन् । जस अनुसार युबापुस्तामा निक्कै रुचाईएका गायक राजेश पायल राई, तृष्णा गुरुङ्ग र बिश्व नेपाली, लोकप्रिय र प्रतिभावान लोक गायक पशुपति शर्मा, त्यसै गरि अर्का लोक गायक शिब हमाल फेस्टिभललाई संगीतमय बनाउन नेपालबाट अष्ट्रेलिया आउँदै छन् । त्यसरी यी गायक गायिकाहरू लाई साथ दिन अहिलेकी व्यस्त नायिका आँचल शर्मा पनि अष्ट्रेलिया आउदै छिन् । यसै गरि फेस्टिभललाई संगीतमय बनाउँदै रड्स ब्याण्डले लाइभ म्युजिक प्रस्तुत गर्नेछन भने गायक र गायिका राजेश पायल राई, तृष्णा गुरुङ्ग र बिश्व नेपालीले रड्स ब्याण्ड कै म्युजिकमा लाइभ प्रस्तुतिहरू दिनेछन् ।

यस पटकको सिड्नीमा हुने नेपाल फेस्टिभलमा अघिल्लो २ पटक गरिएको नेपाल हाउसको अबधाराणालाई निरन्तरता मात्र होइन त्यसलाई अझ ब्यापकता दिइनेछ । जस अनुसार यो पटकको नेपाल हाउस पहिला भन्दा निक्कै ठूलो र बिशेष सजावट सहित प्रस्तुत गरिनेछ, फेस्टिभल भर नै त्यहाँ श्रब्य दृश्य मार्फत नेपालको पर्यटकीय चिनारीलाई प्रस्तुत गरिने छ । नेपालको पर्यटन सम्बन्धि ज्ञान भएका बिज्ञ स्वयंसेवकहरूले त्यहाँ उपस्थित बिदेशी मुलका आगन्तुकहरू लाई नेपाल सम्बन्धि जानकारी दिई रहनेछन् । नेपाल हाउसको संरचना र सजावटले यस पटक स्वयम्भु नाथको झल्को दिनेछ । त्यसको अलवा अन्य नेपाल सम्बन्धि विविध हाम्रा सम्पदा र हस्तकला बास्तुकला लगायतका सामग्री त छँदै छन् त्यो बाहेक यस पटक कृषिप्रधान देश नेपालमा नेपाली कृषकहरूले संधै प्रयोग गर्ने विविध कृषिजन्य औजार र उपकरणहरू प्रदर्शनीमा राखिने छ ।

नेपालीद्वारा संचालित रियल स्टेट मल्टी डाइनामिक रियल स्टेट इभेन्ट पार्टनर रहेको यस पटकको सिड्नीको नेपाल फेस्टिभलको दिन बिहान बिगतमा जस्तै नेपाल र नेपालीलाई चिनाउने विविध सामग्री राष्ट्रिय झण्डा सहित डार्लिङ्ग हार्बर वरपर १० बजेबाट परेड हुनेछ जुन नेपाल फेस्टिभल कार्यक्रम स्थलमा आइ समाप्त हुनेछ । यसपटकको नेपाल फेस्टिभलको औपचारिक कार्यक्रम दिउसो २:३० बजेबाट सुरु हुनेछ । फेस्टिभलको प्रमुख अतिथिको रुपमा अष्ट्रेलियन केन्द्रिय सरकारका इम्मिग्रेसन एवं सिटिजनसिप मिनिस्टर डेबिड कोल्म्यानको समारोहमा उपस्थित हुनेछ भने अथितिहरू मा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएनएका केन्द्रिय अध्यक्ष भवन भट्ट, अष्ट्रेलियन राजनीतिज्ञहरू बिपक्षी दलका नेता लुक फुले, केन्द्रिय एवं प्रान्तीय सरकारका माननीय सांसदहरू को उपस्थिति रहनेछ । नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीको उपस्थितिका लागि पहल भइ रहेको छ ।

अन्त्यमा,

हुन त देश भनेको भूगोलको रेखा मात्र होइन, न त झण्डा र नक्साले नै देशको परिभाषा पूर्ण हुन्छ । देश भनेको त्यहाँको हावा पानी र माटो सँग भावनात्मक सम्बन्ध गाँसिएको मीठो नाता हो । जसका लागि दुरी र भौतिक उपस्थिति कहिले कांहीँ गौण हुनसक्छ । राष्ट्रियता र देशसँगको नाताको उदाहरण दिनु पर्दा भूगोलको सीमामा कतै नभेटिने प्यालिस्टाइनीहरू लाई दिन सक्छौ जो भौगालिक रुपमा कतै नरहंदा पनि भावनात्मक रुपमा संधै प्यालिस्टाइनी बनेर बाँचेका छन् । राष्ट्रियताको सबालमा हामी नेपालीहरू पनि कम छैनौ । किनकी हाम्रा भावनात्मक सम्बन्ध संग हाम्रा चाडवाड, चालचलन, रहनसहन, रीतिरिवाज र संस्कृति जोडिएर आएका छन् र त विश्वको जुन कुनासम्म पुगे पनि हामी नेपालीहरू मनभित्र जन्मभूमि लिएर हिडेका हुन्छौं ।

रोजी रोटि, उच्च शिक्षा पारिबारिक उन्नति प्रगति र उज्ज्वल भविष्यको सपना बोकेर अहिले ग्लोब भरि नै नेपालीहरू छरिएका छन् । हामीबीचको एकता सद्भावले हामीलाई विदेशी भूमिमा नेपालीकै नाताले मात्र पनि नजिक बनाउँदछ । त्यसैले विदेशका साना–ठूला जमघट र भेटघाटले समेत हामीलाई देशको हालखबर र परिस्थितिसँग नजिक राख्न मद्दत पुर्ईरहेको हुन्छ भने विदेशमा वृहत रुपमा गरिने कार्यक्रम, जमघट वा नेपाली मेला र फेस्टिभलहरूले पक्कै पनि बिदेशी भूमिमा नेपाल चिनाउन, हाम्रा रहन सहन, संस्कृति, चाडपर्व, भेषभुषा र संस्कृतिलाई प्रवद्र्धन गर्न ठूलो मद्दत पुर्याएको हुन्छ ।

१७ नोभेम्बरमा ब्रिसबेनमा, २४ नोभेम्बरमा सिड्नीमा र १५ डिसेम्बरमा मेलबर्नमा हुने नेपाल फेस्टिभलहरू एनआरएनए अष्ट्रेलिया मातहतका स्टेट कमिटी, नेपाली दूतावास र स्टेटका कन्सुलेट जनरलको कार्यालयको अगुवाइमा यहाँका सबै नेपाली सामाजिक संघ संस्थाहरू संगको सहकार्यमा हुँदै गरेको साझा कार्यक्रम हो । यसको राम्रो परिणामको जस अपजसका भागिदार हामी सबै हौं । त्यसैले पनि नर्विसौं यसमा रातदिन लाग्ने दिदीबहिनी, दाजु भाइहरू नितान्त निस्वार्थ भावनाले स्वयंसेवीको रुपमा लाग्नु भएको छ । त्यसैले हामी सबैले आ–आफ्नो ठाउँबाट आँफू बसेका शहरका नेपाल फेस्टिभलहरू सफल बनाउन सहयोगी बनौं । आ–आफ्नो कार्यक्षेत्रमा नेपाल फेस्टिभलको बारेमा केही भनेर २ जना विदेशी मित्रहरू लाई मात्र उक्त दिन उपस्थित गराउन सक्यौं भने पनि हजारौं विदेशीको संख्या त्यहाँ जोडिनेछ । जसले नेपाल र नेपालीको परिचय अझ व्यापक हुन् मद्दत पुग्दछ । अर्कोतिर त्यो दिन कम्तिमा पनि हामी आ–आफ्नो रहनसहन झल्कने पोशाक लगाएर वा नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुन प्रयास गराैं, त्यसो गर्न सकेमा पूर्व मेची र महाकाली सहितको सिंगो पहिचान अष्ट्रेलियामा उतार्न सक्छौं । त्यस्ता किसिमका पोशाकको प्रबन्ध हुने नसके पनि संधै जस्तै मीठो मुस्कान र नम्र बोलिका साथ जुटौं अनि हाम्रो आत्मियता, भाइचारा र ‘अतिथि देवो भव’ को सन्देश हामीले विश्वभरका मानिस बस्ने अष्ट्रेलियाबाट दिन शुरु गरौं ।