सक्षम र इमान्दार राजदूतको पर्खाइमा क्यान्बेरा

-- महेन्द्र कुमार लम्साल, अावरण लेख फेब्रुअरी अंक २०१९ / प्रकाशित मिति : शनिबार, माघ २६, २०७५

अन्तत, विबादित राजदूत लक्की शेर्पाले अष्ट्रेलियाबाट फर्किए लगत्तै फेब्रुअरी १ तारिखका दिन नेपाल सरकार समक्ष राजीनामा दिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूतको स्थान खाली भएको छ । अब सरकारले अष्ट्रेलियाकालागि सक्षम र इमान्दार नेपाली राजदूत नियुक्त गरोस् तर त्यो भन्दा ठूलो कुरा सरकारले निश्पक्ष छानविन गरेर उनीमाथि लागेको आरोपको बारेमा अष्ट्रेलियन नेपाली समुदायलाई सुसुचित गराओस र राजदूताबास प्रतिको विश्वासमा कहीँ कतै शंका गर्ने वातावरण नहोस् ।

जब लक्की शेर्पा अष्ट्रेलियाका लागि नयाँ राजदूत नियुक्त भएको कन्फरमेशन आयो तब द नेपाली टाइम्स अष्ट्रेलियाले मे २०१६ को अंकमा “को हुन् लक्की शेर्पा” भन्ने शीर्षकमा विश्लेषणसहितको आवरण कथा प्रकाशन गरि नयाँ राजदूतका बारेमा सुसुचित गरायो । अष्ट्रेलियामा आवासीय नेपाली दूतावास स्थापना हुनु अगाडि पासपोर्ट नवीकरणलगायत कुटनैतिक मामिलासम्बन्धी सम्पूर्ण कामहरू जापानस्थित नेपाली दूतावासबाट हुने गर्दथ्यो ।

सन् ९० को दशकदेखि नै अष्ट्रेलियामा नेपालीहरूको संख्या बढ्दै गर्दा यहाँ आवासीय राजदूताबासको आवश्यकता महशुस गर्न थालिएको हो । सन् २००१ मा नेपाली समुदायको पुरानोमध्येको एक संस्था नेपाल अष्ट्रेलिया डेमोक्र्याटिक फोरम (एनएडीएफ) को अगुवाईमा करिब १ हजार भन्दा धेरै नेपालीहरूको हस्ताक्षर संकलन गरि अष्ट्रेलियामा आवासीय नेपाली राजदूतावास स्थापनाको माग गर्दै ज्ञापन पत्र परराष्ट्र मन्त्रालयमा पठाईएको थियो । दूतावासको आवश्यकता महसुश गरी निरन्तर फलो अप गर्ने काम हुँदै गयो र अन्ततः २००६ को अन्त्यमा नेपाल सरकारले अष्ट्रेलियामा नेपाली आवासीय दूतावास राख्ने निर्णय गर्यो । पहिलो आवासीय नेपाली राजदूतको काम २००७ मार्चबाट सुरु भएको हो । सोहि वर्ष सेप्टेम्वर २० का दिन क्यानबेरास्थित पुरानो पार्लियामेन्ट हाउसको आगनमा नेपाली झन्डा फहराउँदै औपचारिक रुपमा नेपाली दूतावासको उद्घाटन भएको थियो ।

उद्घाटन समारोहमा तत्कालिन परराष्ट्र सचिब ज्ञानचन्द्र आचार्य र अष्ट्रेलिया सरकारका तर्फबाट सिनेटर मारिस पायनले संयुक्त सम्बोधन गरेका थिए । उद्घाटन समारोहमा नेपाली समुदायका सदस्य तथा नेपाली शुभचिन्तक अष्ट्रेलियनहरूको बाक्लो उपस्थिती थियो । उक्त समारोहलाई सम्बोधन गर्दै सिनेटर पायन (जो बर्तमान मोरिशन सरकारमा परराष्ट्र मन्त्री छिन) ले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूलार्ई अध्ययन भिसा सहज गरिएको मन्तब्य दिनुले पनि अष्ट्रेलिया सरकार नेपाली समुदायप्रति धेरै अगाडिदेखि आजसम्म पनि उत्तिकै सकारात्मक सहयोगी रहेको सन्देश दिन्छ ।

लक्की शेर्पा, २००७ मा आवासीय दूतावास स्थापना भएदेखि अष्ट्रेलियाको लागि तेश्रो राजदूत हुन् । यस अघि पूर्व राजदूत द्वय क्रमशः योगेन्द्र ढकाल र रुद्र कुमार नेपाल आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्केका हुन् । राजनैतिक नियुक्ति भने यो दोश्रो थियो । पहिलो राजदूत योगेन्द्र ढकाल माओवादी कोटाबाट परेका थिए भने दोश्रो राजदूत रुद्र कुमार नेपाल नेपालको राजनैतिक माहोल धमिलिएको हुँदा तत्कालिन सरकारले परराष्ट्र मन्त्रालयका अधिकृत रुद्र कुमार नेपाललाई खटाएको थियो । तेश्रो नियुक्ति पुनः माओवादी कोटाबाटै लक्की शेर्पा नियुक्त हुन पुगिन ।

एउटा जनजाति पृष्ठभूमिबाट प्रखर व्यक्तित्व कि उदियमान महिला राजदूत पाउँदै गर्दा अष्ट्रेलियामा बस्ने नेपालीहरूमा एक खालको उत्साह छाएको थियो । हुन पनि उनी एक सक्षम, शिक्षित राजनीति र कुटनीतिलाई समायोजन गर्न सक्ने क्षमता भएकी मृदुभाषी महिला कुटनीतिज्ञ हुन् भन्नेमा कसैलार्ई सन्देह लाग्दैनथ्यो । उनी राजदूत बनेर अष्ट्रेलिया आउँदै गर्दा संचार माध्यममा देखिएको तामझाम तथा सामुदायिक सहभागिताले लाग्थ्यो कि नेपालले यौटा प्रतिभावान कुटनीतिज्ञ र अष्ट्रेलियाको नेपाली समुदायले सशक्त अभिभावक पाएको छ । सामाजिक अभियन्ताले कूटनैतिक पदमा पाएको राजनीतिक नियुक्ति लक्की शेर्पाको नेतृत्वमा करिब ६० वर्ष पुरानो नेपाल–अष्ट्रेलिया कुटनीतिक सम्बन्धले नयाँ उचाई लिने धेरै मानिसहरूले बिश्वास लिएका थिए । अमेरिका, यूरोप भारत, जापान, क्यानडा जस्तै अष्ट्रेलिया पनि नेपालको विकास साझेदार निकट कुटनीति सम्बन्ध भएको देशको सुचिमा रहेकोले पनि अष्ट्रेलियामा जाने नेपाली कुटनीतिज्ञ सक्षम, क्षमतावान र कुटनीतिक मर्यादा बुझ्ने खालको हुनु पर्दछ । त्यो एक हदसम्म संयोजन भएकै थियो ।


जब गत अक्टोबरमा महामहिम आँफैले बिश्वास गरेर अष्ट्रेलिया ल्याएको अर्दली, वाङ्चु शेर्पाले मानब तस्कर जस्तो जघंन्य अपराधमा संलग्न आरोप देशको प्रमुख संचार माध्यममार्फत सार्वजनिक गरे, तब अष्ट्रेलियामा रहेका तमाम नेपालीहरूको आस्था, बिश्वास र प्रतिष्ठामाथि गहिरो चोट मात्र लागेन यस कुराले दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत धक्का लाग्ने अवस्था आयो । वाङ्चुको आरोप सार्वजनिक भै सकेपछि महामहिम बिबादमा संलग्न भएको कुरा केहि हदसम्म पुष्टि हुन्छ । वास्तविकता के हो भित्रको लेनदेन वा हिसाब किताब आँफैले बुझुन्, धेरै थोरै भन्ने कुरा छानबिनको निष्कर्षले निकाल्ला । त्यसको बारेमा आफ्नो धारणा बनाउने हामी कोहि पनि न्यायधिस होइनौं । तर दूर्भाग्यको कुरा एकातिर महामहिम यस्तो संबेदनशिल बिषयमा मुछिएको कुटनैतिक क्षेत्रमा शोभनीय होइन भने अर्कातिर यस्तो चरम बिबादास्पद बिषयमा सामाजिक संजालमार्फत छरपष्ट समर्थन र बिरोधमा छचल्किएका विभाजित र उत्तेजित विचारहरूमा महामहिम आँफै रमिता हेरी बसेको पटक्कै सुहाएको थिएन ।

महिला र जनजातिका नाममा सहानुभूति र समर्थन गर्नेहरू उत्तिकै निस्के सामाजिक संजालमा । तर सबैले यो सत्य बुझ्नु जरुरी छ कि ‘राजदूत’ भन्ने पद न त स्त्रीलिंगी हो न त कुनै जात जातिसंग सम्बन्ध नै राख्दछ । ‘राजदूत’ त देशको समग्र प्रतिनिधित्व गर्ने सम्मानित पद, सबैको अभिभावकत्व प्रदान गर्ने साझा व्यक्ति हो । यस्तो विषम परिस्थितिमा अरुलाई दोष लगाएर एक मिनेट पनि एउटा राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने गरिमामय पदमा बसिरहन कदापि सुहाउँदैन ।
आम मानिसहरूलार्ई “नखाऊँ भने दिन भरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार” भनेजस्तो भयो । बिरोध गराैं आफ्नै चेली, आफ्नै पार्टी, महिला, जनजाति आदि आदि समर्थन गराैं त आफैले छानेर, बिश्वास गरेर ल्याएका मान्छे वांगचु शेर्पा आफू र आफ्नी श्रीमती महामहिमबाट पीडित भएको तथ्य यत्रतत्र फैलिएको अवस्था छ । जसले एकातिर निर्णायक मण्डलीहरूको गलामा हड्डी अड्के जस्तो बनिदियो भने महामहिमले समयमै निर्णय नलिंदा हाम्रो समाज अरु बिभाजनको खाडलतर्फ भासिन थाल्यो ।


हाइ स्कूलमा पढाउँदा गोबिन्द गुरुले भन्नु हुन्थ्यो “पैसा नास भयो भने केहि नाश हुँदैन, स्वास्थ्य बिग्रियो भने केहि नाश हुन्छ तर नैतिकता नाश भयो भने सर्वनाश हुन्छ ।” आज त्यहि भयो हाम्रो राजदूतको सवालमा । थुप्रै बहस चल्यो सामाजिक संजाल र अनलाईन तथा छापा संचार माध्यमहरूमा उनी राम्रो, उनी नराम्रो, समर्थन र बिरोधमा । महामहिम पनि आफ्नो प्रतिरक्षामा कसिएरै लाग्नु भो, क्यानबेराको बक्तब्यदेखि सिहंदरबार, शितल निवास हुँदै बालुवालटारसम्म धाउन बाँकि राख्नु भएन । तर यो सबै प्रयास टाउको दुखेको दवाई नाइटोमा लगाए जस्तो बन्न पुग्यो । समस्या आफ्नै सेरोफेरोमा थियो त्यसलार्ई लत्याएर नेताहरूको ढोका चहारेर महामहिमको समस्या किनारा लाग्न सम्भव थिएन । अन्ततः पदीय मर्यादाको ख्याल राख्न नसक्दा नेपाली समुदाय र नेपाली सरकारले धेरै अपेक्षा राखेको र थुप्रै क्षमता र सम्भाव्यता हुँदा हुँदै पनि महामहिम लक्की शेर्पाको कूटनीतिज्ञको रुपमा अष्ट्रेलिया यात्रा अनायासै रोकिएन, मात्र असामयिक रुप मै टुंगियो पनि ।

कस्तो राजदूत ?


अष्ट्रेलियामा नेपाली समुदाय एउटा उच्च प्रतिष्ठित समुदाय हो । राज्यको नियम कानुन इमान्दारी साथ पालना गर्ने, उच्च शिक्षित र रोजगारी दर भएको समुदायमा पर्दछ नेपाली समुदाय । आफ्नो मिहिनेत गर्ने र अरुलार्ई दुःख कष्ट दिन नचाहने मात्र होइन, दुःख परेको बेलामा सक्दो सहयोग गर्ने बिशेषता छ आम अष्ट्रेलियन नेपालीहरूमा ।
शैक्षिक संस्था, रोजगारी, व्यवसाय हामी जहाँ जाऊँ, “नेपाली हुँ” भन्ने बित्तिकै मानिसहरूबाट न्यानो प्रतिक्रिया पाउँछन् अष्ट्रेलियन समुदायमा नेपालीहरूले । यो हामी सबै नेपालीहरूले सामुहिक रुपमा आर्जेको प्रतिष्ठा र इज्जत हो । हाम्रा परिवार र पुर्खाले देखाएको सामाजिक र नैतिक शिक्षाको परिणाम हो नेपाली एकता ।
देशको कानून नियम र बिधिको शाशनलाई लत्याएर शक्ति र सम्पतिको उन्मादले अन्धा बनेका शासकहरूको आर्थिक लेनदेनबाट नियुक्त तथाकथित कुटनीतिज्ञले जति क्षमतावान भएपनि न त उसले देशको प्रतिनिधित्व गर्दछ नत अष्ट्रेलियामा रहेको नेपाली समुदायको नै । मानिस जति नै क्षमतावान भए पनि जव सानातिना लोभमा फस्दछ अनि शुरु हुन्छ ओरोलो यात्रा हो आज त्यहि भएको छ ।

बहुसांस्कृतिक अष्ट्रेलियामा प्रतिष्ठित पहिचान बनाएर बसेको नेपाली समाजको साख बचाउन र अभिभावकीय भूमिका निर्वाह गर्न त्यस्तै खालको योग्यता, क्षमता, सामाजिक मूल्य मान्यता र नैतिक मर्यादाको पूर्ण पालना गर्ने, पदीय जिम्मेवारीको पूर्ण पालना गर्ने एक सक्षम राजदूतको आवश्यकता छ अष्ट्रेलियाका लागि । राजनीतिक भागबण्डा होस वा कुटनीतिक कर्मचारी अष्ट्रेलियाका लागि योग्य, क्षमतावान र दुई देशबीचको सम्बन्ध बढाएर मुलुकका प्रति हितमा काम गर्ने मानिस नै अहिलेको आवश्यकता हो अन्यथा दुई देशबीचको सम्बन्ध सुधार हुनुको साटो दरार उत्पन्न हुनसक्ने तर्फ नेपाल सरकारको ध्यान जानु जरुरी छ ।
आधुनिक बिज्ञान प्रबिधि, नियम कानूनदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुनको उचित ज्ञान भएको सबैलार्ई उत्तिकै सम्मान गर्ने बर्हिमुखी, गतिशील र सशक्त व्यक्तित्वले मात्र बहुसांस्कृतिक अष्ट्रेलियाका सम्मानित छबि बनाएका नेपालीहरूको प्रतिनिधित्व गर्दछ ।

शैक्षिक संस्था, रोजगारी, व्यवसाय हामी जहाँ जाउँ, नेपाली हूँ भन्ने बित्तिकै मानिसहरूबाट न्यानो प्रतिक्रिया पाउँछन् अष्ट्रेलियन समुदायमा नेपालीहरूले । यो हामी सबै नेपालीहरूले सामुहिक रुपमा आर्जेको प्रतिष्ठा र इज्जत हो । हाम्रा परिवार र पुर्खाले देखाएको सामाजिक र नैतिक शिक्षाको परिणाम हो नेपाली एकता । देशको कानून नियम र बिधिको शाशनलाई लत्याएर शक्ति र सम्पतिको उन्मादले अन्धा बनेका शासकहरूको आर्थिक लेनदेनबाट नियुक्त तथाकथित कुटनीतिज्ञले जति क्षमतावान भएपनि न त उसले देशको प्रतिनिधित्व गर्दछ नत अष्ट्रेलियामा रहेको नेपाली समुदायको नै ।

करिब १ लाख भन्दा धेरै नेपालीहरू रहेको अष्ट्रेलियामा नेपालीहरूले अष्ट्रेलियाको सम्वृद्धिका लागि थुप्रै योगदान दिएका छन् । एनआरएनएसंग सहकार्य गर्दै ती सबै नेपालीहरूमा विद्यमान ज्ञान, शीप, दक्षता, श्रोत र साधनको समुचित समायोजन गरि नेपाल सम्वृद्धिका लागि प्रयोग गर्न सहजकारी भूमिका निर्वाह गर्न सक्ने सशक्त व्यक्तित्वलाई मात्र अष्ट्रेलियाका लागि नेपाली कुटनीतिक जिम्मेवारी दिनु अहिलेको आवश्यकता हो । एक सच्चा कुटनीतिज्ञको नियुक्तिले दुई देशबीच रहेको सम्बन्ध मजवुत मात्रै होईन की नेपाल जस्तो अल्पविकसित मुलुकको विकासका लागि अष्ट्रेलिया बलियो साझेदार बन्ने प्रसस्त संभावना छ । तर सिंगो देशको प्रतिनिधित्व गर्ने व्यक्तिले व्यक्तिगत लाभ हानीको लागि होईन मुलुकको ईज्जत र प्रतिष्ठालाई ख्याल गर्नुपर्दछ ।

 

 

राजन ढुंगेल

१५ फेब्रुअरी २०१९ नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्वन्ध स्थापना भएको ६ दशक हुँदैछ । Australasia / Melanesia मा नेतृत्वदायी भूमिकामा रहेको अष्ट्रेलिया नेपालको एक असल सहयोगी मित्रराष्ट्र हो । अन्तर्राष्ट्रिय ईस्यूहरूमा समेत नेपाल र अष्ट्रेलियको समान धारणा रहेको पाईन्छ । अष्ट्रेलियन सहयोग जलविद्युत, सामुदायिक वन, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा भएको छ । Charged´e Affais स्तरबाट खोलिएको राजदूतावास छोटो अवधिमा Extraordinary and Plenipotentiary लेवलमा स्तरोन्नती भएको पाईन्छ । कुटनैतिक हिसाबले यसको ठूलो अर्थ र महत्व हुन्छ ।
नेपाल सरकारको व्यवस्थित सूचना प्रणाली र संयन्त्र नभएको र अष्ट्रेलियाको privacy Act का कारण एकिन साथ भन्न नसकिएतापनि
अष्ट्रेलियमा सन् २००६ पछि विशेषतः २००८/९ पछि नेपाली विद्यार्थी र प्रोफेसनल जनशक्तिको आकर्षण बढेको पाईन्छ । सन् २०१८ सम्ममा ५० हजार भन्दा वढी नेपालीहरूले स्थायी आवसीय भिसामा अष्ट्रेलियामा वसोवास गरेको अनुमान छ ।
अष्ट्रेलियाको सामाजिक र आर्थिक पक्ष सवल र मजवुत छ । त्यसैले आफ्नो जीवनशैली सहज र सफलहुने भविष्य देख्दै अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि प्रमुख गन्तव्य बन्दै गएको छ । सन् २०१७ मा २८ हजार भन्दा माथि विद्यार्थीहरू अन्तर्राष्ट्रिय विद्यार्थीकारूपमा अध्ययनरत छन् । यो गत वर्षको तुलनामा ३० प्रतिशत वढि हो ।
अष्ट्रेलियाको लागि नेपालबाट विद्यार्थी, पिठो, कपडा र हस्तकलाका समान निर्यात भएका छन् । विद्यार्थीहरू अष्ट्रेलियाको मज्वुत आर्थिक खम्वा हुन् । नेपालमा अष्ट्रेलियाबाट सन् २०१६÷१७ मा वाईन, हवाई, संचार उपकरण आदिमा करिव ५७ मिलियन डलरको निर्यात देखिन्छ । मार्च २०१८ सम्ममा करिव ३१ हजार अष्ट्रेलियनले नेपाल भ्रमण गरेका छन् ।
साना वा ठूला विकसित वा विकाशोन्मुख सबै राष्ट्रहरूले भुगोल, राजनैतिक व्यवस्था र सुरक्षा भन्दा बहुपक्षीय आर्थिक कुटनैतिक (Economic Diplomacy) लाई विदेश नीतिकारूपमा प्राथमिकतामा राखेको पाइन्छ । राष्ट्रको व्यापार व्यवसायलाई फाईदामा राख्दै विदेश नीति र कुटनीतिक सम्वन्ध स्थापित गरेका छन् । नेपालले यस नीतिलाई सन् १९९० वाटै स्विकारेको हो । तर, यस क्षेत्रमा नेपाल सरकार र नियुक्त राजदूतको प्रतिबद्वता र ईच्छा शक्ति नहुँदा आशातित सफलता हाँसिल गर्न सकेको छैन ।
सन् २००७ मार्चमा नेपाली राजदूतावास, क्यानवेरा स्थापना भयो । सुरूमा कर्मचारी स्तरमा स्थापित राजदूतावासले २ जना महामहिम (योगेन्द्र ढकाल र रुद्र कुमार नेपाल) को कार्यकाल पूरा गर्यो भने वर्तमान महामहिम लक्की शेर्पाको कार्यकाल विवादास्पद भै बीचैमा सकिने आभास मिल्दैछ । प्रायः राजदूतहरू र कुटनैतिक कर्मचारीलेले भत्ता पकाउने, डिप्लोमेटिक सरसुविधा उपभोग गर्ने, श्रीमती र छोराछोरी, आर्दलीलाई काममा लगाउने, नियुक्ति प्रकृयामा गुन लगाएकाहरूलाई नेपालबाट घुमाउन वोलाउने वाहेक राष्ट्र र नेपाली समुदायको हितमा नियमित कर्म–काण्डी काम वाहेक कुनै उल्लेख्य काम गरको जानकारीमा छैन । दैनिकी र कर्म–काण्डी कामकालागि आवसीय दूतावास राख्नु भन्दा क्यानवेरामा अवैतनिक महावाणिज्य दूतावास खोली योग्य र उपयुक्त व्यक्ति मार्फत कुटनैतिक र कन्सुलर सेवा प्रवाह गर्दा नेपाल सरकारको ठूलो धनराशि बचत हुन्छ ।
राजदूतको छनौट र दूतावासका कर्मचारीको पदस्थापन चाकडी, राजनीतिक आस्था र नेताको भनसुनमा हुने गरेको पाईन्छ । यदाकदा आर्थिक चलखेल भएका समचार पनि पढन पाईन्छ । यसबाट राजदूत र अधिकृतका काम कारवाही राजनैतिक आस्था वा दलको स्वार्थ केन्द्रितहुनु स्वभाविक हो । पार्टी विस्तार र अनुदान सहयोग नगरेको आरोप पनि राजदूतलाई यदाकदा लाग्ने गरेको गुनासा सुनिन्छ । यो नै नेपालको कुटनैतिक क्षमता क्षयिकरणको मूल पाटो हो ।
राजूतले नेपाल अधिराज्यको प्रतिनिधित्व गर्दै नेपाली समुदायको, शान, मान र साझा अभिभावकत्व दिन सक्नु पर्छ । नेपालसंग उपलब्ध साधन र श्रोतलाई देशको आर्थिक विकासमा आकर्षण गराउन सक्ने स्पष्ट सोच हुन आबश्यक छ । राजदूत नियुक्त राष्ट्रिय स्वार्थ हेरि गरिनु पर्छ । नियुक्तिका प्रकृया सबै देशकालागि समान हुन सक्दैनन् । तर, अष्ट्रेलियाको हकमा नियुक्त हुने राजदूत र पदस्थापन गरिने कुटनैतिक अधिकृतहरू छनौट गर्दा देहायका विषयमा ध्यानदिंदा नेपाल राष्ट्र र अष्ट्रेलियामा रहने नेपाली समुदायले अधिकतम लाभ लिन सक्छ ।
१. Intellectual / Moral Quality भएका ।
२.स्थानीय र अन्तराष्ट्रिय कानुन, घटनाक्रम र भाषामा जानकार ।
३.निष्पक्ष र तटस्थ रूपमा नेपाली समुदायको अभिभावकत्व दिन सक्ने,
४. नेपाली नागिरक एवं समुदायकालागि भिसा, राहदानी र कन्सुलर सेवा प्रवाहमा सहज र सरलता ल्याउने ।
५.नेपाली विद्यार्थीहरूको हक हित र अध्ययन अवधिलाई सहज वनाउन कार्ययोजना सहित नेपाल सरकार र अष्ट्रेलियन सरकारसंग समस्या सहजिकरणको भूमिका निर्बाह गर्न सक्ने ।
६.बहुपक्षीय आर्थिक कुटनीतिको मर्म अनुसार आफ्नो देशको निर्यात बढाउने, आयत घटाउने वैदेशिक लगानी वढाउने काममा अष्ट्रेलियन सरकार र अष्ट्रेलियन जनतासंग सम्वन्ध स्थापना गर्न सक्ने बहुआयमिक व्यक्तित्व ।
अतः व्यक्ति, समुह, राजनैतिक दल र परिवारको अवसर र लाभकालागि भन्दा समग्रमा नेपाल र नेपाली समुदायको हितमा काम गर्ने दृढ ईच्छा शक्ति भएको उत्साहित नयाँ पुस्तालाई नेपाली राजदूतावास क्यानवेराको नेतृत्व सुम्पनु पर्छ । परम्परागत हैन समयानुकुल प्रगतिशिल आर्थिक कुटनैतिक आधारमा नेपाल–अष्ट्रेलिया सम्वन्ध विकास र विस्तार गरिनु पर्छ ।
श्रोत DFAT webpage