पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

काठमाडौं– न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए । उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ ।

लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । ‘लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने( ‘अहिलेलाई यति नै भनौं ।’ उनले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको बताए पनि विस्तृत खुलाएनन् ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन् । यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए । पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछानेले घटनाको छानबिनमा सघाउने बताउँदै आएका छन् ।