पुनर्निर्माण चरणमा प्रवेश गर्दै मुलुक

-- ?>

EQ_Dharahara

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी परामर्श बैठकले वैशाख १२ गते मुलुकलाई भूकम्पपछिको पुनर्निर्माणको चरणमा प्रवेश गरेको सन्देश प्रवाह गर्नेगरि कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले टहरामा बसेका पीडितलाई यथाशीघ्र छानामुनि ल्याउन तथा विकास निर्माणमा भएको शिथिलतालाई क्रियाशीलतामा रुपान्तरण गर्नका लागि मन्त्रालयगत रुपमा भएका कार्यक्रमको समिक्षा पनि गरेको थियो ।
बैठकले गृहमन्त्रालयको आयोजनामा वैशाख १२ गते (अप्रिल २४) बिहान धरहरामा जम्मा भएर भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धान्जली तथा बेलुका उनीहरुको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत सिफारिस गरेको छ ।
बैठकले धेरैभन्दा धेरै जिल्लामा समन्वय समितिलाई क्रियाशील बनाएर वैशाख १२ गते भूकम्पसंग जोडिएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कार्यक्रम अन्तर्गत भूकम्पप्रभावित १४ जिल्लाका ३ सय ८६ गाविसमा को—कसले अनुदान प्राप्त गर्न सक्ने हो त्यसको सूचि प्रकाशित गर्ने र अनुदान सम्झौता गर्ने पनि निर्णय गरेको छ ।
भूकम्पबाट विपत्तिमा परेका ६ लाख भन्दा बढी परिवारका आवास बनाउनका लागि उपलब्ध गराउने रकम जिल्ला संयन्त्रलाई प्रभावकारी तुल्याएर अघि बढाउने तथा स्वीकृत कार्यक्रमको थालनी गरी निरन्तरता दिँदै छिटो सम्पन्न गर्न चाल्नुपर्ने कदमका बारेमा पनि बैठकमा विस्तृतरुपमा छलफल भएको थियो ।
राससले जनाए अनुसार उक्त बैठकपछि प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पुनर्निर्माणको काम भूकम्पप्रतिरोधी, दिगो, दरिलो, भरपर्दाे बनाउन र भावी पुस्तालाई अहिलेको पुस्ताले व्यहोर्नु परेको नोक्सानी खेप्न नपरोस् भन्ने ढङ्गबाट छलफल भएको जानकारी दिनु भएको थियो ।