पूर्व युवराज पारसलाई तेस्रो पटक हृदयघात, सिमराबाट गाडीमै फर्किइन् पूर्व रानी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं । तेस्रोपटक हृदयाघात भएका पूर्व युवराज पारस शाहको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्यमा केही सुधार आएको तर अवस्था खतरामुक्त भने भइनसकेको चित्सिकले जनाएका छन् ।

चिकित्सकहरूले मुटुको ब्लकेज खोलिए पनि उनको अवस्था स्थिर तर अझै गम्भीर भएको बताएका छन्। अस्पतालका कर्पोरेट कम्युनिकेशन डीजीएम आरपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो ।थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो। उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई आइसीसीयुमा सारिएको छ।”

ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्ने क्रममा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपराह्न सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

भिडभाडकैबीच पूजा प्रक्रिया सम्पन्न गर्दै गर्दा उनले छातीमा असह्य पीडा महसुस गरेका थिए। तर, पूजा समाप्त नहुञ्जेल उनले कसैलाई बताएनन्।

मन्दिरबाट निस्कनै लाग्दा पारिवारिक सदस्यलाई आफ्नो पीडाबारे उनले जानकारी गराए। यद्यपि उनी त्यहाँबाट कमलादीस्थित फुपु शोभा शाहीको घरमा गए र केहीबेर आराम गरे। त्यहाँ आरामपछि पनि उनलाई सञ्चो नभएपछि गाडीमा हालेर थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको हो ।

नेपाल समाचारपत्रले जनाए अनुसार पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेकी उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं आउनु भएको छ । हवाइ जहाजको टिकट नपाएका कारण उहाँका सहयोगी सुदन थापाले गाडीबाटै काठमाडौँ ल्याएका हुन् । बुबा ज्ञानेन्द्र भने आज बिहान हवाइ जहाजबाटै आउने तयारी गर्नुभएको प्रहरीले जनाएको छ ।

कोमल र ज्ञानेन्द्र भ्रमणका निम्ति सिमरामा पुग्नुभएको थियो ।