४२ हजार युवाले रोजगारी पाउने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

जनकपुर- प्रदेश २ सरकारले अगामी तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने दाबी गरेको छ । प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले आयोजना गरेको एक कार्यक्रममा यस्तो दाबी गरेको हो । प्रदेश २ सरकारले जसका लागि एउटा सम्झौता पनि गरेको जनाएको छ ।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजनाअनुरूप पहिलो चरणमा विभिन्न ६ वटा संस्थाले बेरोजगार युवालाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने र स्वरोजगार बनाउने प्रतिबद्धतासहित सम्झौता गरेका हुन् ।

प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सीप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिले छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिने मुख्यमन्त्री लालबाबु राउतले बताए । उनले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अघि बढेको उल्लेख गर्दै यस कार्यमा सघाउने डिफिडलगायत साझेदार संस्थालाई धन्यवादसमेत दिए ।

यस सम्झौताअनुसार प्रभु बैंकले अगामी तीन वर्षभित्र वैदेशिक रोजगारमा जाने ७ हजार ५ सय युवालाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये ४ हजारलाई सीपअनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

त्यसैगरी, नेपाल एसबीआई बैंकले अगामी तीन वर्षभित्र वैदेशिक रोजगारमा जाने ७ हजार ७५० युवालाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये ४ हजारलाई सीपअनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरूलाई सीप कार्यक्रमअन्तर्गत तालिम दिइनेछ । यता मेरो जब्सले रोजगारी कार्यक्रमअन्तर्गत रोजगार पसलमार्फत अगामी तीन वर्षमा ७ हजार युवालाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ ।

त्यसैगरी, एमाजोनको सहकार्यमा जेनिसले ४ हजार युवालाई सीपसहित रोजगारी दिने तथा फ्युज मेसिनले आईसीटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता गरेका हुन् । यता मोरङ अटो वक्र्स प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा हेभी गाडीको ड्राइभिङ तथा मेकानिकल ट्रेनिङ सेन्टरको स्थापना गरी तीन वर्षभित्र ४ हजार युवालाई रोजगारी दिने सम्झौता गरेका छन् । रोजगारदाता संस्थालाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदातालाई आवश्यक ऐन कानुनलगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।

प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश राय, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, डिफिडका नेपाल प्रमुख लिसा हेनानसहितले मन्तव्य व्यक्त गरेको राजधानी दैनिकले जनाएको छ ।