नयाँ मन्त्रीहरुले लिए शपथ, आजै पदभार ग्रहण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ५, २०७६

काठमाडौं-  मन्त्रिपरिषदमा नियुक्त नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा नयाँ ६ मन्त्रीले शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हृदयेश त्रिपाठी, घनश्याम भूसाल, रामेश्वर राय यादव, लेखराज भट्ट, बसन्त नेम्वाङ र पार्वत गुरुङले शपथ लिएका हुन् । शपथ लिएका मन्त्रीहरुले आजै पदभार ग्रहण गर्नेछन् ।

त्रिपाठीलाई सामान्य प्रशासन, भूसाल कृषि, यादव श्रम, भट्ट उद्योग, नेम्वाङ भौतिक पूर्वाधार र गुरुङ महिला मन्त्री नियुक्त भएका छन् ।

तीन जना राज्य मन्त्रीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका छन् । उद्योग राज्य मन्त्री मोतीलाल दुगड, स्वास्थ्य राज्य मन्त्री नवराज राउत र शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् ।

मंगलबार आठ मन्त्री बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरिएको हो । मन्त्रीहरु लालबाबु पण्डित, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, मातृका यादव, रघुबीर महासेठ र थममाया थापालाई बर्खास्त गरिएको छ भने राज्यमन्त्री धनबहादुर बुढा र रामकुमारी चौधरी समेत हटाइएका छन् ।

यस्तै पदमुक्त गरिएकाहरुमा कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिराज्यमन्त्री रामकुमारी चौधरी छन् ।