अष्ट्रेलियन नेपाली वहुसांस्कृतिक केन्द्रको (ANMC) आवश्यकता र महत्व

-- लक्ष्मी पोखरेल -मेलवर्न / प्रकाशित मिति : बिहिबार, अशोज १८, २०८०

बिज्ञान, प्रविधि, संचार र यातायातको विकासले आज विश्वलाई साँघुरो गराई एउटै सिंङ्गो देश जस्तो बनाइदिएको छ । जसले गर्दा हामी नेपालीहरू पनि आफ्नो देशमा राजनीतिक अस्थिरतासंगै उब्जिएका अनगिन्ती समस्याहरूका कारण आफ्ना र सन्तानका उज्वल भविष्यको खोजीमा विश्वका प्रायजसो सबै देशहरूमा छरिएर रहन पुगेका छौं । तर विश्वका जुनसुकै कुना काप्चामा जसरी रहे तापनि “यो मन त मेरो नेपाली हो ” भन्ने नाराका साथ आफ्नो संस्कार, परम्परा, चालचलन र रितिरिवाज संगै बोकेर हिंडेका छौं । हामीले आफ्नो, धार्मिक, साँस्कृतिक परम्परा र चाडपर्वहरूलाई पछ्याउँदै विदेशी भूमिमा पनि आफ्नो मौलिकताको परिचय दिन पछि परेका छैनौं । त्यसैले भन्ने गर्छौं “तनले देश छाडेको दशकौं भए तापनि मनले छाड्न सकेको छैन ” ।

नेपालको परिवेशलाई बिचार गर्दा गत १५-२0 वर्षमा विदेशिनेको संख्या दिन दुगुणा रात चौगुणा भएको छ । यसै समयावधिभित्र मेलवर्नमा पनि नेपाली समुदायको  बाहुल्यताले ठूलो फड्को मारेको पाइन्छ । जसले गर्दा समुदायमा हुने सामुदायिक र पारिवारिक कार्यक्रमहरू पनि वर्षेनी बढ्दो छन् । तर दुर्भाग्यवस हाम्रो आफ्नो समुदायको एक पहिचान र अस्तित्व बोकेको एक साझा घर/मन्दिर नहुँदा  यस्ता कार्यक्रमहरू कहिले पूर्वको हंगेरियन कम्यूनिटी हल त कहिले पश्चिमको साइप्रस कम्यूनिटी हल अनि कहिले पूर्व Carrumdown को शिव मन्दिर त कहिले पश्चिमको Rockbank मा रहेको दुर्गा मन्दिरमा धाउन बाध्य भयौं । भनिन्छ नि अरूको कमाइको गहना र कपडामा सजिंदा बाहिरबाट हेर्दा जति सुन्दरतमा सजिए पनि भित्री रूपमा आत्म संन्तुष्टि मिल्दैन । त्यस्तै अरू समुदायको अस्तित्वमा आफ्नो पहिचान झल्काउनु पर्ने बाध्यता हुँदा हामी र हाम्रा अग्रजहरूले आफ्नो पहिचानको नेपाली भवन र मन्दिरको गुलियो सपन देख्न वाध्य भयौं । दशकौं पछि आज यो सपना हामी मेलवर्नवासीका लागि पूरा भैसकेको छ । हामी सबैको साझा घर/मन्दिर र हाम्रो पहिचान दिलाउने पशुपतिनाथ र बुद्धको मूर्ती खडा गर्ने सपना अनि हाम्रा पुस्ताको लागि मात्रै नभएर भावि पुस्ताको लागि पनि मौलिकता, आस्था र अस्तित्व देखाउने, जगाउने, जगेर्ना गर्ने बाटो देखाउदै हामीले एक इतिहास कोरेका छौं । भोलिको त्यो इतिहासको आज हामी साक्षी मात्र नभएर मुख्य पात्र समेत बनेका छौं । यो सपनालाई साकार पार्न आजसम्मको यात्रामा आइपुग्दा धेरै फराकिला र उदार मनहरू अनि विदेशी भूमिको जिन्दगीको भागदौडमा पनि आफ्नो अमूल्य समय निकालेर जसले स्वयम्सेवीको रूपमा श्रमदान दिइरहनु भएको छ , वहाँहरूको योगदान अतुलनीय छ भने त्यसको व्याख्या गरेर साध्य हुदैन, कोटिकोटि नमन छ । यसरी आफ्नै समुदायको पहलमा केही वर्ष अगाडि जग्गा खरिद प्रक्रिया पूरा भए तापनि देवताका मूर्तीहरूमा प्राणप्रतिष्ठा गरी यसलाई हाम्रो आफ्नै मन्दिरको रूपमा गत महिनादेखि मात्रै प्रयोगमा ल्याउन थालिएको छ ।

मेरो आफ्नो परिवेस र अनुभवमा कुरा गर्नुपर्दा बिगत बाइसौं बर्षदेखि मेलवर्नमा सम्पूर्ण परिवारको साथ वसोवास गर्दै आएको छु । जन्मभूमिलाई चटक्कै छाडेर कर्मभूमिमा संधैं व्यस्त र बेचैनीमा रहे तापनि नशा नशामा देशको र संस्कृतिको मायाँ बहिरहेको पाउँछु । यसरी लामो समयको विदेश वसाइ र २३ औं तीज मनाइरहँदा यसपालिको तीज मेरा लागि अविष्मरणीय नै भयो । सन् २००० को अगस्तमा तीजको ठिक १० दिन अगाडि मात्रै पर्देशिएकी म एक चेली तीजकै दिन ब्रत बसि भगवानको दर्शन गर्न Carrumdown को शिव मन्दिर पुग्दा केवल एक नेपाली जोडीलाई भेटेकी थिएँ । अनि अन्जानै भएपनि अंगालो हाल्दै Happy Teej भन्दा देश र परिवारको यादले मेरो आँखाबाट आँशुको वर्षादि भएको थियो । तर आज ठिक २३ औं वर्ष पछाडि यही तीजको दिनमा आफ्नै मन्दिरको प्रङ्गणमा हज्जारौं आफु जस्तै विदेशिएका चेलीहरू देख्दैमा आज फेरी नेपालमा नै छु कि भन्ने भान पर्न गयो र मनै फुरूङ्ग भयो । दिदी बहिनी समाज भिक्टोरीया ( DVSV ), ANMC र वौद्धिक सनातन समाजको संयुक्त आयोजनामा हामी मेलवर्नवासी चेलीहरूले पहिलो पटक आफ्नै मन्दिर, आफ्नै नेपाली पारामा तीजको ब्रत बस्यौं, लामो लाइनमा बसेर आफ्नै पुरोहित संग पूजा गर्न पाउँदा असाध्यै खुशी र आत्म सन्तुष्टि मिलेको थियो । अनि आफ्नै मौलिक तीजको गीत, त्यहाँ संचालन गरिएका कार्यक्रममा घण्टौंसम्म संलग्न भएर नाच्न पाउँदा खुशीका सिमाना रहेन । अनि विवाहको दुलही जस्तै श्रृङ्गार र पोशाकमा रंङ्गिएका चेलीहरू कोही पूजा गर्दै त कोही भलाकुसारी गर्दै, कोही छमछमी नाच्ने त कोही हजारौंको भिडमा सेल्फी, भिडियो खिच्ने र टिकटक बनाउनेहरूको भिड देख्दा आज देश र परिवार नै त्यहीं मिलेको आभाष भयो । अनि हर्षले मेरो आँखामा आज फेरी आँशुका वर्षात् भए । कालो चश्मा भित्रै आफ्नो आँशुलाई हत्तपत्त दबाउँदै मन्दिर वरिपरि परिक्रमा गर्दै गर्दा २५ डिग्रीको घाममा निर्जल ब्रतमा पनि मज्जाले नाचेका चेलीहरू मात्र नभएर बुबा दाजुभाईहरूको पनि बाक्लै उपस्थिति देखियो । त्यो अनपेक्षित रूपमा उर्लिएको जनसागर देख्दा ANMC को महत्व र आवश्यकता कति रहेछ त हाम्रो समुदायको लागि भन्ने कुराको यथार्थता महसुस भयो । यस परिस्थितिको माहौल श्रृजना गरिदिने स्वयम्सेवकहरूलाई फेरी पनि धेरै धेरै धन्यवाद छ । ANMC प्रतिको अपार मायाँ, आस्था देखाएर टाढाटाढादेखि आउनु भएका सम्पूर्ण मेलवर्नवासीलाई पनि धन्यवाद दिन मन लाग्यो ।

हो अब ANMC लाई तीजको एकदिन मात्रै दशौं हजार चेलीको नाच्ने थलो नभएर हरेक चाडपर्वमा सबैको मन रम्न सक्ने स्थान बन्नुपर्छ । अनि हामी को बाहुन, को क्षेत्री, को राई, को लिम्बू, को नेवार सबैलाई एउटै प्राङ्गणमा म्ह पूजादेखि छठ पूजासम्म, बुद्ध जयन्तीदेखि फागु पूर्णिमासम्म, नववर्ष मनाउनेदेखि सरस्वती पूजासम्म गर्ने र समुदायका सबै जनजातीको धर्म, कर्म मनाउने थलो बन्नसक्नु पर्छ  । अनि विवाह, ब्रतवन्ध जस्ता जीवनसंग सम्बन्धित अरू थुप्रै कर्मकाण्ड, पारिवारिक र सामाजिक कार्य गर्नसक्ने साझा कुण्ड बन्न सक्नुपर्छ । अनिमात्रै हामी मेलवर्नवासिका लागि यो एक पवित्र मन्दिर जुन भगवान पशुपतिनाथको श्रद्धाको थलो, बुद्धको शान्ति ध्वनी गुन्जीन सक्ने लुम्बिनी र स्वयम्भू, मनकामना माता र पाथीभरा माताको पवित्र थलो, अनि यही परिसरमा रहेको पोखरीलाई शाली नदीका नामले पुकार्न सक्ने छौं । अनि यसै परिसरमा हिजो हामीले प्रयोग गरेका अरूका पहिचानको Hungarian/Cyprus Community Hall जस्तै नेपाली Community Hall बनाउनु छ र मेलवर्नमा हाम्रो समुदायको छुट्टै पहिचान दिलाउन सक्नु पर्नेछ ।

यिनै उद्देश्यहरू राखेर अष्ट्रेलियामा नै पहिलोपल्ट आफ्नो साझा मन्दिरमा चाडपर्व  (तीज) संयुक्त रूपमा मनाएर हामीले ऐतिहासिक उपलब्धी हासिल गरेका छौं भने यसलाई निरन्तरता दिने क्रममा यसपालिको दशैंलाई पनि विशेष कार्यक्रम गर्दै हर्ष र उल्लासका साथ मनाउने योजना रहेको छ । दशैंको नवरात्री भरी October १५–२४ सम्म पण्डित दिनवन्धु पोखरेलको नेतृत्वमा नवाहा ज्ञान महायज्ञको आयोजना गर्न लागेको छ । यसको मुख्य उद्देश्य देशभरी दशैंको रौनकताले छपक्कै छोपेको वेला चाडपर्वमा घरपरिवारको याद धेरै आउने बाध्यताको बिच, विदेशमै दशैं मनाउनु परेको पीडालाई केही हदसम्म कम गर्ने उद्देश्यले आफ्नै मन्दिरको परिसरमा जम्मा भई भजन किर्तन र टिका, जमारा बितरण गर्ने कार्यक्रम राखिएको छ । अर्कोतर्फ हामी मेलवर्नवासिले देखेको सपनालाई हामी र हाम्रा अग्रजहरूले ठिक समयमा बीउ लगाएर उमारेका छौं ।  अब यी सपनाबाट टुसा, टुसाबाट प्रस्फुटित भएको बिरूवालाई मलजल गरेर बयस्क बृक्ष बनाई यसबाट थुप्रै फल टिप्न त धेरै नै बाँकि छ । अब हामीले यसको रक्षा र सुरक्षामा ध्यान पु¥याएर अझै धेरै फल लाग्ने स्थितिमा पु¥याउन अझै केही गर्नुपर्ने बाँकि नै छ । बाटो अझै लामो छ तर सफलताका मालाहरू उनीन थालिसकेका छन् । यसको लागि ANMC लाई अझै धेरै उदार आर्थिक रूपमा फराकिला र सहयोगि मनहरू अनि फुर्तीला र जोसिला स्वयम्सेवक मनहरूको श्रमदानको आवश्यकता छ । “एक थोपा सुकी, सये थोपा नदी”भनेझै सबैले हातमा हात गर्दै यसलाई हामीले अष्ट्रेलियाकै नेपाली समुदायमा एक उदाहरणीय बन्नु र बनाउनु आवश्यक देखिन्छ ।

रकम ठूलो कुरा होइन र यो कहिल्यै पनि धेरै र थोरै हुदैन । इच्छा हुनु र जिम्मेवारी वोध गर्नु नै ठूलो कुरा हो । जब जिम्मेवारी इच्छा बन्न थाल्छ त पछि गएर त्यो नै प्रसन्नता बन्न जान्छ अनि समाजसेवीका लागि फुर्सत होइन दृष्टिकोण चाहिन्छ, अनि स्रोत होइन संस्कार र संकल्प चाहिन्छ । अनि धन र धर्मको अन्तरसम्बन्ध बुझ्दा के पनि देखिदो रहेछ भने धनले ओछ्यान दिदो रहेछ,  अनि धर्मले निन्द्रा, धनले भोजन दिदो रहेछ भने धर्मले भोक दिदो रहेछ, त्यस्तै धनले महल दिदो रहेछ भने धर्मले सुरक्षा दिदो रहेछ । त्यसैले ANMC ले विभिन्न माध्यमबाट गरिरहेको आर्थिक संकलनमा पनि आफ्नो क्षमता अनुसार सहयोगि हातहरू अघि बढाऔं । हातेमालो गरी आफ्नो कर्तब्य र दायित्व पूरा गरौं । यसलाई साकार पार्न मैले पनि स्थापना कालदेखि नै आवद्ध भएर सहयोग गरिरहेकै छु, जसले गर्दा मलाई संस्थाप्रति अपनत्व र गर्व महसुस हुनको साथै आत्म संतुष्टि पनि मिलिरहेकै छ । आउनुहोस् सम्पूर्ण मेलवर्नवासि नेपालीहरू चुरोटको धुवाँ र Whisky को चुस्की खाएर, Disco नाच्न, दर्जनौं पार्टिहल र रेष्टुरेण्ट मात्रै नभएर अब पञ्चामृत खाएर भजनमा नाच्ने, हामीहरूको साझा घर/मन्दिर पनि खुलिसक्यो । हो हाम्रो आफ्नै मन्दिर जुन अवस्थमा भएपनि जती टाढा भएपनि भेला हौं, रमाइलो गरौं, चाडवाड मनाऔं । भनिन्छ “अरूको भरमा माछा मासु खानु भन्दा आफ्नै कमाइमा दाल भात खान वेश” !!धन्यवाद