पाकिस्तानका पूर्वसैनिक शासक मुसर्रफलाई मृत्युदण्ड

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २, २०७६
इस्लामावाद- पाकिस्तानका पूर्वसैनिक शासक जनरल परवेज मुसर्रफलाई मंगलबार इस्लामावादको विशेष अदालतले मृत्युदण्ड सुनाएको छ। तीन जना न्यायाधीशको इजलासले उनलाई राष्ट्रद्रोहीको अभियोगमा यो सजाय सुनाएको हो। इजलासका प्रमुख न्यायाधीश वकार अहमद सेठले फोन गरेर मुसर्रफका प्रवक्ता मोमद अमजदलाई अदालतको निर्णयको जानकारी दिएका थिए।
सन् २०१३ देखि यो मुद्दा मुल्तवीमा रहेको थियो। सन् १९९९ मा रक्तपातरहित सैनिक विद्रोहबाट सत्ता कब्जा गरेका मुसर्रफले सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको हैसियतमा सेवा गरेका थिए। सन् २०१६ मा स्वास्थ्य उपचारका लागि विदेश जाने अनुमति पाएपछि पाकिस्तान छाडेका उनी अहिले दुबईमा रहेका छन्।उनीविरुद्ध लगाइएको अभियोग सन् २००७ मा उनले संविधान निलम्वन गरेको घटनासँग सम्बन्धित छ।उनले त्यति बेला आफ्नो शासनकाल लम्ब्याउने उद्देश्यले संकटकाल लागू गर्न त्यो कदम चालेका थिए। यसै महिनाको शुरूमा ७६ वर्षीय मुसर्रफले अस्पतालको शøयाबाट भिडियोमार्फत बयान दिने क्रममा आफूमाथि लगाइएको मुद्दा निराधार भएको दाबी गरेका थिए।

संविधानमाथि हस्तक्षेप गरेकै कारण मुद्दा सामना गर्ने उनी पाकिस्तानको पहिलो शासक हुन्। दुई तिहाइको बहुमतले मंगलबार उनीविरुद्ध अदालती निर्णय दिएको हो। सन् २००७ को नोभेम्बरमा उनले संविधान निलम्वन गरी संकटकाल लागू गरेपछि व्यापक विरोध प्रदर्शन शुरू भएको थियो।महाअभियोगबाट बच्नका लागि उनले २००८ मा पदबाट राजीनामा दिएका थिए। मुसर्रफले १९९९ मा सैनिक विद्रोहमार्फत अपदस्थ गरिएका प्रधानमन्त्री नवाज सरिफ सन् २०१३ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई पुरानो शत्रुताको बदला लिने काम शुरू भयो। सरिफकै सक्रियतामा सन् २०१४ को मार्चमा उनीविरुद्ध राष्ट्रघाती अभियोग दायर भएको थियो।

मुसर्रफले आफूविरुद्धको मुद्दा राजनीतिक पूर्वाग्रहबाट पीडित भएको र २००७ को आफ्नो कदम सरकार र मन्त्रिमण्डल दुवैले समर्थन गरेको अडान राख्दै आएका थिए। तर, अदालतले उनको कदमलाई अवैधानिक रहेको आरोप लागाउँदै आएको थियो। पाकिस्तानको संविधानअनुसार राष्ट्रघातीको अभियोगमा दोषी करार दिइएका जोसुकैलाई मृत्युदण्ड नै दिइने प्रावधान रहेको छ।
दुबई गएयता उनले अदालतमा उपस्थित हुनलाई दिइएका थुप्रै आदेशको अवज्ञा गर्दै आएका हुन्। सन् १९९८ मा मुसर्रफले पाकस्तानी सेनाको नेतृत्व सम्हालेका थिए। सन् १९९९ को मेमा भारतसँग भएको कार्गिल युद्धलाई लिएर उनको तत्कालीन प्रधानमन्त्री नवाज सरिफसँग ठूलो विवाद भएको थियो।सन् २००८ सम्म राष्ट्रपतिको हैसियतले सत्ता सम्हालेका उनी थुप्रैपटक हत्या प्रयास र षड्यन्त्रबाट बच्न सफल भएका थिए। राष्ट्रभित्रैबाट व्यापक विरोध गरिए तापनि सन् २००१ को ११ सेप्टेम्बरमा अलकायदाले अमेरिकाका विभिन्न स्थानमा हजारौंको संख्यामा ज्यान जाने गरी गरेको आत्मघाती आक्रमणपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको निर्देशनमा शुरू भएको आतंकवादविरुद्धको अभियानलाई विशेष सहयोग गरी अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए।

लामो समयको निर्वानपछि सन् २०१३ मा आम चुनावमा भाग लिन उनी स्वदेश फर्केका थिए।तर पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यालगायत अनेकौं मुद्दा लगाएर उनलाई चुनाव लड्नबाट वञ्चित गरिएको थियो। थुपै्र सैनिक विद्रोह भोगेको पाकिस्तानको राजनीतिमा सत्तामा पुग्ने प्रयासः राजनेताको अन्तिम अवस्था दुःखदायी रहेको इतिहास छ।
सन् १९७७ मा पूर्वजनरल जियाउल हकले तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुटोलाई अपदस्थ गरेका थिए। नवाव मोहमद अहमद खान नामक एक व्यक्तिको हत्याको अभियोगमा भुट्टोलाई रावलपिन्डीको जेलमा १९७९ को ४ अप्रिलमा फाँसी दिइएको थियो।
त्यसै गरी सन् १९७७ मा सैनिक कानुन लागू गर्दै सन् १९४७ मा भारतबाट टुक्रिएर जन्मेको पाकिस्तानको छैटौं राष्ट्रपति बनेका चारतारे जनरल मुहम्मद जिया उल हकको सन् १९८८ मा रहस्यमय विमान दुर्घटनामा मृत्यु भएको थियो। पाकिस्तानकै सबैभन्दा लामो राष्ट्राध्यक्ष बन्न सफल उनी सन् १९७८ देखि १८८८ सम्म सत्तामा रहेका थिए।
यसैबीच सन् २००७ को २७ डिसेम्बरमा २००८ को जनवरीमा हुन लागेको आम निर्वाचनको प्रचारप्रसारमा भाग लिने क्रममा दुईपटक प्रधानमन्त्री बनिसकेकी बेनेजिर भुट्टोको रावलपिन्डी लियाकत नेसनल वागमा हत्या भएको थियो। पाकिस्तानको अलकायदा र तेहरिक इ तालिवानले त्यसको जिम्मेवारी लिएका थिए। पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिरमाथि गोली प्रहार गरिएलगत्तै बम आक्रमण पनि भएको थियो।
उनको मुत्ताहिदा काउमी मुभमेन्ट (एमक्यूएम) का संस्थापक अल्ताफ हुस्सेनले सरिफलाई चर्चित प्यालेस्टाइनी नेता यासेर अरफतलाई दिइएको जस्तो मन्द रासायनिक विष पोलोनियम दिइएको दाबी गरेका छन्। अराफातको सन् २००४ मा निधन भएको थियो। हाल पाकिस्तानको प्रधानमन्त्री अन्तर्राष्ट्रिय स्तरका पूर्वक्रिकेटर इमरान खान रहेका छन्।