प्रधानमन्त्री सामान्य हिँडडुल गर्न सक्ने, स्लाइन झिकियो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले बताएका छन् ।

‘सबै ठीक छ, इम्प्रुभ भइरहेको छ खाना खान शुरू गर्नुभएको छ, बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग डाक्टर सायमीले भने-‘हिँड्न शुरू गर्नुभएको छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ ।’

डाक्टर सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेपनि आईसीयूमै राखेर आगन्तुकलाई भेट्न नदिइएको बताए । प्रधानमन्त्री ओलीको उपचारको भावी रणनीति तय गर्न बिहीवार नै चिकित्सक र विशेषज्ञहरूको छलफल पनि भएको थियो । नियमित डायलासिसको प्रक्रियामा रहेका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापश्चात दुईपटक डायलासिस गरिसकिएको छ ।