नेपाल भ्रमण वर्ष २०२० को तयारी

मन्त्री भट्टराईद्वारा ३१ देशका राजदूतलाई निम्ता
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं– नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी तीव्र बनाएको छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्रयाउने मुख्य उद्देश्यसहित मन्त्रालय तयारीको काममा जुटेको हो । भ्रमण वर्षको मिति नजिकिँदै जाँदा प्रचार–प्रसारको कामलाई पनि तीव्रता दिएको छ । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य सरकारले लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग आग्रह गर्नुभएको छ ।

‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नेछौं’, मन्त्री भट्टराईले भन्नुभयो– ‘यही बाटोबाट हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली : समृद्ध नेपाल’को सपना पूरा गर्नेछौं ।’

मन्त्री भट्टराईले राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर सरकार–सरकारबीचको सम्बन्धलाई जोड्न पर्यटन कूटनीति पनि महत्तवपूर्ण रहेको बताउनुभयो।भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको महत्तवपूर्ण भूमिका हुने बताउँदै उहाँले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गर्नुभयो ।

‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु। मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष–२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको स्मरण गराउनुहुँदै पर्यटन मन्त्रीहरूलाई उपस्थित गराइदिनका लागि पहलकदमी गरिदिनुहुन अनुरोध गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो– ‘नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एकपटक आभार प्रकट गर्दछौं ।’

अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरूको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिँदै बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेकाले अझै साथ र सहयोगका लागि आह्वान गर्नुभयो ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताउनुभयो ।

‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नेछौं’, उहाँले भन्नुभयो– ‘यही बाटोबाट हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली : समृद्ध नेपाल’को सपना पूरा गर्नेछौं।’

मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्नुहुँदै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्रयाउने लक्ष्य राखिएको जानकारी दिनुभयो।

मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम तीव्र गतिमा भइरहेको बताउनुभयो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने बताउँदै भन्नुभयो– ‘तपाईंहरूमार्फत म यो जानकारी तपाईंहरूको देशका वायु सेवा कम्पनीलाई गराउन चहान्छु।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेका प्रतिबद्धता जनाउनुभयो।

उहाँले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीहरूले चाँडै विश्वभरिका आकाशमा निर्बाध उडान भर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगामी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाइने गरी काम अगाडि बढाइएको बताउनुभयो।

सहयोगका लागि तयार रहेको राजदूतहरूको प्रतिबद्धता

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरूमा चीन दोस्रो रहेको भन्नुहुँदै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो– ‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रवद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ।’ उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनीहरूले निर्माण गरीरहेको भन्दै चिनियाँ कम्पनीहरूले गुणस्तरीय कामसहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी बताउनुभयो।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डि डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए ती सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।त्यस्तै, अस्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलान्ड शेफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।