पशुपतिनाथ मन्दिरमा बढीमा दुई घण्टामा दर्शन गर्न पाइने (लाइन कहाँ, कहाँ सूचीसहित)

काठमाडौं- यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले आइतवार गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा लाइन व्यवस्था गरिएको जनाएको छ । पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।
यसैगरी तेस्रो लाइन एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । वैकल्पिकरूपमा विसं २०६५ देखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि उपयोग गर्न लागिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए ।
कोषले लामो समयदेखि पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो ।
तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउनको सोमबार जस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिनेछ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिनेछ ।
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् । शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ । साना बालबालिकालाई मन्दिरमा नल्याउन पनि अनुरोध गरिएको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ । ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो ।
तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ । हरितालिका (तीज) पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



