अष्ट्रेलियामा चुनाबी रन्को हामी नेपाली कता ? लिबरल कि लेबर ?

-- महेन्द्र कुमार लम्साल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

आगामी मार्च २३ शनिबार हुँदै गरेको एनएसडब्लु राज्य सरकारको लागि हुने निर्वाचनको प्रचार प्रसार दिन प्रतिदिन  तीब्र गतिमा अगाडि बढेको छ । चार वर्ष अगाडि सम्पन्न निर्वाचनमा अहिलेको सत्तारूढ लिबरल – नेशनल गठबन्धनले कुल ९३ सदस्यीय तल्लो संदनमा ५४ सिट जितेर सुविधाजनक बहुमत प्राप्त गरेको थियो भने बिपक्षी लेबरले जम्मा ३१ मा जितेको थियो । लेबरको यो संख्या आठ वर्ष अगाडि २०११ को निर्वाचनमा प्राप्त २० सिटबाट बढाएको हो । अहिलेको चुनाबी माहोलमा लेबरको स्थिति क्रमशः बलियो हुँदै गएको देखिएता पनि गठबन्धनको संख्या घटाएर सरकार बनाउन भने त्यति सहज देखिदैन ।

प्रमुख दलहरूका बीच नीतिगत भिन्नता

बैचारिक आधारमा मुख्यतः दुई दलहरू नै हावी छन् अष्ट्रेलियाको राजनीतिमा । ती हुन् लेबर र लिबरल । र अरु साना दलहरू नेशनल, ग्रिन, वन नेशन, पाल्मर यूनाइटेड र अन्य फुटकर दलहरू को पनि केहि सहभागिता छ । विचारका हिसाबले साना नेशनल पार्टीको गठबन्धन लिबरल संग छ भने ग्रिन पार्टीका केहि नीतिहरू लेबर संग मिल्दछन् ।

स्थापित मान्यताका आधारमा लिबरल एक पुरातनबादी र पूँजीवादी विचारधारा बोकेको पार्टी हो । जनताहरू लाई प्रचलित नियमको पालन गर, जति सक्छौ तिमी काम गर, व्यवसाय गर, पैसा कमाउ देशको अर्थतन्त्रलाई मजबूत बनाउन सहयोग गर, सरकारले सुरक्षा र लगानीमैत्री बाताबरणको प्रत्याभूति गर्दछ जस्ता नीतिहरूमा लिबरल प्राथमिकता दिन्छ । अर्थतन्त्रमा राज्यको न्यूनतम हस्तछेप, खुला अर्थबजारमा बिश्वास गर्ने लिबेरल बिशेष गरि मध्यम तथा उच्च आय आर्जन गर्ने वर्गको यो दलले प्रतिनिधित्व गर्दछ । अर्थतन्त्र, सुरक्षा, अध्यागमन पूर्वाधार विकासमा प्राथमिकता लिबेरलको प्रमुख चुनाबी एजेन्डा हुने गर्दछन् जसलार्ई “सेन्टर राइट” वा दक्षिणपन्थी धार भन्ने गरिन्छ । ग्लोबल राजनीतिमा दक्षिणपन्थी धार नै संस्थापन जस्तो देखिन्छ जो संग राज्य संचालनको साँचोदेखि देशको प्रमुख गुप्तचर बिभागसम्म यिनीहरूको पहुँच रहन्छ ।

अर्कोतिर राजनीतिको प्रमुख घटक अष्ट्रेलियन लेबर पार्टी “लेबर” अष्ट्रेलिया को सबै भन्दा पुरानो पार्टी हो । अष्ट्रेलिया एउटा फेडेरेसन राज्यको रुपमा स्थापित भए लगत्तै सन् १९०१ मा संघीय पार्टीको रुपमा स्थापित छ । लेबर एउटा प्रजातान्त्रिक समाजवादी दल हो । यो प्रगतिशील र उदारवादी दल हो जसले लोक कल्याणकारी राज्यको पारिकल्पनामा विश्वास गर्दछ । लेबर आफ्नो स्थापनाकालदेखि नै आर्थिक रुपमा मध्यम र निम्न बर्गीय कामदार तथा समग्र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने गरेको छ । निर्वाचन तथा नीति निर्माणमा लेबरको केन्द्र बिन्दुमा बिशेष गरि कामदारहरूको हक हित, उचित ज्यालादर, निम्न बर्ग भएकाहरूको सामाजिक सुरक्षा जस्ता बिषयहरू पर्दछन । रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यावरण, बहुसांस्कृतिक समाज जस्ता बिषयहरू लेबरका चुनावी नीति तथा कार्यक्रमहरूमा पर्दछन ।

नेपालीहरूको अष्ट्रेलियन मूलधार राजनीतिक सहभागिता हेर्दा सिद्धान्त भन्दा पनि व्यक्तिगत सम्पर्क, र सम्बन्ध वा भनौ संगतले प्रमुख भूमिका खेलेको देखिन्छ  ।

निर्वाचनमा लेबरको आधार क्षेत्र पनि यही हो । लेबरलाई बामपन्थी घटक संग जोडेर हेरिन्छ तथापि यस भित्र पनि दुइ खेमा छन् । लेबरका दुइ फ्याक्सनमा एक समुह बिल्कुलै मजदूरको पक्षमा झुकाब र प्रभावमा रहन्छ भने अर्को समुह नीतिगत रुपमा लिबरलको लेफ्ट समुह संग मिल्दछ जसलार्ई लेबरको राइट फ्याक्सन भनिन्छ । दुवै फ्याक्सनको मजदूर संगठनहरूमा आफ्नै नाममा स्थापित जनबर्गीय संगठनहरू छन् । लेबर सत्ताको साँचो प्रायः राइट फ्याक्सनको प्रभावमा रहन्छ र सत्ता साझेदारी सहमतिमै गरिन्छ ।

नेपालीहरूको संलग्नता : को कता ?

अष्ट्रेलियाको नागरिकता लिई यतै घरजम गरि बस्ने नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । कोहि समर्थक त कोहि अभियन्ताका रूपमा पनि नेपालीहरूको राजनैतिक संग्लनता र सक्रियता पनि बढेको देखिन्छ । बिशेष गरि सहरी राज्यका क्षेत्रहरू र त्यसमा पनि आप्रवासीहरूको बसाइ बाहुल्य रहेको ठाउँमा यस्तो पाइन्छ ।

बास्तवमा नेपालीहरूको अष्ट्रेलियन मूलधार राजनीतिक सहभागिता हेर्दा सिद्धान्त भन्दा पनि व्यक्तिगत सम्पर्क, र सम्बन्ध वा भनौ संगतले प्रमुख भूमिका खेलेको देखिन्छ । प्रायः नेपालीहरू जुन नेता उसको संगतमा आयो र आफ्नो पार्टीको बारेमा उसलार्ई कन्भिन्स गर्यो त्यतैतिर लोयल भएको र लागेको देखिन्छ । कुन दलले कस्तो समुहको प्रतिनिधित्व गर्दछ र आफ्नो जीवन शैली कसको विचार संग मेल खान्छ भन्ने ख्याल राखी राजनीतिमा लागेको अक्सर पाइँदैन ।

हाम्रो दोश्रो पुस्ताले यहाँको राजनीतिमा खासै सहभागिता देखाउने समय आइसकेको छैन । पहिलो पुस्ताको राजनीतिक संलग्नतालाई हेर्दा माथि भनेजस्तै सिद्धान्त भन्दा पनि संगत प्रभावी छ । उदाहरणका लागि नेपालमा बामपन्थी बिचारधारा राख्ने, सर्वाहारा तथा मजदूरको शासन हुनु पर्छ भनेर सडक घन्काउँदै कम्युनिस्ट आन्दोलनमा लागेका थुप्रै नेपालीहरू अष्ट्रेलियामा लिबरलको अभियानमा जुटेको देखिन्छ । जबकी कम्युनिष्टहरू ले पूँजीपति र पूँजीबादीहरूलार्ई आफ्नो प्रमुख बर्ग शत्रु मान्दथे । यसको मतलब अष्ट्रेलिया आइसकेपछि उनीहरूको जीवनस्तरले आर्थिक छलांग मारेको हुनु पर्छ वा सोचमा परिवर्तन आएको हुनु पर्छ वा अन्योलमै संगतका कारणले कुनै राजनैतिक दलमा लागेको बुझ्नु पर्ने हुन्छ ।

जे होस् पहिलो पुस्ताका लागि अष्ट्रेलियाको राजनीति एउटा “टाइम पास” जस्तो एक खालको सामाजिक र राजनैतिक अभियान भन्दा फरक पर्दैन । किनकि यस्तो खाले राजनैतिक सहभागिताले हामीलाई खासै नीति निर्माणमा प्रभाव पार्न सक्ने ठाउँमा पुर्याउने देखिदैन । तर हामीले भुल्न नहुने कुरा के छ भने बहुसांस्कृतिक अष्ट्रेलियाको हाम्रो दोश्रो पुस्ताले राष्ट्रको राजनीतिक उच्च तहमा कुनै न कुनै किसिमको सहभागिता जनाउनै पर्छ । चाहे जुन सुकै दल होस् अष्ट्रेलियामा बस्ने हामी नेपालीहरूले एक अर्कामा प्रतिष्प्रर्धी होइन सहयोगी बनेर दोश्रो पुस्ताका नेपालीहरूलार्ई मोनिटरिङ्ग गर्दै जानुपर्छ । उपयुक्त कार्ययोजना तथा सफल कार्यान्वयनका लागि राजनैतिक चेनाना बोकेका पहिलो पुस्ताका नेपालीहरूले दोश्रो पुस्तालाई उचित र समयानुसार मार्गदर्शन गर्नै पर्दछ । समन्वय गर्दै अघि बढौं र आउँदो दशकसम्म कम्तिमा पनि अष्ट्रेलियाको संघीय तथा राज्य सदनका तल्लो र माथिल्लो सदनमा नेपालीहरू को प्रतिनिधत्व गराउँ जसले अष्ट्रेलियाको उच्च राजनैतिक निकायमा नेपालीहरूको आवाज बनोस् ।